काँग्रेसमा क्रियाशील लफडा, ‘नयाँ शक्ति’ वालालाई च्याप्न चलखेल

काँग्रेसमा क्रियाशील लफडा, ‘नयाँ शक्ति’ वालालाई च्याप्न चलखेल

काँग्रेसमा क्रियाशील सदस्यलाई महाधिवेशनको जग मानिन्छ । क्रियाशील सदस्यले छानेका प्रतिनिधिहरुले केन्द्रीय सभापतिसम्मलाई निर्वाचित गर्ने भएकाले पनि क्रियाशील सदस्यलाई महाधिवेशनको जग मानिएको हो । तर, त्यहि सदस्यतालाई लिएर हरेकचोटी महाधिवेशनको मुखमा काँग्रेसमा लफडा हुने गरेको छ । लफडाकै कारण १४ औँ महाधिवेशन प्रभावित भएको छ ।

हुन त काँग्रेसमा क्रियाशील सदस्यता विवाद नयाँ होइन । हरेक पाँच वर्षमा महाधिवेशन नजिकिदै गर्दा क्रियाशील विवाद चर्किने गरेको छ । आफू निकटलाई सदस्यता दिन नेताहरुले चाहना राख्नु स्वभाविकै हो । तर,पार्टीको क्रियाशील सदस्यतामा समेत आर्थिक चलखेलको कुरा भने उदेकलाग्दो छ । सदस्यता विवादमा रुमलिएको सुदूर हिमाली जिल्ला रसुवामा करोडौँको चलखेल भैरहेको बताइन्छ ।

रसुवामा कांग्रेसका केही नेताहरुले आफू अनुकूल क्रियाशील सदस्यता दिन आर्थिक चलखेल गरेको कांग्रेसकै नेताहरुले आरोप लगाएका छन् । जम्मा २५ हजार मतदाता रहेको सानो जिल्लामा समेत सदस्यता टुंगो लाग्न नसक्नुमा आर्थिक मोलमोलाई र खरिद-बिक्रि नै मुख्य कारण भएको नेताहरु दाबी गर्छन् ।

जिल्ला सभापति पेम्बा तामाङ, प्रतिनिधिसभा सांसदसमेत रहेका नेता मोहन आचार्य र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले आर्थिक चलखेल गरेको दाबी गरिएको छ । रसुवा काँग्रेसका एक नेताका अनुसार मुख्यसचिव पौडेललाई कुर्कुस्त रकम बुझाएर अर्वपति माननीय आचार्यले तत्कालीन नयाँ शक्तिबाट आएको समूहलाई प्रक्रिया मिचेर सदस्यता दिलाउन खोजेपछि विवाद शुरु भएको हो । त्यसमा जिल्ला सभापति तामाङसमेत लागि परेको उनको भनाइ छ ।

काँग्रेसको विधानले नयाँ सदस्यता वितरणको मापदण्ड तोकेको छ । राष्ट्रियस्तरमा काँग्रेससँग पार्टी एकता गरेको पक्षलाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा समायोजन समितिसमेत बनाएको छ । तर, नयाँ शक्ति सिंगो पार्टीका रुपमा काँग्रेससँग एकता भएको नभई रसुवामा मात्र सो पार्टीको एउटा समूह काँग्रेसमा समाहित भएको हो ।

बाग्मती प्रदेशका सांसद प्रेम तामाङको नेतृत्वमा नयाँ शक्तिको एउटा समूह कांग्रेसमा मिसिएको थियो । कांग्रेसको विधानमा राष्ट्रियस्तरमा पार्टी एकता नभएकाले त्यसलाई पार्टी प्रवेश मानेको छ । त्यसरी ठूलो समूह काँग्रेसमा मिसिएकोलाई अन्य ‘पार्टीबाट प्रवेश’ भनेर क्रियाशील सदस्यता दिने विधि कांग्रेसले बनाएको छ ।

