दशैंको मुखमा कर्णालीमा चामलको कहर

दशैंको मुखमा कर्णालीमा चामलको कहर

भौगोलिक रुपले अत्यन्तै विकट कर्णाली प्रदेशको मुगुमा यसवर्ष पनि खाद्यान्य अभाव भएको छ । चालु आर्थिक वर्ष शुरु भएको दुई महिना बितिसक्दा पनि खाद्यान्न ढुवानी नहुँदा दशैंको मुखैमा सबै खाद्य गोदाम रित्तिँदा मुगुमा खाद्य संकट निम्तिएको हो ।

चालु आर्थिक वर्षका लागि साउनमै स्वीकृत भएको खाद्यान्न कोटा ढुवानी नहुँदा ग्रामीण भेगका चारवटा खाद्य डिपो र दुई बिक्री केन्द्र साउनदेखि रित्तिएका हुन् । खाद्य व्यवस्था,व्यापार तथा कम्पनी लिमिटेडले टेन्डर स्वीकृत नगर्दा गोदामहरू रित्तिएको बताइएको छ ।

सम्बद्ध स्रोतका अनुसार गमगढीस्थित मुख्य खाद्य गोदाममा गत आर्थिक वर्षको करिब ४ सय क्विन्टल चामल मौज्दात रहेको छ । विशेष अवस्थाका लागि चाहिन सक्ने भन्दै सदरमुकामबाट पनि खाद्यान्न वितरण रोकिएको स्थानीयले बताएका छन् ।

गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको, खाद्य डिपोमा २५ केजी चामल १५ सय रुपैयाँमा पाइने भए पनि व्यापारीसँग २ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता भएको स्थानीय तथा जनप्रतिनिधिको भनाई छ ।

सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले दशैंमा पनि सरकारी अनुदानको चामल पाउन गाह्रो हुने बताउनुभएको छ । चालु आर्थिक वर्षको नयाँ टेन्डर प्रक्रिया ढिलो हुँदा गोदामहरू रित्तिएको हो । टेन्डरका फर्म काठमाडौं लिएर छानबिन गरी ठेक्का स्वीकृत गर्नुपर्ने भएकोले चामल ढुवानीमा ढिलाइ भएको खुलेको बताइन्छ ।

टिप्पणीहरू