म एमालेमै रहेको भए केपी टिक्न सक्नुहुन्थेन

म एमालेमै रहेको भए केपी टिक्न सक्नुहुन्थेन

– रामचन्द्र झा

केपी ओलीको शैली र प्रवृत्तिका कारण कुनै समय एमाले परित्याग गरेर माओवादी बनेका नेता हुन् रामचन्द्र झा । बीचमा बाबुराम भट्टराईको नयाँ शक्तितिर लागेका उनी सो पार्टी त्यागेर माओवादी प्रवेश गरेर अहिले माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएसँगै त्यतै लाग्ने तयारीमा छन् । ०३२ सालबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले पार्टीको जिल्ला सचिव र जनकपुर इञ्चार्ज चलाए । ओलीले रघुवीर महासेठजस्ता नवधनाढ्यहरूलाई बोक्न थालेपछि उनी एमाले छाडेर हिँडेका हुन् । कुशल संगठकका रूपमा परिचित झा अब एकीकृत समाजवादीमै प्रवेश गरेर प्रदेश २ मा नेकपा एमालेलाई साइजमा राख्ने उद्घोष गर्छन् ।

– हरि गजुरेल

माधव नेपालको एकीकृत समाजवादीमा प्रवेश गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिदा माग्नुभएको चर्चा छ । वास्तविकता के हो ?

– माधव नेपाल र प्रचण्डबीचको सहकार्य एकीकृत कम्युनिष्ट पार्टी निर्माणको लागि भएको हो । पार्टी फुटेसँगै नेकपा समाजवादी र माओवादी केन्द्र दर्ता भए निर्वाचन आयोगमा । दुबैको उद्देश्य समाजवादी आन्दोलन र लोकतन्त्रलाई सवल पार्ने नै हो । लामो समय एमालेमै रहें, संगठन निर्माणको काम गरें । मेरो धेरै नेता तथा कार्यकर्ता अहिले पनि एमालेमै छन् । माओवादीमा रहेर संगठनको धेरै काम गर्न सकिनँ । माधव नेपालसँगै काम गर्न सहज हुने देखेर त्यसो भनेको हुँ ।

माधव नेपालसँग काम गर्न सहज देख्नुको कारण ?

– ०४६ पछि तीन पटक निर्वाचित जिल्ला सचिव भएर काम गरेँ । मान्छेले जहाँ काम गर्छ, त्यहीँ त सम्बन्ध हुन्छ र विश्वास पनि रहन्छ । म एक ठाउँबाट अर्को, अर्को ठाउँबाट अर्कोमा हामफाल्न चाहन्नँ, यो पदका लागि गरेको पनि होइन । संगठन निर्माण मेरो रुचिको विषय हो । दुवै जना आदरणीय नेताहरूसँग कुरा गरिरहेको छु ।

कस्तो पाउनुभयो, नेताहरूको प्रतिक्रिया ?

– सकारात्मक छ । प्रचण्डजीले जिम्मेवारी दिनुभएकै छ, अध्ययन अनुसन्धानको । तर प्रतिष्ठानको जिम्मेवारी लिने अलि उमेर भएको छैन जस्तो लाग्दै छ । पाँच÷सात वर्ष संगठन चलाउन सक्छु ।

माधव नेपालसँग कुन जिम्मेवारीको अपेक्षा राख्नुभएको छ ?

– जे जिम्मेवारी दिनुहुन्छ राम्रोसँग पूरा गर्छु । एमाले कालमा मलाई राम्रोसँग चिन्ने र जान्ने नेता भनेको माधव नेपाल र ईश्वर पोखरेलले हो । रघुवीरजस्ता माफियासँग इश्वरको उठबस छ ।

दुई नम्बर प्रदेशको समग्र आँकडा कस्तो पाउनुभएको छ ?

