माल्दिभ्सको सिको काठमाडौंमा

माल्दिभ्सको सिको काठमाडौंमा

गृह मन्त्रालयले अघिल्लो साता सार्वजनिक गरेका दुईवटा विज्ञप्तिको सारतत्व अचम्मसँग माल्दिभ्ससँग जोडिएको पाइएको छ । समस्या मुलुकभित्रको, असहमति र विरोध आफ्ना नागरिकले गरेको तर, छिमेकी मुुलुकसँगको विशेष सम्बन्धलाई देखाउँदै जारी गरिएका ती विज्ञप्ति ठ्याक्कै माल्दिभ्ससँग मेल खाएको हो ।

दक्षिण एशियाली मुलुक माल्दिभ्समा पनि केही समयअघि भारतको समर्थन हुने गरी त्यहाँको सरकारले जनतालाई जथाभावी नबोल्न, सञ्चार माध्यमलाई मनपरी नलेख्न र प्रदर्शकारीलाई सडकमा नउफ्रन विज्ञप्ति जारी गरेको थियो । त्यसको केही समयपछि त्यहाँस्थित भारतीय उच्चायुक्तको कार्यालयले सञ्चार माध्यमबाट बारम्बार आफ्ना कूटनीतिज्ञहरूलाई हमला गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै पठाएको पत्र बाहिरिएपछि माल्दिभ्स सरकारको विज्ञप्तिको असली कुरा उदांगिएको हो ।

त्यहाँको विदेश मन्त्रालयले सर्वसाधारण जनता, सञ्चार माध्यमलाई विशेष लक्ष्यित गरेर जारी गरेको उक्त विज्ञप्तिमा लेखिएका केही भाषा र बुँदा त्यसअघि भारतीय कूटनीतिक निकायले माल्दिभ्स सरकारलाई विरोध प्रदर्शन रोक्न लगाउन आग्रह गर्दै लेखेको पत्रसँग हुबहु मिलेको हो ।

भारतीय कूटनीतिक नियोग र तिनका अधिकारीको निर्देशनमा जारी गरिएको विज्ञप्तिलाई लिएर माल्दिभ्समा सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेका डेमोक्रेटिक पार्टीका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, पूर्वराष्ट्रपति एवम् सभामुख मोहम्मद नसिदले निकै आक्रोश र चिन्ता व्यक्त गरेका छन् । बाघ कराउनु र बाख्रा हराउनुको संयोग भनेझैँ यता नेपालमा पनि सरकारले एकाध दिनको अन्तरमा हालै दुई वटा विज्ञप्ति जारी ग¥यो ।

भारतले नेपालको सीमा क्षेत्र नाघेर हवाई उडान गरेको र महाकाली नदीमा तुईनको लठ्ठा चुँडालेर जयसिंह धामीलाई बेपत्ता पारिदिएको सम्बन्धमा सत्यतथ्य जान्न र दोषीमाथि कारबाहीको लागि नेपाली जनताले विरोध गरेका हुन् । तर गृह मन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिमा ठ्याक्कै माल्दिभ्स सरकारको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा झैँ छिमेकीसँगको विशेष सम्बन्धबारे बोलिएको छ ।

नेपालले भारतलाई दार्चुला घटनालाई लिएर पटक पटक पत्र पठाए पनि उसले टेरपुच्छर लगाएको छैन । केही दिनअघि छानबिन समितिको प्रतिवेदनको आधार भन्दै गृहले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र लेखेको छ । तर, त्यसको पनि जवाफ आउने सम्भावना अत्यन्तै क्षीण देखिएको छ ।

टिप्पणीहरू