मैले भन्नु बोली खेर फाल्नु मात्रै हो

  • चन्द्र भण्डारी, सांसद तथा कांग्रेस नेता

देउवा सरकार इतिहासकै सबभन्दा जम्बो हुने नै भयो । मुलुकलाई आर्थिकसहितका अनगिन्ती भार थोपर्ने गरी भएको मन्त्रिपरिषद् विस्तारको विरोध स्वयं नेपाली कांग्रेस र देउवा खेमाभित्र बढ्दो छ । पार्टी एउटै भएर पनि मानिसबीचका मनहरु फरक फरक हुँदा बेहाल स्थितिबाट गुज्रिएको नेपाली कांग्रेसभित्र चन्द्र भण्डारी त्यस्तै परिस्थितिले पीडामा परेका नेता हुन् । सरकारले प्रदेश ५ टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरुद्ध सडकमै ओर्लिएका उनलाई पार्टीप्रतिकूल काम गरेको भनी अहिले सिंगो कांग्रेसभित्र प्रताडित बनाइएको छ । गुटले देउवाका तर विचार र कार्यशैलीले उनी त्यहाँ प्रतिपक्षी बनेका छन् । गुल्मीबाट प्रत्यक्ष जितेका सांसद हुन् । 

० मन्त्रिपरिषद् विस्तार राम्रो भयो कि नराम्रो ?
– नेपालमा राजनीति गर्ने मान्छेहरु विचार र दृष्टिकोणले हैन, ‘मन्त्री नभई पो मरिहालिन्छ कि’ भनेर आए । राजनीतिको त आफ्ना मूल्य र मान्यता हुन्छन् । मन्त्रीमात्र हैन, हामी केही खास मान्छेलाई योजनाविद्, विज्ञ र विशेषज्ञ भनेर अगाडि सार्छौं, उनीहरुले योजना बनाउने, देशलाई समृद्ध बनाउने हैन कि आफ्नै गाला चिल्लो, पिरो बनाउने, खानपान, हिँड्डुल अब्बल दर्जाको बनाउनेबाहेक केही गरेनन् । जनताले खालि खुट्टा हिँडेर हामीलाई भोट हालेका हुन्छन् नि † हामीचाहिँ सुख–सयल खोजेर, मन्त्री नपाए मरिन्छझैँ गरेर अगाडि बढेका छौँ । राम्रो खाएन, परिवारलाई राम्रो लुगा लगाउन दिएन, घुमफिर गराएन, राम्रो स्कुल, कलेज पढाएन भने समाजबाट अपमानित भइसक्छ भन्ने सोचको विकास भयो । मैले पहिले केपी ओलीको सरकारमा उपप्रधानमन्त्रीहरु बनाउँदा विरोध गरेको थिएँ । अहिले पनि यति धेरै मन्त्री, राज्य मन्त्री बनाउनु राम्रो होइन । देशलाई कतैबाट पनि यस्तो कामले फाइदा पुग्दैन ।
० प्रधानमन्त्रीलाई यसो गर्नुहुँदैन भनेर सुझाव दिनुभएन ?
– भनेर केही हुँदै हुँदैन । देश त व्यक्ति र समूहहरुको स्वार्थको बन्धक भइसकेको छ । मैले पार्टी सभापतिलाई भनेर बोली खेर फाल्नुमात्रै हो । मेरो सरोकार भनेको देश अर्को पुस्तालाई सुरक्षित हस्तान्तरण गरिदिऊँ भन्नेमात्रै हो ।  
० यत्रा मान्छे मन्त्री हुँदा पनि तपाईं पर्नुभएन है †
– हामीलाई जसको मान्छे भनेर चिन्छन्, चिनाइन्छ, त्यहीँभित्रका आदरणीय साथीहरु चन्द्र भण्डारीलाई मन्त्री बनाउनु हुँदैन भनेर सक्रिय हुनुभयो । केही हामी त्यस्ता मान्छे छौँ, जो पार्टीका सबै कुरामा सहमति राख्दैनौँ । अर्थात्, कसैका ‘एसम्यान’ हैनौँ । कांग्रेसको गौरव राख्नु छ, देशको इतिहास र इज्जत पनि धान्नु छ । कसैको चाटुकार बनेर क्षणभरको लाभ त पाइएला, तर त्यसले कसैलाई फाइदा गर्दैन ।
० साथीहरु किन लागेका होलान् ?