– एमाले नराम्ररी झर्छ । त्यो प्रदेशबाट एमालेले प्रदेश र केन्द्रमा एक सिट पनि जित्दैन । दुईवटै पार्टी (माओवादी–एमाले) एक हुँदा प्रतिनिधि सभामा दुई सिट जितेको हो लीला श्रेष्ठ र रघुवीर महासेठले । अहिले एमालेको माओवादीसँग एलायन्स छैन, माधव नेपाल अलग हुनुभएको छ । ओलीका छुच्चा मान्छे सुमन प्याकुरेल र रघुवीर महासेठजस्ताले कति सिट ल्याउन सक्लान् ? माधव नेपाललाई हराएर छोड्ने अन्तर्वार्ता दिँदै हिँडिरहेका छन् सुमन प्याकुरेलले । सुमनले त जमानत पनि जोगाउन सक्दैनन् । रघुवीरले कुन क्षेत्रबाट उठेर आफ्नो जमानत जोगाउन सक्नुहोला ? उनीहरूको भरमा राजनीतिक गर्न खोज्नुभएको हो भने हामी पनि कुनै
कच्चा खेलाडी होइनौं ।

तपाईंंले जीवनको लामो कालखण्ड एमालेमा बिताउनुभयो । अहिले माओवादीमा हुनुहुन्छ । हिजो आफू आवद्ध पार्टीको लफडालाई कसरी हेरिरहनुभएको छ ?

– केपी ओलीले माओवादी र एमालेलाई एकीकृत त गर्नुभयो तर सहमतिअनुसार काम गर्न चाहनु वा सक्नुभएन । प्रचण्ड र नेपालसँग गरिएको सम्झौता पालना नगरी गुटमात्र चलाउन खोज्नुभयो । परिणाम आज भोग्दै हुुनुहुन्छ ।

माक्र्सको भनाइ सापटी लिँदै एउटा सार्वजनिक कार्यक्रममा प्रचण्डले भन्नुभयो, कहिलेकाहीँ म पनि कालान्तरमा एक्लो हुने हो कि भन्ने डर लाग्छ । यस्तो खालको डरले उहाँजस्तो क्रान्तिकारी नेतामा किन डेरा जमाएको होला ?

– पारिवारिक रूपमा भन्न खोज्नुभएको वा राजनीतिक रूपमा थाहा भएन । उहाँको पारिवारिक अवस्था कष्टकर देखिन्छ । छोरा बिताउनुप¥यो । पत्नीको कष्टकर अवस्था छ । पारिवारिक सन्दर्भमा धेरै दुःख भोग्नुभएको छ । राजनीतिक सन्दर्भमा भन्न खोज्नुभएको हो भने हामी त साथमै छौं ।

यदि, तपाईं एमालेमै रहनुभएको भए अहिलेको अवस्थामा के गर्नुहुन्थ्यो ?

– माधव नेपाल १५ वर्ष एमालेको महासचिव रहँदा म अञ्चल इञ्चार्ज र जिल्ला सचिव रहें । त्यो कांग्रेस र माओवादीसँग कठोर संघर्षको घडी हो । राजाको निरकुंशतावीरोधी आन्दोलनमा पनि उहाँकै नेतृत्वमा हामी क्रियाशील रह्यौं । त्यो बेला साढे तीन लाख जनता सडकमा उतारिएको थियो जनकपुरमा । राजाले दलहरूसँग मान्छे छैनन् भन्थे, हामीले देखाइदियौं जनता कसको साथमा छ भनेर । माधव नेपालको नेतृत्व परिणाममुलक र सहज लाग्यो । केपी ओली त्यस समय आफ्नो स–सानो जिम्मेवारी र भूमिकामा रहनुभयो । यस्ता आन्दोलनमा उहाँको केही भूमिका रहेन । गणतन्त्र कार्यान्वयन गर्ने निर्णय हुँदा केन्द्रीय कमिटीको बैठकमा आफू अस्वाभाविक ढंगले अनुपस्थित भएर विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठलाई पठाई अहिले गणतन्त्रमा जानु भनेको जबजलाई ओझेल पार्नु हो भनेर नोट अफ डिसेन्ट लेख्न लगाउने केपी ओली नै होइन ? केपीजीसँग हाम्रो उद्देश्य कहिल्यै मिलेन । उहाँको कामको शैली, प्रस्तुति सधैं अरुलाई होच्याउने, घोचपेच गर्ने । गणतन्त्रको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका जाने यात्रा भनेर होच्याउने उनै ओली होइन ? कुनै पनि हिसाबले हामीलाई केपीको नेतृत्व स्वीकार्य थिएन । म एमालेमै रहेको भए केपी टिक्न पनि सक्नुहुन्थेन । माधव नेपाल र झलनाथ खनालसँग संविधान निर्माणको क्रममा मतान्तर भयो । पहिलो संविधानसभा विघटन नभएको भए अर्कै खालको संविधान बन्थ्यो र यस प्रकारको झमेला रहने थिएन । केपीको रुचिअनुसार माधव पनि चल्न थाल्नुभयो । त्यसपछि चित्त दुखाएर हामी अलग भयौं । यद्यपि, म कम्युनिष्ट आन्दोलनबाट अलग भएको होइन ।

