मुखमा लगाम नलाग्दाको सामुहिक हत्याकाण्ड

मुखमा लगाम नलाग्दाको सामुहिक हत्याकाण्ड

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्याका मुख्य योजनाकारसहित अरु चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । यसअघि भदौ २६ गते प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई मात्र पक्राउ गरेको थियो ।

अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, स्थानीय ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय एक किशोर रहेका छन् ।

भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका नाती विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।

खड्गबहादुरलाई तेजबहादुरले जँड्याहा भन्ने गरेको, लोकबहादुरलाई पागल,अल्छी र केही काम गर्न नसक्ने भनी गाली गर्ने गरेको,रणबहादुरलाई लठेब्रो भन्ने र १७ वर्षीय किशोरलाई डुँडे, काम नलाग्ने भइस् भन्दै सँधै हेपेकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू