धाउँदै, धन्दा पनि धान्दै

सधैं कमाइ हुने अड्डा अर्थ मन्त्रालयमा डेरा जमाई बसिसकेका विश्वराज पाण्डे अहिले वैदेशिक रोजार विभागमा महानिर्देशकका रूपमा कार्यरत छन् । यिनका काम भनेको अहिले गरिब नेपालीको हकहितको बहाना बनाएर अनुगमन गर्ने तथा नयाँ–नयाँ म्यानपावर दर्ता गर्ने  दलालहरूसँग पैसा असुल्ने काममा सक्रिय भएको आरोप विभागदेखि मन्त्रालयसम्मका कर्मचारीले लगाउन थालेका छन् । जागिरे जीवनको उत्तराद्र्धमा आइपुगेका पाण्डेले १ सय ७० जति म्यानपावर दर्ता गरी करोडांै असुल्ने काममा सक्रिय छन् । 

ताहाचलस्थित देउवाका एक जना गाउँलेका अनुसार उनी महिनामा तीन पटक देउवालाई भेट्न पुग्दा विश्वराजलाई तीनै पटक आरजु र देउवाकहाँ फेला पारेको निकटस्थहरूसँग सुनाउने गरेका छन् । पाण्डे प्रधानमन्त्री देउवाकहाँ मात्र होइन, हरेक दिन अख्तियार प्रमुख दीप बस्नेतको दर्शन गर्न टंगाल हाजिर हुने गर्छन् । स्रोतका अनुसार दीप बस्नेतका छोराले पाटर्नरमा चलाएको दर्ता नम्बर १७८ भई काठमाडौं महाराजगन्जमा कार्यालय रहेको याक्का ओभरसिज इम्प्योमेन्ट कन्सल्ट प्रालि, जसका पार्टनर भीमबहादुर रोक्का हुन् ।

यस्तै दर्ता नम्बर ९६९ रही पाटर्नरका रूपमा भरतराज पाठक रहेका गोर्खा एसोसिएट प्रालिलगायत  तीन वटा म्यानपावरमा लगानी छ । पाण्डे अख्तियार प्रमुख दीप बस्नेतका छोरामार्फत दीप बस्नेतकहाँ दैनिकजसो दर्शन गर्न पुग्ने गरेका छन् । यी दुई शक्तिकेन्द्रसँग नजिकिएका पाण्डेले सोझा श्रममन्त्रीलाई बाल दिँदैनन् । यद्यपि, श्रमसचिव लक्ष्मण मैनालीसँग उनको हिमचिम बाक्लो छ । ताहाचलमा रहेका एक जना कार्यालय प्रमुखसँग सचिवलाई पैसा दिनुपर्छ भन्दै उठाउन खोजेका थिए तर त्यहाँका उपसचिवले सिधै सचिवसँग कुरा गर्न पुगे । यद्यपि, श्रमसचिव मैनालीले समेत उनको कुरा नसुनेबाटै यी दुईबीचको कनेक्सन कति डरलाग्दो रहेछ भन्ने पुष्टि हुन्छ ।    

यसैबीच, नयाँ म्यानपावर दर्तामा पहुँचवाला व्यक्ति सक्रिय रहेको पाइएको छ । ती व्यक्तिले अदालतदेखि विभागका कर्मचारीलाई समेत दबाब र प्रभावमा पार्दै धमाधम नयाँ म्यानपावर कम्पनी दर्ता गर्दै आइरहेका छन् । धमाधम म्यानपावर दर्ता गर्ने र बिक्री गर्ने व्यक्तिले राजनीतिक नेतृत्वसँग भएको पहुँचको फाइदा लिइरहेको स्रोतले जनआस्थालाई बतायो । पाण्डे र मैनालीको मिलेमतोमा कतिसम्म लुट मच्चाएको छ भने विभागले नयाँ म्यानपावर कम्पनी दर्ता गर्न सार्वजनिक सूचना जारी भएको छैन तर भित्रभित्रै यही बीचमा नयाँ एक सय ३८ वटा म्यानपावर कम्पनीले इजाजत पाइसकेका छन् ।

टिप्पणीहरू