१४ महिनापछि एमाले सत्तामा फर्किने एमाले अध्यक्षको दाबी

१४ महिनापछि एमाले सत्तामा फर्किने एमाले अध्यक्षको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले पुनः सत्तामा फर्किने दाबी गर्नुभएको छ । आज कार्की ब्याङ्क्वेटमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले १४ महिनापछि हुने निर्वाचनमा एमाले पुनः सत्तामा फर्किने दाबी गर्नुभएको हो ।

आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने ओलीको ठोकुवा छ । ‘१४ महिनामा चुनाव हुन्छ, त्यसको एक महिनापछि सरकार बन्छ । त्यतिबेला यिनीहरू बिलाएर जान्छन् । फ्रिजबाट निकालेका आइसका डल्ला जस्ता हुन् यिनीहरू । बाहिर राख्दिएपछि कहाँ बिलाउँछ पत्तै हुँदैन,’ सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले भन्नुभयो ।

सत्ता गठबन्धनको चर्को आलोचना गर्नुभएका ओलीले अहिलेको सरकार स्वाभाविक ढंगले गठन नभएको पनि बताउनुभयो । सरकार अन्यायपूर्ण र दमनकारी व्यवहारमा उत्रन थालेको आरोप लगाउँदै उहाँले कर्मचारीलाई पनि दुःख दिनसक्ने बताउनुभयो । तर, १४ महिनापछि आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले चिन्ता नगर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

यता, कर्मचारी संगठनको भेलालाई माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ । एकलौटी रुपमा भेला बोलाइएको भन्दै संगठनका पूर्वअध्यक्ष भोलानाथ पोखरेल, महासचिव रेवन्त गौतमलगायतले भेला बहिष्कार गरेका हुन् ।

एकपक्षीय रुपमा बोलाइएको भेलाले पोखरेलसहित ९ जनालाई आधिकारिक ट्रेड युनियनबाट फिर्ता बोलाउने निर्णय गरेको छ । त्यस्तै, संगठनको पदाधिकारी खारेज गरी आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय पनि भेलाले गरेको बताइएको छ ।

टिप्पणीहरू