 हिजो ओलीकै कारण एमाले परित्याग गर्नुभएको हो, उसोभए ?

– ओलीको साँघुरो सोचकै कारण हो एमाले परित्याग गर्ने स्थिति आएको । सुवाष नेम्बाङ ओलीकै निर्देशनमा चल्ने मान्छे, हिजोदेखि आजसम्म । संविधानसभाको बैठकै नडाकिकन पहिलो संविधान सभाको अवसान कसले गरायो ? यिनै ओलीको इशारामा सुवाष नेम्बाङले गरेको होइन ? पहिलो संविधान सभा बिघटन गराउने केपी ओलीको ग्राइण्ड डिजाइनै हो ।

तपाईंजस्ता मानिस उपेक्षामा पर्ने, धनाढ्य मानिसहरूलाई टपक्क टिपेर शीरमा चढाइने ओलीको शैलीका कारण एमाले त्याग गर्नुभएको हो भन्नेहरू पनि छन् । के हो वास्तविकता ?

– पार्टी गठन कुन उद्देश्यका लागि गरिन्छ ? पार्टी सञ्चालनमा कसको योग्यता वा भूमिका कति छ ? कसले कति रगत,पसिना बगाएको छ ? ती विषयलाई छाडेर कुनै धनाढ्य वा भ्रष्टाचारीलाई शीरमा चढाइएपछि अपाच्य भएको हो । अहिले देख्दै हुनुहुन्छ दुई नम्बर प्रदेश माधव नेपालतिर ओइरिएको छ । भुइँ तहमा बसेर संगठनका लागि काम गर्ने कार्यकर्ता सबै ओलीसँग चिढिएका छन् । अहिले केपी ओलीसँग बसिरुद्धिन अन्सारी, रघुवीर महासेठ, गंगाराम यादव, सुवोध प्याकुरेलजस्ता कम्युनिष्ट आन्दोलनसँग लेनादेना नभएका बाहेक को छ प्रदेशमा ?

केही दिनअघि ईश्वर पोखरेलले माधव नेपालसँग जम्मा ९ प्रतिशत मात्र हो हामीसँग ९१ प्रतिशत छौं भन्नुभएको छ । यस्तै आँकडा हो ?

– वामदेवजी पार्टी फोडेर जाँदा उहाँले जम्मा ६ प्रतिशत मात्र मत पाउनुभएको थियो । ०५६ को निर्वाचनमा एमालेको ६ प्रतिशत मत नकाटेको भए उसैले बहुमतको सरकार बनाउँथ्यो । कांग्रेस पहिलो भयो, एमाले दोश्रो । धेरै ठाउँमा हजार, पाँच सय मतान्तरले जितेका छन्, अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन गरेर भिड्दा । ५ सय वा हजार मत धेरै प्रतिशत नदेखिएला तर जित वा हारका लागि यो निर्णायक हुन्छ । आज शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालबीच एकता संविधानको रक्षा, लोकतन्त्रलाई अग्रगति, पश्चगमनलाई परास्त, प्रतिनिधिसभालाई पूर्ण कार्यकाल काम गर्न दिनका लागि हो । यो घोषित राजनीतिक सहकार्य हो । भोलि चुनावी एलायन्स पनि हुनसक्छ । सबै दल एकाकार भएर एमालेमात्र बाहिर हुने दिन आउन पनि बेर छैन । प्रतिशत गनेर बसिरहनुभएको छ । प्रतिशत त हिजोको हेरेर हैन, अब मैदानमा उत्रिएपछि आउँछ, उहाँहरू संसद र जनप्रतिनिधिको टाउको गनिरहनुभएको छ । आमनिर्वाचन हुँदा यी व्यक्तिहरूको होल्डमा कति जनता रहन्छन् ? कति जना विरुद्ध जान्छन् ? ओलीको शैली त्यही हो टिकट पाउनुपर्नेले पाउँदैनन्, रघुवीर महासेठजस्तालाई दिइन्छ । त्यस्तो पर्यटक उम्मेदवार जनतामाझ जाँदा कस्तो परिणाम आउला ?

