‘काम गर्ने ठाउँमा शौचालय छैन, दिसा पिसाब पनि गर्न नपाइने’

‘काम गर्ने ठाउँमा शौचालय छैन, दिसा पिसाब पनि गर्न नपाइने’

मजदुरका अनेकन् समस्या छन् । राजनीतिक रुपमा विभाजित भए पनि मजदुरका मुद्दामा मजदुर पृष्ठभूमिका नेताहरुमा एकताको भावना प्रकट हुन्छ । मजदुर फाँटमा पनि आधारभूत र भुइँ तहका असंगठित मजदुरलाई संगठित गर्ने काम गरेका हेटौँडा ५ निबासी मजदुर राजु आचार्य यतिखेर नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।

दुई कार्यकाल जिल्ला अध्यक्ष, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल सचिव रहेर काम गर्नु भएका आचार्य सारमा डकर्मी हुनुहुन्छ । १० बर्षजति लेबर (मिस्त्रीका सहयोगी) का रुपमा काम गरेपछि बल्ल बल्ल मिस्त्री बनेका आचार्य २०३६ देखि २०४६ सम्म लेबर गरेका र पछि मिस्त्री भएका आचार्यले मजदुरलाई संगठित गर्ने, मजदुरका लागि लडाई लड्ने क्रममा थुप्रै अनुभवहरु हसिल गर्नु भएको छ । जनआस्थासँगको कुराकानीका क्रममा उहाँले दुईवटा किस्सा सुनाउनु भयो । ती किस्साहरु रोचक मात्र छैनन्, मजदुरको पक्षमा कसरी संगठनहरुले काम गर्छ भन्ने देखाउँछ ।

पहिलो किस्सा

कुरा २०६२ तिरको हो । हेटौँडा उपमहानगरपालिका वडा नं ५ मा एकजना जागिरे जीवनमा समय बिताइरहेका व्यक्तिको घर मर्मत गर्नुप¥यो । ठेकेदारमार्पmत एक महिला मजदुरले त्यहाँ काम गर्नुपर्ने भयो । केही दिनका लागि निरन्तर ती महिलाले काम गर्नुपर्ने थियो । तर, समस्या शौचमा भयो । घरपेटीले घरको ताला बन्दी गरेर काममा जाने र शौचालय घरभित्रै हुने । यता ती मजदुर महिलाले पिसाव फेर्न समेत नपाउने अबस्था भयो । यो गुनासो लिएर राजु आचार्यसहितका मजदुर नेताकहाँ ती मजदुर पुग्नुभयो । ‘काम गर्ने ठाउँमा शौचालय पनि छैन, दिसा पिसाव पनि गर्न पाइँदैन ।’, ती महिला मजदुरले दुखेसो पोख्नुभयो ।

आचार्यसहितका नेताहरुले ती महिलालाई सुझाए–‘घर बाहिर जे भाँडा भेटिन्छ, त्यसैमा पिसाव गर्नू, बाँकी काम हामी गरौँला ।’ महिलाले त्यसै गर्नुभयो । घर बाहिर घरपेटीले ढिँडो पकाउने गरेको कराई फेला परेपछि दिनभरि त्यही भाँडोमा पिसाव गर्नुभयो । साँझपख घरपेटी आउँदा ती महिला काम सकेर घर फर्किसक्नु भएको थियो । कराइमा पिसाव भरिएको देखेपछि क्रुद्ध भएका घरपेटीले ठेकेदारमार्फत ती महिलालाई हपारे । आचार्यसहित मजदुर नेताले घरपेटीलाई भनेछन्–‘काम गर्ने मान्छेलाई खानेपानी, शौचालय, आराम गर्ने सुविधायुक्त ठाउँ नदिएपछि यस्तै हुन्छ ।’ त्यसपछि घरपेटीले कराईमै पिसाव गरेपनि महिलाको काम राम्रो रहेकाले अबदेखि शौचालय खुला राखिदिने भन्दै काममा आउन आग्रह गर्नु भएको थियो ।

दोस्रो किस्सा

कुरा हेटौँडाकै हो । एउटा घरको बाथरुम बनाउनुपर्ने । मिस्त्रीको ज्यान असाध्यै मोटो । बाथरुम भित्रै छिर्न समेत गाह्रो हुने । लगालग तीन दिन काम गर्दा पनि नसकिएपछि घरपेटीले ती मिस्त्रीलाई ज्याला बढाउनका लागि दिन मात्रै लम्ब्याएको र काम नगरेको भन्दै कुटपिट गरेछन् । मजदुर नेता आचार्यसहितले सबै मजदुरलाई ‘जसले हातपात गर्छ हामी नआएसम्म बेहोस भएर ढलिरहनू’ भन्ने सिकाउनु भएको थियो ।

ती मिस्त्रीले त्यसै गरे । बेहोस् बनेर ढलेको ढल्यै भएपछि घरपेटीकी श्रीमती बढी चिन्तित भइन् र एम्बुलेन्स बोलाएर अस्पताल लगियो । हेटौँडा अस्पतालले भरतपुरको मेडिकल कलेज रिफर ग¥यो । अनाहकमा ती मिस्त्रीका पुराना रोगहरुको समेत घरपेटीले उपचार गर्दा ८० हजार जति खर्च भयो । पछि कुरा बुझ्दा कार्यस्थल राम्रो र ‘कम्फरटेबल’ नहुँदा यस्तो भएको रहेछ । कार्यस्थलमा मजदुरलाई सुरक्षा छैन ।

यसरी मजदुरका अनेक समस्याहरु छन् । काम लगाउने तर ज्याला नदिने परिपाटी छ । २ करोड बढीको ज्याला विवादको मुद्दा मकवानपुरमा मात्रै रहेको आचार्यको भनाई छ ।

टिप्पणीहरू