राजावादीले डढाए सँविधान,राजतन्त्र फर्काउन आह्वान

देशभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस मनाइरहेको राजधानीमा आज एक समूहले ०४७ सालको संविधान लागू गर भन्दै जुलुस निकालेको छ । ‘नेपाल अधिराज्यको संविधान २०४७ लागू गरौं’ मूल आयोजक समितिको आयोजनामा माइतीघर मण्डलाबाट जुलुस निकालिएको हो ।

नेपालको राष्ट्रिय झण्डा,विभिन्न भेषभुषा तथा बजागाजासहित सयौंको संख्यामा माइतीघरबाट निस्किएको जुलुसले बबरमहल बिजुलीबजार हुँदै बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेर संविधान जलाएको छ ।

संयुक्त राष्ट्रिय जनाअन्दोलन- २०७८ का अध्यक्ष तारानाथ लुइँटेल,वरिष्ठ उपाध्यक्ष दिनेश कँडेल,उपाध्यक्ष ज्ञानेन्द्र भट्ट, पुनरुत्थानवादी संयोजक शेखरजंग रायमाझी,नेपाल नागरिक आन्दोलनका संयोजक ठाकुरमोहन श्रेष्ठले र्यालीको नेतृत्व गरेका छन् । त्यस्तै,नेपाली कांग्रेस (बीपी) निवर्तमान सभापति हरिबोल भट्टराई,सँयुक्त आन्दोलन परिचालन समिति काठमाडौंका संयोजक शोभाराम थापा,स्वतन्त्र नागरिक समाजका संयाेजक हेमविक्रम सिलवाल, राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनका अध्यक्ष किशोर महतो,वीर गोर्खालीका संयोजक नगेन्द्र देउजा,अभियन्ता सन्तोष राजावादी र शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत पनि र्यालीमा सहभागी छन् ।

त्यसैगरी,देशभक्त नागरिक समाज राजसंस्थावादी बृहत् समूहका महासचिव मिननारायण कोजु, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का,विश्व हिन्दू महासंघका अध्यक्ष चक्रबन्धु अर्याल,नेपाली जनताका अध्यक्ष चिरकाजी खड्गी,शाही शक्ति नेपालका अध्यक्ष समुन्द्रराज भण्डारीलगायत र्यालीमा उपस्थित छन् ।

सो क्रममा ‘२०७२ सालकाे संविधान खारेज गर !’, ‘२०४७ को संविधान लागू गर !’ ‘अबकाे निकास नागरिक सरकार’, ‘राजा आऊ देश बचाऊ’, ‘राजा,जनता एक हौँ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्याराे छ’, ‘राष्ट्रिय एकता जिन्दावाद’, राजसंस्था पुर्न:स्थापना गराऊ, हिन्दू राष्ट्र र नेपाल नेपाली बचाऊ’, जस्ता नारावाजी गरिएको छ ।

टिप्पणीहरू