​चोरका यस्ता चर्तिकला

भ्रष्टाचार, दलाली र अनैतिकविरुद्ध सदाचारको उदाहरण बन्नुपर्ने अदालत र न्यायकर्मी नै अनैतिकताको वाहक बनेका छन् भन्दा पत्याउन मुस्किल पर्ला ! कुरा काठमाडौं जिल्ला अदालतको हो । यस अदालतमा मुद्दाका क्रममा दसी प्रमाणका रूपमा कागजपत्रका साथै भौतिक सामानसमेत प्रशस्त पेस हुने गरेका छन् । दुर्घटनामा संलग्न यातायातका साधन, चोरी वा झगडामा परेका सुन तथा चाँदीका गहना, मोबाइल, ल्यापटपलगायत सामग्री अदातलमा पेस गरिएपछि तहशील शाखाले बुझेर राख्ने गर्छ ।

यसरी प्रमाणका रूपमा पेस गरिएका सामान सुरक्षित राखिने र अदालतमा सम्पत्तिका रूपमा दाखेलासमेत गरिन्छ । तर, यसरी जनताको तर्फबाट पेस गरिएका उनीहरूकै यी सम्पत्ति त्यहाँका कर्मचारीले निजीझैं प्रयोग गर्ने गरेका छन् । महँगा र राम्रा मुद्दाका दसीका रूपमा पेस गरिएका यस्ता २० वटा त मोटरसाइकल मात्र छन् । यी सबै मोटरसाइकल सुरक्षितसाथ अदालतले राख्नुपर्नेमा त्यहाँका कर्मचारीले घरमा लग्ने गरेका छन् । काठमाडांै जिल्ला अदालतका तत्कालीन श्रेस्तेदार उपसचिव ध्रुव उप्रेतीले त्यहाँ बसुन्जेल दसीका रूपमा पेस गरिएको मोटरसाइकल घर लगी सन्ततीलाई चढ्न दिए । हाल उनी उच्च अदालत पाटनमा सरुवा भई गएकाले फिर्ता गरेका छन् ।

ज्यानमार्ने उद्योगका रूपमा प्रयोग भएको भनी अदालतमा पेस गरिएको बा.५४प ४५०४ को नयाँ मोटरसाइकल विराटनगर उच्च अदालतका उपरजिस्ट्रार रणबहादुर कटवालले लगेका छन् । काठमाडौं जिल्ला अदालतमा कार्यरत रहँदा उठाएका मोटरसाइकल उनले सरुवा हुँदा विराटनगर सँगै लगेका हुन् । बा.५७प ७०५० नम्बरको लागुऔषध कारोबारमा संलग्न भनी अदालतमा पेस गरिएको मोटरसाइकल का.जि.अ. कै शाखाअधिकृत मदनराज भट्टराईले पेवा बनाएका छन् । जिल्ला अदालतमा हुँदा दुईवटा यस्तै मोटरसाइकल लगेका मदनप्रसाद रूपाखेती त हाल अदालतको सम्पर्कमा समेत छैनन् । दसीका रूपमा अदालतमा बुझाइएका लु. २५ प ८४६५ र बा६९प ६३२५ नम्बरका दुईवटा नयाँ मोटरसाइकल लगेपछि उनी सर्वोच्च अदालतमा सरुवा भए । त्यतिबेला पनि मदनले ती मोटरसाइकल बुझाएनन् ।

अहिले त उनी अवकाश भई घर गइसकेका छन् । तर, मोटरसाइकल फिर्ता गरिएको छैन । अदालतले सुरक्षित राख्नुपर्ने जनताका नासोका रूपमा रहेका यी सम्पत्ति हिनामिना हुँदा पनि त्यहाँ मुख्य न्यायाधीश पुरुषोत्तम ढकाललाई केही वास्ता छैन । जनताको सम्पत्तिप्रति यति धेरै लापर्वाह हुने यी न्यायाधीशले न्याय अन्याय छुट्याई कस्तो फैसला गर्लान् ? सहज प्रश्न उठेको छ । जिल्ला अदालतमै खटिएका प्रहरी सहायक निरीक्षक उमेश केसीले बा६५प ५५२१ नम्बरको ठगी केसमा अदालतमा बुझाइएको नयाँ मोटरसाइकल थात्रो बनाइसके ।

शाखा अधिकृत ताराकुमार श्रेष्ठले वरिष्ठ कर्मचारी भएको हैसियतबाट चोरी केसको दसी बा७०प ३९६१ को नयाँ मोसा दम्पच बनाएका छन् । स्टोरका नासु डम्बर थापा र अर्का नासु युवाचन्द्र घिमिरेले पनि लुटकै शैलीमा क्रमशः लागुऔषध कारोबारको बा७०प ५८६९ र हुच्चिल ओसारपसारमा प्रयोग भएको भनिएको बा५३प ८८१९ नम्बरका मोटरसाइकल चोरमाथि चकार बनी उडाएका छन् । उच्च अदालत पाटनमा सरुवा भइसक्दा पनि नासु दीपकप्रसाद अधिकारीले ठगी केसको बा६८प ७६७९ को मोटरसाइकल फिर्ता गरेका छैनन् । अरू त अरू पूर्वप्रधानन्यायाधीश रामकुमार साहका अंगरक्षक रहिसकेका प्रसनि भरत ठाकुरले पनि बा४०प ३८२५ नम्बरको सवारी अंगभंगमा परेको मोटरसाइकल आफ्नै बनाएका छन् । हाल सरुवा भई सर्वोच्च अदालतमा कार्यरत नासु पुरुषोत्तम पौडेल लु२६प ७०७९को र त्यहीँ कार्यरत माधवप्रसाद जोशी, विश्वराज सिग्देल, प्रहरी नायब निरीक्षकद्वय धनप्रसाद श्रेष्ठ र नवराज देवकोटाले पनि क्रमशः रा.३प ७८७३,लु२६प ७०८८,बा.५६प ८६०० र बा.६६प २६२१ नम्बरका प्रमाणका रूपमा बुझाइएका चोरीका मोटरसाइकल लुटको धन फुपूको श्राद्ध भनेझंै थोत्रा बनाइसकेका छन् ।

का.जि.अ.का हल्कासवारी चालक दिलीप ढुंगेलले त जनताले बुझाएका दुईवटा चोरी केसका बा.५३प ५६४० र बा५८प ६३४२ मोटरसाइकल घर लगेका छन् । दस्ता समूहका नाममा २ वटा बा.३७प ५०३२ र बा.६८प ६८०६ र कार्यालय सहयोगीहरू विपल खड्का र संगीता श्रेष्ठले क्रमशः ना.३४प ४८४२ र बा.६८प १८३१ नम्बरका मोटरसाइकल घर लगेका छन् । त्यहीँ कार्यरत सर्भेक्षक गणेशराज ओझाले डेल कम्पनीको ल्यापटप टप्काएका छन् । चोरी, झगडा तथा अन्य केसमा दसीका रूपमा पेस गरिएका घडी, सुन तथा चाँदीका गहनासमेत कर्मचारीले भागबण्डा गरी लग्ने गरेको पनि स्रोतले उल्लेख गरेको छ ।

टिप्पणीहरू