माधव नेपाल भन्नुहुन्छ – हामी सिंगल भिड्छौं

माधव नेपाल भन्नुहुन्छ – हामी सिंगल भिड्छौं

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीसँग एकता नगरी आफ्नै शक्तिमा अगाडि बढ्ने बताउनुभएको छ । आफूहरुले अरु पार्टीसँग एकता गर्न लागेको हल्ला चलाइएको भन्दै नेपालले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुग्नुभएका अध्यक्ष नेपालले कसैसँग एकता नहुने र आफ्नै शक्तिले पार्टी अगाडि बढाउने बताउनुभएको हो । ‘बाहिर चर्चा गरेजस्तो माओवादी या अरु कसैसँग एकता हुँदैन । हामी आफ्नै शक्तिले अघि बढ्छौँ ’, उहाँले भन्नुभयो ।

यद्यपि माओवादीसहित अन्य पार्टीसँग सहकार्य भने हुने अध्यक्ष नेपालको भनाइ छ । उहाँले पाँचदलीय गठबन्धनलाई चुनावसम्मै निरन्तरता दिने पनि दाबी गर्नुभयो ।

जनताले विश्वास गरेर झन्डै दुईतिहाइ मत दिँदादिँदै पनि संसद र पार्टीलाई अहिलेको अवस्थामा पुर्याएकाले एमालेलाई जनताले सजाय दिने उहाँले बताउनुभयो । देशको पछिल्लो अवस्थाले नेकपा एमाले भन्नेबित्तिकै सबैले नाक खुम्च्याउने अवस्था आएको नेपालले टिप्पणी गर्नुभयो ।

‘आज एमालेको हविगत किन यस्तो भयो यसको कारण तपाईंहरूले पहिल्याउन पर्ने हुन्छ, देशको अवस्था किन यस्तो भयो आज नेकपा एमालेका नाम लिनेबित्तिकै नाम खुम्च्याउने गरेका छन्, सारा जनताको नजरमा तल खसिसकेको छ’ उहाँको भनाइ छ ।

आफ्नो पार्टीसँग पाँच प्रतिशत मात्र शक्ति रहेको भनेर गलत प्रचार गरिएको दाबी गर्दै नेपालले चुनावमा टिकट नदिएर पक्षपात गरिएकाले त्यस्तो देखिएको पनि उल्लेख गर्नुभयो ।

गण्डकीमा समेत टिकटमा पक्षपात गरिएकाले जननिर्वाचितको संख्या कम देखिएको उहाँको भनाइ छ । सुदूरपश्चिममा पहिलो पार्टी बनेको र प्रदेश २ मा एमालेभन्दा ठूलो पार्टी बनेको उल्लेख गर्दै उहाँले गण्डकीमा टिकट नदिएकाले पीडित हुनुपरेको बताउनुभयो ।

टिप्पणीहरू