प्रशंशाचाहिँ सबलाई प्यारो

‘चार महिनादेखि गाली गरेको ग¥यै छौं, तैपनि तपाईंहरूको कानमा बतास पस्दैन कि क्या हो ? लाज–शरम पनि लाग्दैन ।’ हातमा माइक पर्नेबित्तिकै रामनरेश यादव यसरी कुर्लिन थाले कि अध्यक्ष महन्थ ठाकुरलाई सह्य हुने कुरै भएन । दुई मिनेट पनि बोल्न पाएका थिएनन्, ‘आपका टाइम खतम हुआ’ भन्दै उर्दी जारी गरे । रामनरेश रोकिएनन्, धाराप्रवाह आक्रोश पोख्दै थिए, ‘यसरी पार्टी चल्दैन ।’

कुरा नसिद्धिँदै उनलाई मञ्चबाट खेदियो । त्यसपछि पालो आयो महासचिव मनीष सुमनको, उनी पनि उसैगरी पड्किए । चुनावमा जाने निर्णय आत्मघाती भएको भनी नेताको खोइरो खन्दै थिए, उनलाई पनि रामनरेशकै शैलीमा धपाइयो । दुई मिनेटबाट तीन मिनेट बढी बोल्न नपाएका उनी असन्तुष्टि मनमै राखेर बाहिरिए । बीचमा पालो आयो पूर्वमन्त्रीसमेत रहेका सहअध्यक्ष रामनारायण सिंहको । फूलबुट्टा र फुँदा गाँसी–गाँसी, झण्डै आधा घण्टा महन्थको जयजयकार गाए । आफैंले प्रश्न तेस्र्याए ‘अध्यक्षज्यू, मेरो समय खत्तम भयो कि बाँकी छ ?’

हलभरि हाँसो गुञ्जियो । महन्थले सकिएको छैन, बोल्नुहोस् भनेपछि थप १५ मिनेट पाए । सिंहकै शैली पछ्याउँदै जितेन्द्र सोनलले पनि महन्थको गुणगान गाए झण्डै आधा घण्टासम्म । यसरी आफ्नालाई घण्टौं बोल्न दिने तर अरूलाई तीन मिनेट नकट्दै ह्विप जारी गर्ने महन्थ आलोचनाको पात्र भएका हुन् । राजपाका १३१ पदाधिकारीमध्ये ९२ जना उपस्थित थिए । जसमध्ये ६० जनाले बोले । जसले नेतृत्वको प्रशंसा ग¥यो उसले घण्टांै बोल्न पायो, जो आलोचनामा उत्रिए उनीहरू मनीष र रामनरेशकै अवस्थाबाट गुज्रिएको रमाइलो देख्न पाइयो । त्यही कारण राजपा केन्द्रीय कार्यालय बबरमहलमा अस्ति ६ र ७ गते दुई दिनसम्म बैठक लम्बियो । त्यही बैठकले राजपा निर्वाचनमा भाग लिने निर्णय गरेको हो । उक्त निर्णयविरुद्ध अध्यक्ष अनिल झा र महासचिव सुमनले नोट अफ डिसेन्ट लेखेका छन् । तर,  कस्तो दहीच्यूरे भने त्यहाँ नोट अफ डिसेन्ट लेखेर हिँडेका उनी अहिले राजविराजबाट मेयरको दावेदार मैं हुँ भन्दै हिँड्न थालेका छन् । 

बैठकमा चुनाव चिह्नका कारण लफडा भएको बताइन्छ । राजपा कुन चुनाव चिह्न लिएर मैदानमा होमिने भन्ने विषयमा पेचिलो बहस भयो । हल गोरु, तीर, पञ्जा छाप हुँदै साइकलसम्मको कुरा चल्यो । पञ्जा छापलाई लिएर सरिता गिरीले सर्वाेच्चमा मुद्दा दायर गरी उपेन्द्रको पार्टीमा प्रवेश गरेका कारण त्यसैलाई चुनाव चिह्न बनाउने विषयमा केहीबेर बहस भयो । अनिल झाले आफ्नो हात छापलाई लिन जोड गरे । लफडाका बीच अन्तमा साइकल चिह्न रोजिएको छ । जुन शरत्सिंह भण्डारीको पार्टीको चिह्न हो ।

टिप्पणीहरू