​महामीतलाई हलगोरू सित्तै, कम्युनिस्टहरू रित्तै « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

​महामीतलाई हलगोरू सित्तै, कम्युनिस्टहरू रित्तै

प्रकाशित मिति :  २४ भाद्र २०७४, शनिबार ११:५८


  • रामकुमार एलन

‘तपाईंले लगाएको जुत्ता कुन कम्पनीको रे ?’

माओवादी नेता राम कार्की ‘पार्थ क्षत्री’ ले एमाले उपमहासचिव घनश्याम भुसालले लगाएको जुत्ता हेर्दै सोधे, ‘यस्तो जुत्ता किन्न कहाँ पाइन्छ ?’ 

केहीबेरपछि घनश्यामले जवाफ दिए, ‘हाम्रो पार्टीमा त दुई लाख ६० हजार भन्दा बढी त संगठित सदस्य छन्, तपाईंको पार्टीमा झन् कम हुने कुरै भएन ।’

कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिका संयोजक भुसाल र सहसंयोजक कार्की । १७ भदौ कालो बादलभित्र हराइरहेको थियो । झमझम झरी दर्किइरहँदा रात परेको संकेत घडीले गरिरहेको थियो । तर, धुलिखेल लज रिसोर्टमा चार कम्युनिस्ट पार्टीका नेता पाँचदिने बसाइँ समापनमा हतारिएका थिए । त्यहाँ चार पार्टीका नेता मात्र थिएनन्, सुन्नेहरू पनि देशभरका चार कम्युनिस्ट पार्टीकै कार्यकर्ता थिए । अनि, भिडियो क्यामेरा तेस्र्याएर पत्रकार के आउला गुदी कुरो भनेर कुरिरहेका थिए । फेसबुक र अन्य सामाजिक सञ्जालले लाइभ गरिरहेका थिए । र, थियो यो कार्ल माक्र्स स्कुल । पाँच दिनदेखि देशभरका कम्युनिस्ट कार्यकर्ता विभिन्न होटलमा बन्द शिविर गर्दै समूहमा रहेर छलफल गर्दै थिए, ‘कसरी बनाउने वैचारिक पार्टी र उत्पादन गर्ने वैचारिक कार्यकर्ता ?’

राम कार्की हौसिएका थिए । यत्रो कार्यक्रम गर्न सकियो । यति धेरै कार्यकर्तालाई पढाउन सकियो । पढाउन पनि चानचुनेहरू आएका थिएनन्– मोहनविक्रम सिंह, वामदेव गौतम, घनश्याम भुसाल, राम कार्की, बेदुराम भुसाल, डा. विजयकुमार पौडेल, चैतन्य मिश्र, प्रदीप गिरीहरू † सुनील मानन्धर, समीर सिंह, डा.रमेश पौडेललगायतका दोस्रो पुस्ताका नेता कार्यकर्ताको उत्साह देखेर उस्तै पुलकित थिए । 

माक्र्सवादी स्कुल चलाउने यो अभियानमा चार कम्युनिस्ट पार्टीका युवा पुस्ताका वैचारिक नेता लागेका छन् । मानौँ उनीहरूलाई नेपालीको राष्ट्रिय चाडपर्व लाग्दैन । अनि, साराको ध्यान २ नम्बर प्रदेशमा हुँदा यी नेता–कार्यकर्ताचैँ माक्र्सवादी स्कुलमार्फत एउटै कम्युनिस्ट केन्द्रसम्म निर्माण कुनै आइतबार होइन भन्दै एकठ्ठा भएर वैचारिक पुस्ता निर्माणमा डटिरहेका थिए । नेता सुनील मानन्धरले सुनाए, ‘वीरगञ्ज जानुपर्ने नेता किन धुलिखेलमा भनेर अध्यक्षज्यूले फोन गर्नुभयो, मैले यहाँ पनि वीरगञ्जको भन्दा ठूलो मेला लागेको छ भनिदिएँ ।’

समापनमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल आउने भनिएको थियो । ‘एमाले स्थायी कमिटी बैठकले नेपाल काठमाडौंमै भएर पनि रोकिए, दाहालले भने हेडक्वार्टर नै वीरगञ्च सारेछन्,’ घनश्याम भुसालले कार्यकर्तालाई आस्वस्त पारे, ‘दुई नम्बर चुनावमा एक नम्बर हुने होडले यता नेताले समय दिएनन्, तर हामीचैँ अब सातै प्रदेशमा, देशैभर माक्र्सवादी स्कुल चलाउँछौँ– १० हजारलाई माक्र्सवाद पढाउँछौँ ।’ मानिस विचारले चल्नुपर्ने भुसालको भनाइ थियो । भने, ‘श्रीमतीजी यति वर्ष पुगेको अवस्था भनेर फेसबुकमा लेखेर नबस्ने बनाउन जरुरी देखियो ।’ सुनाए, ‘सामाजिक सञ्जालमा अराजक भावनामा बगेको टे«न्ड हेर्दा यस्ता स्कुल जरुरी देखियो, कम्तीमा हामी चार पार्टी त सँगै बस्यौँ पाँचदिन ।’

