विदेश जानेका अनेक व्यथा, देश रुवाउने कथा

विदेश जानेका अनेक व्यथा, देश रुवाउने कथा

अचेल नेपालका अधिकांश युवा सर्वसाधारणले रोजगारीको लागि विदेश जान रुचाउने गरेका छन् । पहिलेपहिले पुरुष मात्र जान्थे भने अहिले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि उत्तिकै छ । जब नागरिकता बन्छ तबदेखि खाडी मुलुकतिर जाने प्रोसेस शुरु हुन्छ । अरुको देशको छुट्टै वातावरण सम्झेर कतिलाई डर लाग्छ । कतिलाई भने खुशीको ठेगाना हुँदैन । आफ्नो भएको जग्गामा खेतीपाती गर्न गाह्रो हुन्छ । खेतीपाती गर्दा किसान भनेर जिस्क्याउने पुस्ता छ । त्यसैले बाहिर जान पाउँदा छुट्टै इज्जत पाइन्छ भन्ने सोचाइ बनेको पाइन्छ ।

बाउबाजेले गरेको काम गर्न हामीलाई लाज लाग्छ । नेपाली भएर जन्मिनु नै धिक्कार हो भन्ने बुझाइ छ । अलिकति राम्रो स्कुलमा पढेकाहरु अमेरिका, अष्ट्रेलियालगायत मुलुक जान पासपोर्ट बनाउन खोज्छन् । आफ्नै परिवारको व्यापारव्यवसाय धानेर देशमा केही गरौँ भनेर सोच्ने कम छौं । भएका जति युवा अरुको देशमा गएपछि देशविकास कसले गर्ने ?

काठमाडाैँमै घर भएका, सदरमुकाम बस्ने करोडपतिका छोराछोरी आफ्नो देशमा बसेर केही गरौँ, सरकारी जागिर खाआँै भन्दैनन् । सम्पूर्ण सुविधा भएका देशतिर जान खोज्छन् । शुरुमै २५ लाख रूपैयाँ खर्च गर्छन् अन्त जान । यसरी नेपाली पैसा अन्य मुलुकको ढुकुटीमा जम्मा हुन्छ । उसले जति राम्रो पढे पनि, जति नै योग्यता हासिल गरे पनि नेपालले खासै पाउने होइन । नेपालमा राम्रो शिक्षा हासिल गरेको अन्त जान्छ । बरु, अर्काको देशमा गएर जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । देशमा अब बूढाबूढी मात्र बाँकी छन् । बाध्यताले जानु र रहरले जानुमा धेरै फरक छ । कतिले अरूको लहैलहैमा लागेर पनि विदेश जाने फैसला लिन्छन् । गाउँबाट पासपोर्ट बनाउन जिल्ला वा राजधानी आउँछन् । कतिसँग पासपोर्ट बनाउने पैसा हुँदैन । विदेश जान पनि पैसा हुँदैन ।

१ लाखको ५ हजारसम्म तिर्ने शर्तमा गाउँकै साहुसँग ऋण लिन्छन् । ऋण लिएरै पासपोर्ट बनाउँछन् । विदेश पठाउनको लागि मान्छे ल्याएबापत कमिसन दिने शर्तमा मेनपावरले दलाली राखेका हुन्छन् । पहिले गोर्खा भर्तीका लागि गल्लावाल आएझैं गाउँगाउँमा बिचौलिया खटाएका हुन्छन् । भएनभएको सेवासुविधाको प्रलोभन देखाउँदै पासपोर्ट बटुल्छन् । राम्रो देश जान कन्सलटेन्सीले पनि एजेन्ट राखेका छन् ।

कमिसनको लोभमा मेनपावर र कन्सलटेन्सीले आफन्तलाई समेत ठगेका छन् । सम्पत्ति कमाउने लोभ र कमाइ धेरै देखाउँछन् । पासपोर्ट दिएको महिनादिनभित्रै उडाइदिन्छु, कुन देश जाने हो त्यहाँको भिसा लगाइदिन्छु । काम एकदम सजिलो छ, दिनको ८ घण्टा, खानबस्न सुविधा, हप्तैपिच्छे छुट्टी पाइन्छ जस्ता प्रलोभन देखाउँछन् । हामी पनि विदेश जाने भनेपछि गरिरहेको काम छाडिदिन्छौँ । म्यानपावरले तपार्इंको भिसा आउनै लागेको छ पैसा दिनुस् भन्छ । सरकारले विदेश जान तोकेको शुल्कमा २० गुणा बढी रकम विदेश जानेसँग असुल्छ ।