– संविधान संशोधनमार्फत ५ नं. प्रदेश विखण्डनको विरुद्धमा लागेँ । हाम्रो पार्टीमा, हामीसँग नजिक भएका अधिकांश साथीहरु अहिले पनि विखण्डनको पक्षमा हुनुहुन्छ । त्यसकारण मलाई यो स्थितिमा पु¥याइएको हो । तर, यसमा पनि कुनै गुनासो छैन । म मेरो आस्था र निष्ठा बेचेर पाइने कुनै पनि चिज चाहिएन । मलाई नदिए हुन्छ । 
० पार्टी पनि लथालिङ्ग छ नि !
– पार्टी राम्रोसँग चल्नै सकेन । सबैभन्दा ठूलो अप्ठेरो के रहेछ भने, साथीहरु बोल्न सक्दैनन् । नजानेर होइन, हिम्मतै गर्दैनन् । किनभने, चुनाव आउँछ, टिकटको कुरा छ । बेला–बेलामा सरकार फेरिन्छ, मन्त्रीको कुरा छ । राजनीतिक नियुक्ति र विभिन्न अवसरका कुरा हुन्छन्, आफू वा आफ्ना मान्छेलाई पठाउनु छ । फेरि हाम्रो बनावट अरु पार्टी हेरिकन फरक छ । हामीमा दाइ, भाइ, दिदी, बहिनी भन्ने चलन छ । अर्थात्, पारिवारिक तरिका । कम्युनिष्टहरुमा जस्तो ‘कामरेड’ भन्ने, आफ्ना कुरा राख्ने, तर्क–वितर्क दुबै गर्ने चलन हामीकहाँ छैन । कम्युनिस्ट साथी हुन्छन् । हामीमा दाइ हुन्छ, दिदी हुन्छ । त्यहीअनुसारको आदरभाव गर्नुपर्ने, असहमति राख्न नहुने चलन भयो ।
० देउवाले नेतृत्व सम्हालेपछि पार्टी दुई चरणको स्थानीय निर्वाचनमा दोस्रो बनेको छ । कारण के हो ? 
– नेपाली कांग्रेस दुई कारणले बाघ पार्टी हो । एउटा राष्ट्रियताको मुद्दाले, अर्को आर्थिक मुद्दाले । यी दुई कुरालाई नेपाली जनताले बढी रुपमा हेर्छन् । अहिले आएर राष्ट्रियताको मुद्दामा हामीलाई एमालेले बढी आक्रमण ग¥यो । त्यसलाई रक्षात्मक रुपमा लिन सकेनौँ । जस्तो कि, कोशी ड्यामको बारेमा सामाजिक सञ्जालहरुमा धेरै कुरा लेखिए । कोशी ड्यामको सम्झौता सकिएपछि त्यो पुनः बनाउने सम्झौता त माधव नेपालजी प्रधानमन्त्री भएको बेलामा भएको हो । सम्झौताको अवधि सकिन लागेपछि त्यसलाई नवीकरण गरिएको हो । तर, नेपाली कांग्रेसलाई जबरजस्ती राष्ट्रघातीको लेपन लगाइन्छ । एमालेले उतिबेलै अरुण तेस्रो जलविद्युत परियोजनालाई नरोकेको भए आज देशमा यस्तो अन्धकार हुने थिएन । तर, एमालेहरु आरोपजति कांग्रेसमाथि थोपरेर प्रचार गरिरहेका छन् । हामी कांग्रेसहरु आरोपको प्रतिवाद गर्न सकिरहेका छैनौँ । हाम्रा नेताहरु लामो नबोल्ने, मिहिनेत नगर्ने, पदमा बसिरहने, सही मान्छे सही ठाउँमा छान्न नसक्ने– यी कारणले त्यस्तो भएको हो । 
० टिकट वितरण न्यायोचित नभएर हो कि ?
– न्यायोचित भयो, भएन अर्कै कुरा, साथीहरुलाई ढिलो टिकट दियौँ, उहाँहरुले प्रचारमा समय दिनै सक्नुभएन । 
० भारत भ्रमण क्रममा प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । तपाईं के भन्नुहुन्छ ?