‘दर्शक हसाउन पनि नेताको क्यारिकेचर गर्नुपर्ने,’ राम कार्कीले भावुक हुँदै भने, ‘कम्युनिस्ट पार्टीका नेता उही हात्तीछाप चप्पल लगाएर, पाल्पा जाने भाडा माग्ने हुनुपर्ने हो त ?’ समाजमा बढेका सामन्ती सोचका डनवादी समाजसेवीले नै नेताको बदख्वाइँ गरेका छन् । कार्कीले सुनाए, ‘कम्युनिस्ट नेता भनेको अहिले पनि झल्लरी सर्टमा होस्, जाडोले लुगलुग कामेको होस् ।’ अनि यिनै समाजसेवीले भनुन्, ‘कमरेड मैले जम्मा दुईपटक लगाएको कोर्ट हो, तपाईंलाई दिएँ ।’ तिनै समाजसेवी चोकमा गएर भन्छन्, ‘नेताज्यूलाई हल्का सहयोग गरियो, आफू त कम्युनिस्ट पार्टीको सहयोगी न परियो ।’

अझै पनि समाजका सामन्ती सोचले कम्युनिस्ट नेताबारे धारणा परिवर्तन नहुँदा नेतालाई खुइल्याउने हास्यव्यंग्य भित्रिएकामा राम कार्कीको जवाफ थियो, ‘यसको हामी खुलेर सामना गरौँ, वैचारिक हिसाबले गरौँ ।’ यही प्रसंगमा कार्कीले भने, ‘भन्छन् चोकमा, ए, पाल्पा जाने गाडीभाडा हामीले दिनुपर्ने घनश्याम भुसाल चाइना घुमेर आएछन्, गरेछन् है नेताले प्रगति !’

माक्र्सले भनेका छन्, ‘निजी सम्पत्ति विघटन गर ।’ तर हामीकहाँ कुन कम्युनिस्ट नेताको के मा लगानी भन्ने होड छ । एकदिन शोषितहरूले शोषकहरूलाई शासन गर्नेछन् । माक्र्सको कल्पना थियो । अनि गतिशील पुँजी सन्तुलनको नियम, प्रभावकारी भौतिकवादी सिद्धान्त, उत्पादन, उपभोग, विनियम र वितरणका विषयमा माक्र्सका सिद्धान्त संसारले अवलम्वन गरिरहेको छ । व्यावहारिक र प्रभावकारी देखिएको छ । 
हामीकहाँ हुर्कंदै गएको विकृति अन्त्य जरुरी छ । वैचारिक हिसाबले नेता कार्यकर्ता प्रस्तुत हुन नसक्दा आज दलहरू दलदलमा छन् । एउटै सिद्धान्त बोकेर हिँड्ने पार्टीहरू कित्ताकाट भएका छन् । राम कार्कीले सुनाए, ‘मसालका नेतालाई सोधेँ, किन राप्रपासँग तालमेल गरेको ? जवाफ आयो, हामीले त एमालेसँग गरेको, एमालेले राप्रपासँग पनि गरेछ ।

अर्थात् मीतको मीत महामीत भयो मसाल र राप्रपा ।’ माक्र्सले भनेको ‘पुँजीपतिहरूको अन्तरविरोधले पुँजीवादी व्यवस्था सकिन्छ र सर्वहारा वर्गको दिन आउँछ तर शान्तिपूर्ण संघर्ष जारी राख्नुपर्छ ।’ नेपालमा लोकमानसिंह कार्की, राप्रपा, चूडामणि शर्मा, गोपाल खड्काहरूलाई पो लागू भइरहेको छ माक्र्सको भनाइ । ६५ प्रतिशत हाराहारीमा देखिएको कम्युनिस्ट केन्द्रहरू खिइँदै गइरहेका छन् । यता घनश्याम भुसाल र राम कार्कीहरू एउटै कम्युनिस्ट केन्द्र निर्माणको माक्र्सवादी प्रशिक्षण दिइरहँदा दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमाले एकतिर, अरू सबै एकतिर भएर एमाले स्खलनको प्रार्थना गरिरहेका छन् । कम्युनिस्टहरू जुधाएर अरूले चैँ माक्र्सवादको भरपुर उपभोग गरिरहेका छन् । नेताले कहिले बुझ्लान् ?


प्रतिक्रिया दिनुहोस !