पैसा लिन्छ तर भौचर दिँदैन । कतिलाई पासपोर्ट बुझाएको ३ महिनामा उडाउँछ, कतिलाई वर्षदिनसम्म झुलाइदिन्छ । १ वर्षसम्म भिसा नआएपछि पासपोर्ट फिर्ता लिन कत्रो महाभारत सामना गर्नुपर्छ । पैसा फिर्ता दिए पनि कटाएर दिन्छ । गुण्डा तिनैले पालेका छन् । प्रहरी प्रशासन उनीहरूकै हातमा छ । यस्ता ठग कम्पनीमा राजनीतिक दलकै नेताको संरक्षण हुन्छ । म्यानपावरले वर्षदिनमा कति मान्छेलाई कुन–कुन देशमा पठाए ।

यसबारे राज्य अनभिज्ञ छ । नेपाल सरकारले एक वर्ष पठाउन नसक्नेको कम्पनी खारेज गर्ने, नवीकरण नगर्ने नदिने नीति ल्याएको थियो । त्यो नीति केपी ओली सरकारले डिसमिस ग¥यो । म्यानपावरले फेरि नवीकरण गर्ने इजाजत पाए । म्यानपावर कम्पनीको अनुगमन खोइ ? श्रम मन्त्रालय र श्रम विभागको ध्यान कता ? म्यानपावर कम्पनीले एउटा काम भनेर विदेश पठाउने गरेका छन् तर काम भने अर्कै पर्ने गरेको छ ।

वर्षांै दिनसम्म कतिले तलब पाएको छैन । कति अलपत्र परेका छन् । जिउँदो गएका मान्छेहरू लाश बनेर बाकसमा फर्केका छन् । धेरै कमाउने, परिवारलाई सुखसँग पाल्ने सपना देखेर घरपरिवार छाडी खाडीमा काम गर्न जान्छन् । तर विदेशमा कमाउन जाने धेरैको घरपरिवार बिग्रेको छ । श्रीमान्ले विदेशमा बसेर कमाएको पैसा लिएर श्रीमती अर्कैसँग भागेका पनि छन् । बालबच्चाको बिजोग पारेका छन् । चाडबाड आउँछ, छोराछोरीसँग मनाउन पाइन्न । अहिले पनि दिनमा २००० नेपाली विदेश जान्छन् । अरुको देश गयो, दुःख पाएपछि नेतालाई सराप्न मन लाग्छ । सरकारलाई रेमिट्यान्स भए पुग्यो । देश त छाड्छन् आफ्नो छोराछोरी ल्याएर पनि उपत्यकामै राख्छन् । गाउँलाई चटक्कै बिर्सिन्छन् । विदेश जानेमध्ये २/४ जनाको सपना पूरा भएको होला । नभए धेरैको चकनाचुर भएको छ ।

गलत बाटो हुँदै विदेश जाने पनि त्यत्तिकै छन् । विदेशबाट विभिन्न रोग बोकेर आउँछन् । यसको उपचारचाहिँँ नेपाल सरकारले गर्नुपरेको छ । घरायसी काममा गएका महिला साहुबाटै शोषित बनेका छन् । गर्भवती भएर फर्किने पनि त्यत्तिकै छन् । विदेशमा काम सिकेर स्वदेशमा पौरख गर्ने पनि नभएका होइनन् । खाडी मुलुकमा गएकाहरु त नेपाल फर्कन्छन् तर राम्रो देश गएकाले नेपालको नागरिकता त्याग्छन्, उहीँको नागरिक बन्छन् । विदेशमा काम गर्दा मृत्यु भयो भने क्षतिपूर्ति पाइँदैन । विदेश जाने बेलामा बिमा गराएर गएका हुन्छन् । तर, बिमा कम्पनी क्षतिपूर्ति दिन धेरैै हिचकिचाउँछ । विदेशको जेलमा नेपालीले जीवन कटाइरहेका छन् । वैदेशिक रोजगारीमा जाँदा हराएकाको डाटा सरकारसँग छैन । सरकारले ८० लाख नेपाली विदेशमा भनेको छ तर यो यथार्थ तथ्यांक भने होइन ।

म्यानपावरलाई कम्पनीमा लगेर पञ्जीकरण गर्ने हो भने राज्यको ढुकुटीमा राजस्व संकलन हुन्छ । अहिले जति पनि म्यानपावर सञ्चालनमा छन् यसमा ठूलो राजनीति घुसेको छ । नयाँ म्यानपावरको दर्ता खोलेको छैन । यहा“ पनि सिण्डिकेट छ ।

टिप्पणीहरू