अचेल एमालेलाई कत्तिको मिस गर्नुहु्न्छ ?

– एकीकृत एमालेलाई धेरै मिस गर्छु । ओलीको नजिकमा एक दिन पनि काम गरेको छैन र गर्दा पनि गर्दिनँ ।

नेकपा एमाले छाडेर माओवादी, नयाँ शक्ति हुँदै माओवादीमै फर्कनुभयो । अहिले माओवादी छाडेर नेकपा समाजवादीमा प्रवेश गर्न खोज्दै हुनुहुन्छ । यसरी पार्टी परिवर्तन गरिरहँदा आफ्नो व्यक्तिगत जीवनमा कत्तिको प्रभाव पर्दाे रहेछ ?

– उनीहरूले आफ्नो सिद्धान्त छाड्दै जाने, संगठनात्मक व्यवहार छाड्दै जान हुने, हामीले पार्टी छोड्न नहुने ? दुई पटक संसद बिघटन गर्ने, भ्रष्टाचारमा लिप्त भएर सरकार चलाउने । चाहे रघुवीर महासेठको भ्रष्टाचारको विषय होस् वा ओम्नीमा डामिएका ईश्वर पोखरेल, भानुभक्त ढकाल, यति होल्डिङदेखि गोकुल बाँस्कोटाको ७० करोड प्रकरणसम्म । छानबिन गर्ने राज्यका संयन्त्रहरूलाई प्रधानमन्त्रीको नियन्त्रणमा राखेर आफ्ना भ्रष्टाचारीलाई केही कारवाही नगर्ने, विजय गच्छदारलाई कारवाही गर्ने । रघुवीर महासेठ मन्त्री हुनुअघि ५८ करोडको सम्पत्ति विवरण पेश गरेका छन् ।

मन्त्रीबाट हटेपछि ३ अर्बको सम्पत्ति विवरण देखाइएको छ । कहाँबाट आयो यो सम्पत्ति ? छानबिन गर्नुपर्दैन ? अख्तियारको दाँत तोडिएको छ । सानातिना भ्रष्टाचारी समात्ने, ठूला भ्रष्टाचारीलाई छुनै नसक्ने । आफ्नो उद्देश्यअनुसार ओलीले केही काम पनि गर्न सक्नुभएन । केका लागि अहिले नाक फुलाउँदै हुनुहुन्छ ? सामन्त गोयललाई राति १२ बजे बालुवाटारमा प्रवेश गराएपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएको होइन ? चुच्चे नक्सा ल्याएँ भनेर नाक फुलाउनुहुन्छ, बेकार कुरा । झलनाथ खनाल अध्ययन प्रतिष्ठानको सहसंयोजक । प्रतिष्ठानले यसबारे तुल्सीलाल प्रतिष्ठानमा कार्यशाला गोष्ठी राखेर त्यो विषय केन्द्रीय कमिटीमा अघि बढाएर नीति तथा कार्यक्रममा राख्नसमेत नमान्ने मान्छे उहाँ होइन ? कुन परिबन्दमा परेर चुच्चे नक्सा आयो सबै नेपालीलाई थाहा छ । राज्यको नेतृत्व गर्नेले गुप्तचरसँग सम्बन्ध राख्दैन । न उहाँसँग राष्ट्रवाद न विकास गर्ने योजना र दृष्टिकोण । धरहरा बनाएँ भन्दै हुनुहुन्छ । एउटा धरहरा बनाएर मुलुक उन्नतिको शिखरमा गइहाल्छ ?

टिप्पणीहरू