– चारचोटि प्रधानमन्त्री भइसक्नुभएको उहाँलाई के बोल्दा राम्रो, के बोल्दा नराम्रो हुन्छ भन्ने थाहै छ । मजस्तो सानो मान्छेले के भन्न सक्छु र † सोमबार उहाँसँग मेरो भेट भयो । बोलेको कुरामा किन यसो भन्नुभयो ? भनेर सोध्न मिलेन, सोधिएन । तर, उहाँ आफैँ प्रधानमन्त्री हँुदा भएको पञ्चेश्वर सम्झौता कार्यान्वयन गर्नेलगायत विभिन्न सन्धि सम्झौताबारे लामो समय सरकार चलाउने साथीहरुले चासो दिनुभएन । प्रत्येक सम्झौता दुईपक्षीय हितमा आधारित हुन्छन् । गोप्य सम्झौता केही छैनन् । ती सम्झौता कार्यान्वयनको कुरा प्रचण्डजीको सरकार बनेदेखि उठ्न थाल्यो । स्वयं शेरबहादुरजी प्रधानमन्त्री भएको समयमा उहाँकै अघिल्ला कार्यकालहरुमा भएका सम्झौता कार्यान्वयनका कुरा उहाँले फेरि पनि जोडतोडका साथ उठाउनु स्वाभाविकै मान्छु म ।
० भारत भ्रमणका क्रममा कुनै आधारबिना पार्टीको कार्यबहाक सभापति विमलेन्द्र निधिलाई दिइएको भनी विरोध छ नि, स्वाभाविक मान्नुहुन्छ ?
– हाम्रो पार्टीमा सभापतिजीका कतिपय अधिकारहरु हुन्छन् । कसलाई के जिम्मेवारी दिने सुझबुझपूर्ण निर्णय सभापतिले लिन सक्नुहुन्छ । विमलजीलाई कार्यवाहक दिएकै कुरामा धेरै मथिङ्गल दुखाउनुहँुदैन । उहाँ महामन्त्री भइसकेको मान्छे । चुनाव पनि तुरुन्त आइरहेको छ । यस्तो बेला पार्टीका कुराहरु उठाएर विवाद गर्दा फाइदा छैन । 
० तपाईंले संविधान संशोधनको पक्षमा मतदान गर्दिनँ भन्नुभएको थियो । तर, प्रस्ताव पेश हुँदा त पक्षमै जानुभयो नि †
– सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेपछि संशोधनको अर्को प्रस्ताव दर्ता गरेका थियौँ । शुरुमा संशोधन प्रस्ताव आउँदा त्यसले देशव्यापी विरोधको रुप लियो । ५ नंं. प्रदेश पूरै एकजुट भएर प्रतिकारमा उत्रियो, जसमा हाम्रो पनि सहभागिता थियो । धनराज गुरुङ, टोपबहादुर रायमाझी, अमर पुनसहित म पनि भएर संसद्मा विरोध प्रस्ताव दर्ता गरायौँ । सरकारले पछि त्यो संशोधन प्रस्ताव फिर्ता लियो । हामीले आफ्नो पार्टीले राखेको संशोधन प्रस्तावलाई अस्वीकार गरेर फिर्ता लिने तहसम्मको भूमिका प्रदर्शन ग¥यौँ । त्यो वास्तवमा संसदीय इतिहासकै ऐतिहासिक काम हो । संसदीय प्रणालीमा दलका विधायकले खुलेआम आफ्नो दलले ल्याएको प्रस्तावको विपक्षमा उभिने गरिँदैन । तर, हामी उभियौँ । अहिले मतदान भएर असफल भएको संविधान संशोधनको प्रस्तावमा मैले पक्षमा मतदान यसकारण गरेँ कि, त्यसमा ५ नं. प्रदेश विभाजनको कुरा थिएन । हामीले भाषा आयोग गठन गरिसकेका छौँ । सीमांकन आयोग गठन गर्ने संविधानमा व्यवस्था छ । यो अवस्थामा संविधान कार्यान्वयन गर्दै जाने हो, संशोधन गर्दै होइन । प्रदेश र संसदको चुनाव मंसिर १० गते नजिक आइसकेको छ । अर्कातिर, तराई–मधेशमा देखिएको असन्तुष्टिलाई हल गर्न कतिपय पक्षमा संशोधन गरेर पनि जान सकिन्छ । एमालेले भनेजस्तो संविधान संशोधन हुनैहुँदैन भन्ने पक्षमा पनि हामी होइन । यो संविधान असंशोधनीय हो ? होइन नि † यदि हामी निकासको पक्षमा छौँ, संविधान कार्यान्वयनको पक्षमा छौँ भने यस्ता कुरा निकाल्नु हुँदैन ।

टिप्पणीहरू