हावाभन्दा छिटो धावा

‘नेपालमा किन कम्युनिस्टहरू विभाजित ?’ घरी–घरी विश्व राजनीतिक रंगमञ्चमा उब्जिरहने यस्ता प्रश्नको सामना यसचोटि एमालेका केही युवा नेताले चीन पुगेर गर्नुप¥यो ।  चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागबाट निम्तो पाएर दुई साताअघि उता पुगेका एमाले उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य डा. विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीले सोधे, ‘माओवादी र तपाईंहरूबीचको भिन्नता के हो ? हामीलाई प्रस्ट पार्नुप¥यो ।’

टोलीका सदस्यमध्ये घनश्याम र डा. विजय यस्ता प्रश्नको जवाफ दिनमा ‘छुरा’ मानिन्छन् । तर, उनीहरू पनि ट्वाँ पर्ने गरी चिनियाँ कम्युनिस्टले फेरि पनि प्रश्न तेस्र्याए, ‘तपाईंहरूकै अग्रसरतामा संविधान बन्यो । तर, त्यो संविधान बनेपछिको उपलब्धि के हो ?’ घनश्याम जवाफ दिउँलाझैँ मुख खोल्न मात्र के तम्सिएका थिए, फेरि अर्को प्रश्न आयो, ‘नेपालमा पटक–पटक कम्युनिस्ट पार्टी सरकारमा गइरहन्छ । तर, उपलब्धि के भयो त ?’

उठेका जिज्ञासाबारे संक्षिप्तमा घनश्यामले बताए, ‘नेपालमा दुई मात्र हैन, अरु पनि कम्युनिस्ट घटक क्रियाशील छन् । मुख्यतः उग्रवापन्थी र नरमपन्थी कम्युनिस्टबीच तीव्र ध्रुवीकरण पैदा भएको छ । उग्रवामन्थी कित्ताको प्रतिनिधित्व माओवादीले गर्छ र नरमपन्थी कित्ताको नेतृत्व एमालेले गर्छ । माओवादी सत्ताप्राप्तिमा केन्द्रित भएर आफूलाई प्रस्तुत गर्छ, एमाले जनजीविका र राष्ट्रियतामा आधारित भएर अगाडि बढ्छ ।’ उनले संसारमै पहिलोचोटि बहुदलीय प्रतिस्पर्धाको राजनीतिमार्फत समाजवाद प्राप्तिको घोषित लक्ष्यमा एमाले अगाडि बढिरहेको र राष्ट्रिय परिस्थिति अनुकूल हुनासाथ त्यस्तो उपलब्धि सम्भवप्रायः रहेको उनले बताए ।

भ्रमण दलका युवा एमाले नेताले नेपालमा चीनले सहयोग बढाउनुपर्ने र त्यो सहयोगमार्फत नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सुदृढ बनाएर अगाडि बढाउन सकिने अपेक्षा व्यक्त गरे । तर, चिनियाँ नेताले आफ्नो देशले अनौपचारिक तवरबाट आउने प्रस्तावलाई त्यति महŒव नदिने भन्दै हरेक आयोजना÷परियोजनाउपर सरकारले इच्छा व्यक्त गर्नुपर्ने र त्यसपछि चीन सरकारको नीतिअनुसार अगाडि बढिने बताए । उनीहरूले नेपालका छिमेकी मुलुक श्रीलंका, बंगलादेशमा पनि लगानी गरेको दृष्टान्त पेस गरे । यीबाहेक विश्वका एक सय ६० मुलुकका विकास, निर्माणको काममा चीनको विभिन्न किसिमको लगानी र संलग्नता रहेको बताए । तर, हरेक सहयोग सरकारी च्यानलबाट आउनुपर्ने कुरामा दोहो¥याएर जोड दिए । सरकारी च्यानलबाट आए पनि ती देशका राजनीतिक दलसँग चीनले आफ्नै किसिमबाट सम्बन्ध स्थापित गर्ने पनि उनीहरूले सुनाए । अहिले चीनसँग एक सय ६० देशका ६ सय राजनीतिक दलसँग सम्बन्ध छ ।

नेपालका युवा नेतालाई चकित खुवाउने गरी उनीहरूले सुनाए, ‘हामीले अहिले प्रतिघन्टा चार हजारका दरले कुद्ने रेलको विकास गरेका छौँ ।’ अर्थात्, हावाको गतिभन्दा पनि चाँडो आफ्नो गति पक्डिने कंकर्ड विमानभन्दा पनि बढी गतिको रेलको विकास चीनले गरिसकेको रहेछ । यस्तो रेल सञ्चालनमा ल्याउन रेलमार्गको कुनै अभाव छैन । तर, अत्यधिक गतिका कारण हुन सक्ने दुर्घटनालाई कसरी व्यवस्थापन गर्ने ? वा, दुर्घटना हुन नसक्ने विधि के हुन सक्छ भनेर अहिले चिनियाँ वैज्ञानिक तथा शोधकर्ता अध्ययन गरिरहेको सुनाए ।

टिप्पणीहरू