तर, विधि मिचेर मनोमानी ढङ्गले सदस्यता दिन खोजेपछि विवाद उत्पन्न भएको काँग्रेस नेता तथा बाग्मती प्रदेशका सांसद प्रभात लामा बताउछन् । जिल्लाबाट क्रियाशील भर्ने प्रक्रियाभन्दा बाहिरबाट समायोजनका नाममा विधानविपरित सदस्यता दिइएको उनको भनाइ छ ।

कांग्रेसको विधान र निर्देशिकामा तल्ला कमिटीले सिफारिस गरेर पठाएका सदस्यता आवश्यक रुजु गरेर केन्द्रले टुंगो लगाउनुपर्ने उल्लेख छ । वडा, पालिका र निर्वाचन क्षेत्र हुँदै सदस्यताको सिफारिस जिल्लामा आउनुपर्नेमा नयाँ शक्तिबाट आएका १४ सय ६५ जना उक्त प्रक्रियामा सहभागी नै नभएको बताइन्छ । प्रक्रिया पूरा नगरिकनै केन्द्रसँग सेटिङ मिलाएर सदस्यता दिन खोजेपछि लफडा निम्तिएको दाबी गरिएको छ ।

विधानले गरेको व्यवस्था अनुसार सदस्यताका लागि वडा तहबाट सिफारिस भएर आउनुपर्ने हुन्छ । वडा समितिले नाम भेरिफाइ गरि उपल्लो कमिटीलाई सिफारिस गरेपछि रुजु हुँदै केन्द्रसम्म पुग्ने हो ।

तर, विधि र विधानको व्यवस्था मिचेर प्रेम तामाङ्ग समूहलाई केन्द्रबाट मनोमानी ढंगले सदस्यता दिन खोजेको र त्यसमा माननीय आचार्य र सभापति तामाङले भूमिका खेलिरहेको कांग्रेस रसुवाका नेताहरु बताउछन् । पार्टीको विधान, स्थापित विधि र केन्द्रको निर्णयविपरित प्रेमसंगको व्यक्तिगत सम्बन्ध र आर्थिक लेनदेनका कारण आचार्य र तामाङले सदस्यतामा एकलौटी गर्न खोजेको उनीहरुको दाबी छ ।

विमलेन्द्र निधि नेतृत्वको समायोजन समितिले प्रक्रिया पुर्याएर सदस्यता भर्न जिल्लालाई निर्णय गरेर पठाएको थियो । माग गरिएको १४ सय ६५ बाट १२ सयलाई सदस्यता फारम भर्न समितिले भनेको थियो । तर, समायोजन समितिको उक्त निर्णय लत्याएर प्रक्रिया मिचेर सदस्यता भरेका कारण विवाद बढेको बताइन्छ ।

सदस्यता भरेर पठाएको १४ सय ६५ मध्ये ६२१ जनाको मात्र आंशिक प्रक्रिया पुरा भएको नेता लामाको भनाइ छ । उनीहरुको पनि वडा समितिले नाम भेरिफाइ गरेर उपल्लो कमिटीलाई सिफारिस गर्नुपर्नेमा त्यसो नगरिएको उनले बताए ।

समायोजन समितिले विवाद टुङ्ग्याउन नसकेपछि केन्द्रले हस्तक्षेप गरेको छ । देशभरका क्रियाशील सदस्यता छानविन गर्न रमेश लेखक नेतृत्वको छानविन समितिले रसुवासहित विभिन्न जिल्लाको विवाद टुंग्याउन नसकेपछि कृष्ण सिटौलाको नेतृत्वमा लेखक र मिनेन्द्र रिजाल सदस्य रहेको तीन सदस्सीय समितिलाई विवाद मिलाउने जिम्मेवारी दिइएको छ । यद्यपि रसुवाको विवाद भने अझै समाधान हुन् सकेको छैन ।

टिप्पणीहरू