भीडभाड बढ्दा कोरोनाका जोखिम कायमै

भीडभाड बढ्दा कोरोनाका जोखिम कायमै

-अनुशा थापा

कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआउँदै निषेधाज्ञा हटाईएपछि पुन: संक्रमणले विकराल रुप त लिने हो कि भन्ने त्रास फैलिएको छ । पछिल्लो समय प्राय:जसो स्थानहरुमा मानिसको भीडभाड अत्याधिक देखिन थालेको छ । तर,सम्बन्धित निकायले खासै चासो दिएको देखिदैन ।

उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातहरुमा यात्रुको चाप निकै नै बढेको छ । अफिस समयमा त खुट्टा टेक्ने ठाँउसम्म हुँदैन । दाउराको चाङजस्तो मिलाएर राखिएका यात्रुहरुको स्थिति एकदमै कहालीलाग्दो लाग्दो देखिन्छ । लाग्छ,नेपालमा कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा आइसक्यो, अब कुनै डर छैन ।

ढोकासम्म झुण्डिएर यात्रा गरिरहेका कतिले त मास्कसमेत लगाएका हुँदैनन् । केही यात्रुहरु आफू सतर्क नहुँदा अरुलाई पनि संक्रमण हुने सम्भावनाको बाटो खुल्ला गरिरहेका हुन्छन् । सवारीको ढोकामा स्यानिटाइजर र मुखमा अनिवार्य मास्क लगाउनुपर्ने नियमलाई सार्वजनिक यातायातका चालक र सहचालकले समेत पालना गरेको देखिदैन ।

सफा ट्याम्पुमा जम्मा नौ जनामात्र यात्रु राख्न पाउने भनेर यातायात व्यवस्था विभागले निर्णय गरेको छ । तर,१२ जनासम्म यात्रु राखेर यात्रा गराइरहेका हुन्छन् । त्यस्तै, सफा ट्याम्पुको दुईतिर बसेका यात्रुलाई छेक्ने गरी वीच भागमा प्लास्टिक राखिने भनेता पनि अधिकांशले त्यस्तो गरेका छैनन् ।

उपत्यकाका प्रमुख व्यापारिक स्थलहरुमा त झन बेलुकाको भीडलाई छिचोल्न हम्मेहम्मे पर्छ । बेलुकीपख रत्नपार्क,सुन्धारा, भृकुटीमण्डप,भक्तपुरको सूर्यविनायक जस्ता ठाँउहरुमा सर्वसाधारणको चाप त्यत्तिकै हुन्छ । मास्क पनि अरुलाई देखाउन र चिउँडो छोप्नको लागि लगाएको जस्तो देखिन्छ । दशैंका लागि किनमेल गर्न अहिलेदेखि नै उपत्यकाका प्रमुख स्थलहरुमा भीड लाग्न थालिसकेको छ । पसलैपिच्छे ग्राहकहरुको चाप पनि त्यत्तिकै छ । पसल सञ्चालन गर्ने व्यापारीहरुले पनि स्वास्थ्य मापदण्डको परिपालना गरेका छैनन् ।

यस्तोमा आमनागरिकलाई सचेत गराउनुका साथै आवश्यक पर्दा दण्डित गराउने जिम्मेवारी सरकारकै हो । कोरोनाको अर्को संक्रमण आउन नदिन सरकारले अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्छ । तर,आमनागरिक जस्तै सरकार पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउनेतर्फ खासै सक्रिय देखिएको छैन । जनस्वास्थ्यका जानकारहरूले संक्रमणको नयाँ भेरियन्ट आउने चेतावनी दिइसकेकाले पनि तयसविरुद्ध लड्न अहिलेदेखि नै सरकारको तयारी दुरुस्त हुनु आवश्यक छ ।

तर,काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दैनिक बजार अनुगमन गरिरहेको दाबी गर्नुभएको छ । उहाँले बिहान र दिउँसोभन्दा पनि रात्रिकालीन समयमा कडा रुपले अनुगमन गरिरहेको बताउनुभयो ।

गत वर्ष पनि निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमण ह्वात्तै बढेको थियो । बेलैमा सचेतता अपनाउन नसके यसपटक पनि पुरानै नियति भोग्नुपर्ने अवस्था देखिएको छ । चाडपर्व शुरु हुँदैछ,भीडभाड बढिरहेको छ । जसका कारण फेरि महामारी फैलिने खतरा छ । तसर्थ आफू बच्न र अरुलाई बचाउन पनि सचेतता अपनाउनुको विकल्प देखिदैन ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महामारी नियन्त्रणमा जनता स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो । मिडियासमेत उत्तिक्कै जिम्मेवार हुनुपर्ने भन्दै उहाँले सरकारले अनुगमन गरेपनि आम नागरिकले नटेरेका कारण समस्या आएको बताउनुभयो।

महानगरीय ट्राफिक महाशाखाले भने प्रहरीले सक्दो अनुगमन गरिरहेको जनाएको छ । प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राखेको सवारीलाई नियमित कारबाही गरिरहेको महाशाखाको भनाइ छ । प्रहरी मात्रैको प्रयासमा महामारी नियन्त्रणको प्रयास सफल नहुने भन्दै महाशाखाले सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

टिप्पणीहरू