उपभोक्ता समितिको नेतृत्व हत्याउन मारामार,लफडा बढ्दा दुई फ्याक

उपभोक्ता समितिको नेतृत्व हत्याउन मारामार,लफडा बढ्दा दुई फ्याक

उदयपुरको त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा लफडा आइलागेको छ । आधिकारिक समितिलाई बेवास्ता गर्दै असन्तुष्ट पक्षले अधिवेशन बोलाएपछि लफडा उत्पन्न भएको हो ।

दुई हजार ५ सय १० जना उपभोक्ता रहेको सो समितिको नाममा असन्तुष्ट पक्षले भोलि असोज ४ गते अधिवेशन बोलाएको छ । आधिकारिक समितिले भने आउँदो मंसिर २४ गतेका लागि अधिवेशन तोकेको छ । दुईपक्षीय विवादले उपभोक्ताहरु भने अन्यौलमा परेका छन् ।

यता,आधिकारिक समितिले अधिवेशन आव्हानप्रति आपत्ति जनाएको छ । आज पत्रकार सम्मेलन गरी समितिले पूर्वअध्यक्ष शंकरकुमार बस्नेतले जारी गरेको सूचना भ्रामक तथा कानूनविपरित रहेको जनाएको छ । बस्नेतले अदालतको निर्णयविरुद्ध अध्यक्षको हैसियतले भ्रामक सूचना जारी गरेको समितिका कार्यवाहक अध्यक्ष ओमबहादुर खडका,सचिव सन्तोष खडका र कोषाध्यक्ष किरण पाण्डेले दावी गरेका छन् ।

सदरमुकाम गाईघाटलगायत वडा नम्बर ९, १०, ११ र १२ मा वासिन्दाहरुलाई समितिले खानेपानी उपलव्ध गराउँदै आएको छ । नौ सदस्यीय समितिका पदाधिकारीसहित कार्यसमितिमा बहुमत सदस्यहरु पूर्वअध्यक्ष बस्नेतको विरुध्द रहेका छन् । बस्नेतले समितिका पदाधिकारी र सदस्यविरुध्द लेनदेन,उत्प्रेषणयुक्त निषेधाज्ञा मिश्रित परमादेशलगायतका विभिन्न शीर्षकका ६ वटा मुद्दाहरु दायर गरेका छन् । कतिपय मुद्दा किनारा लागिसकेको छ भने ३ वटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

तर उनले दिएको पदस्थापनलगायतको मुद्दामा भने उच्च अदालत ओखलढुंगाको २०७४ साल भाद्र २९ गतेको फैसलाले मागदावी खारेज गर्दै ‘निवेदकको पद नै समाप्त भइसकेको अवस्थामा त्यस्तो रिट निवेदन दिने निजको कुनै कानूनी आधार रहेको अवस्था पनि देखिदैंन’ भनेर टुङ्ग्याएको छ । तर पनि बस्नेतले आफैं आधिकारिक अध्यक्ष भएको दावी गर्दै हिंडेको कावा अध्यक्ष खडका बताउँछन् ।

टिप्पणीहरू