पार्टी फुटेकोमा गाउँले कुट्ने यिनै हुन् वडा अध्यक्ष

पार्टी फुटेकोमा गाउँले कुट्ने यिनै हुन् वडा अध्यक्ष

धादिङ,नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्षले स्थानीय २ जनालाई कुटपिट गरेका छन् । वडा अध्यक्ष फन्द्रा तामाङसहितको समूहले शुक्रबार दिउँसो अब्जनाथ सापकोटा र इन्द्रप्रसाद घिमिरेमाथि कटपिट गरेको हो ।

कुटपिटपछि सापकोटा सख्त घाइते भएका छन् भने घिमिरे सामान्य छन् । सापकोटालाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारको लागि शनिबार काठमाण्डौ लगिएको छ । पुरानो पार्टी छोडेर नयाँ पार्टीमा लागेको भन्दै वडा अध्यक्षसहितको समूहले गालीगलौज गर्दै कुटपिट गरेको घाइते घिमिरेले बताएका छन् ।

सापकोटा नेकपा एमाले विभाजनपछि माधव नेपाल समूहले गठन गरेको नेकपा (एस) जिल्ला कमिटी धादिङका सदस्य हुन् भने घिमिरे नेकपा (एस) नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा कमिटी सदस्य हुन् ।

वडा अध्यक्ष तामाङ भने नेकपा एमालेमै छन् । तत्कालिन नेकपा एमालेबाट उनले अध्यक्ष जितेका थिए । शुक्रबार स्थानीय प्रेमप्रसाद लामिछानेको घरमा बसेर कुराकानी गरिरहेको अवस्थामा एक्कासी अपशब्द प्रयोग गर्दै कुटपिट गरेको नेकपा (एस) धादिङका सचिव सुवाष खतिवडाले बताए ।

घटनाको छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै नेकपा (एस) जिल्ला कमिटी धादिङले प्रेस वक्तव्य जारी गरेको छ । ‘नागरिक रक्षकको भूमिका निर्वाह गर्नुपर्ने जनप्रतिनिधि स्वयम् गुण्डागर्दी र आतंक सिर्जना गर्ने कार्यको नेतृत्व गर्दै हिंड्नु कानूनी राज्यको उपहास हो ।

यस घटनाले स्थानीयहरु समेत आतंकित बनेका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर अविलम्ब कानूनी कारबाहीको लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

‘हिजो शनिबार नेकपा (एस) को वडास्तरीय भेला थियो,उक्त भेला कुनै हालतमा हुन नदिन भन्दै वडा अध्यक्षसहितको एमाले टोलीले हामीमाथि कुटपिट गर्यो’ सापकोटाले भने, ‘भेलाको बारेमा छलफल भइरहेको बेला एक्कासी हामीमाथि आक्रमण हुन थाल्यो, धन्न छिमेकीले जोगाइदिए ।’

नेकपा एमाले विभाजन भएपछि सापकोटा नेकपा एकीकृत समाजवादीतिर लागेका हुन् । सापकोटाकै नेतृत्वमा शनिबार असोज २ गते एकीकृत समाजवादीले वडास्तरीय कार्यकर्ता भेला गर्न लागेको थियो ।भेला हुन नदिन र कार्यकर्ता तथा सर्वसाधारणमा त्रास फैलाउने उध्देश्यले नियोजित रुपमा आक्रमण भएको सापकोटाको आरोप छ ।

प्रत्यक्षदर्शीका अनुसार खाजा खाइरहेका बेला एकीकृत समाजवादीको भेला किन गर्न लागेको,यहाँ अरु कसैले कुनै कार्यक्रम गर्न पाउँदैन भन्दै वडाध्यक्ष तामाङसहितको समूहले सापकोटामाथि कुटपिट गरेको हो ।

शनिबार बिहान नेकपा एसका केन्द्रीय सदस्य गुरुप्रसाद बुर्लाकोटी, धादिङ जिल्ला सचिव सुवाष खतिवडालगायत नेताहरु घाइते सापकोटालाई भेट्न धादिङ अस्पताल पुगेका थिए ।

टिप्पणीहरू