जंगली हात्तीले महिलाको ज्यान लियो, कोशी टप्पु आसपास आतंक

जंगली हात्तीले महिलाको ज्यान लियो, कोशी टप्पु आसपास आतंक

कोशी टप्पु क्षेत्रमा जङ्गली हात्तीले आक्रमण गरी एक महिलाको ज्यान लिएपछि स्थानीय वासिन्दा त्रसित बन्न पुगेका छन् । हात्तीको आक्रमणमा परेर सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलकी ६५ बर्षीया ममनी देवी खत्वेको मृत्यु भएको छ । हिजो दिउँसो सोही गाउँका रामनाथ पाठकको माछा पोखरीमा घाँस काट्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको थियो । वन्यजन्तु आरक्षभित्र आश्रय लिएर बसेको सो हात्तीले अचानक निस्केर आक्रमण गरेको हो । प्रत्यक्षदर्शीका अनुसार उनलाई हात्तीले उठाउँदै, पछार्दै गर्नुका साथै खुट्टाले शरीरका विभिन्न भागमा बारम्बार कुल्चेको थियो । अन्य गाउँलेले देखेर होहल्ला गरेपछि हात्ती आरक्षको जङ्गलतर्फ भागेको थियो । आक्रमणमा घाइते खत्वेलाई उपचारको लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । मान्छे मार्न पल्केको हात्तीले मान्छेमाथि नै आक्रमण गर्ने भएकोले गाउँलेहरु त्रसित भएका हुन् ।

उदयपुरको रामपुर र सुनसरीका कोशी टप्पु क्षेत्रमा जङ्गली हात्तीको समूहले एक साता यता घरहरु भत्काउनुका साथै अन्नबाली नष्ट गर्दै आएको छ । उदयपुर बेलका नगरपालिकाका विभिन्न वडाहरुमा आधा दर्जनभन्दा बढी घर भत्काएको छ भने भकारीको धान पनि खाएको छ । हात्तीको बिच्काइँ रोक्न स्थानीयहरु असफल भएका छन् । उनीहरुले हात्तीको आक्रमणबाट जोगिन बिजुलीको तार घर वरिपरि राखेका छन् । तर पनि हात्तीले क्षति गर्न नछोडेको बेलका १ तपेश्वरीका जय चौधरीले बताउनु भयो । गाउँलेहरुले बिजुलीको तारले सुरक्षित राखेको घर छोडेर अन्य घरमा आक्रमण गर्ने र बाटैबाटो हिंडेर जङ्गली हात्तीले चतुर्याइ देखाएको बताएका छन् । हात्ती भगाउनको लागि ट्रयाक्टर प्रभावकारी भए पनि राती सुतेको बेला गाउँ पस्ने भएकोले सोचेभन्दा बढी क्षति पुग्ने गरेको बताइन्छ ।

जङ्गली हात्तीको समूहले प्रत्येक वर्ष उदयपुर र सुनसरीमा एक दुई जनाको ज्यान लिने गरेको छ भने घर भत्काउनुका साथै बालीनाली खाएर क्षति पुर्याउँदै आएको छ ।

टिप्पणीहरू