१४ भाइको मुद्दा ‘हेर्दाहेर्दै’ मा, अर्को पेशी भोलि

१४ भाइको मुद्दा ‘हेर्दाहेर्दै’ मा, अर्को पेशी भोलि

पार्टी छोडेका १४ सांसदको पद खुस्काउन माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रीटमाथिको सुनुवाई ‘हेर्दाहेर्दै’मा परेको छ । न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको बेञ्चमा परेको आजको सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो।

एमाले अध्यक्ष खड्कप्रसाद शर्मा ओलीले माधव नेपालसहित १४ जनालाई गरिएको कारवाही कार्यान्वयन गराउन माग गर्दै रिट हाल्नुभएको थियो । रिटमा एमालेले कारवाही गरेका १४ जना सांसदसहितको सनाखत गराएर नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेशसमेत माग गरिएको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले भदौ २२ गते १४ जना सांसद र रिट निवेदक पक्षलाई बोलाउन आदेश गरेको थियो । साथै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । तर, भदौ २८ गते न्यायाधीशद्वय कार्की र मीरा खड्काको इजलासमा पेशी चढे पनि सुनुवाई स्थगित भएको थियो ।

साउन २५ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले १४ साँसदलाई पदबाट हटाउने निर्णय गरेको थियो । सोहिअनुसार १ भदौमा सँसद सचिवालयमा समेत निश्कासनको पत्र दर्ता भएको थियो ।

तर, भदौ २ गते माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको निवेदन परेपछि सभामुखले कारवाहीको सूचना टाँस्नु भएको छैन । त्यसैलाई लिएर एमालेले संसद अवरोध गरिरहेको छ ।

टिप्पणीहरू