के भनेर मन खुशी होला र कमरेड !

के भनेर मन खुशी होला र कमरेड !

वामपन्थीहरूको अत्यधिक बहुमतसहितको सरकार बन्नु सामान्य कुरा थिएन । राजनीतिक हिसाबले त यो गुरिल्ला युद्ध गरेर जितेको राज्यसत्ताभन्दा कम ऐतिहासिक थिएन । यस्तो ऐतिहासिक अवसरलाई नेकपा (नेकपा) ले देश र जनताको हितको पक्षमा त कुरै भएन स्वयं पार्टी हितको पक्षमा पनि सदुपयोग गर्न सकेन । भीमकाय नेकपा अहिले माके, एस र एमाले बन्न पुगेको छ । हुरी बतासस“ग जुधेर, पुलिस दमन, लाठी र गोली खाएर बनाएको, बनेको यो दल पैह्रो गएको पहाडजस्तो बन्न पुगेको छ । यस्तो अवस्था देख्दा मन खुशी हुने कुरै भएन, खुशी छैन मन ।

लिंगको आधारमा मर्द भन्ने दिन गए । मान्छे कर्मले बहादुर हुन्छ र कर्मले नै डरछेरुवा पनि । त्यो नै कमजोर हो जसले आफ्नो कमजोरीलाई छुपाउन, आफूले गरेको गल्तीलाई पनि ठीक गरेको छु भनेर देखाउन अरुलाई होच्याउने, अरुको निन्दा गर्ने र अरूलाई बेइमान देखाउन आफ्नो ल्याकतको दुरूपयोग गर्छ । राजनीतिक हिसाबले माधव नेपाललगायतले जे जे सवालमा असहमति राखेका थिए र अन्तरसंघर्ष गरिरहे ती ती सवालमा एसमा लागेका मानिस अहिले पनि असहमत नै छन् । उनीहरूले सुध्रिनको निम्ति निरन्तर अनुरोध गरिरहेका छन् । आफ्नो असहमतिको सम्बोधन भएमा समस्या नरहने कुरा पटक–पटक भनिरहेका छन् । उनीहरूको यो अडानलाई हेर्दा राजनीतिक रूपले इमानदार त माधव नेपाल पक्षधरहरू नै देखापरे ।

तर, यतापट्टिकाले त्यसखाले इमानदारी प्रदर्शन गर्न सकेको देखिन्न । यदि, आफू सही हो भने ती असहमत हुनेहरू गएकोमा किन रुनु? विभिन्न पद, अवसर प्रदान गरीगरी किन बोलाउनु? यति मात्र कहाँ हो र ? संसारकै सबैभन्दा लाज पचेको मान्छे अरे । राजालाई दाम चढाएको मान्छे अरे, प्रधानमन्त्री बन्न निवेदन हालेको मान्छे अरे, आदि आदि ।

यो त हदै भएन र? के एमालेको एकता माधव नेपाललाई खुइल्याएर हुन सक्ला ? एसवालाहरूलाई संसद्मा प्रवेश गर्न नदिने जिरह गरेर होला ? अध्यादेशलाई गाली गरेर होला ? सभामुखलाई मान्दैनौं भनेर होला ? बरु कमरेड किन गएको, नजानुस्, जे जे कमजोरी देख्नुभएको छ भन्नुस्, सुधारौं आउनुस् फर्केर, झन् ठूलो र सशक्त पार्टी निर्माण गरौं, देश र जनताको समृद्धिको निम्ति एक भएर काम गरौँ भन्लान् कि भनेको त गाँठे डरछेरुवाले जस्तो, कमचोरले जस्तो, कल्प्रिटले जस्तो विभिन्न फत्तुर लगाउँदै गरेको सुन्दा वाक्क दिक्क छ, फिटिक्कै खुशी छैन मन ।

आजको मुद्दा माधव नेपालहरू संसद्मा रहनुहुन्न भन्ने हुँदै होइन । मान्छेमाथि मान्छे चढेर संसदको गरिमाको धज्जी उडाउँदै सभामुख मूर्दावाद भन्ने, उनको राजीनामा माग्ने काम पनि जायज होइन । आफैँले तारतार गरेर छियाछिया बनाएको संसदमा फेरि प्रधानमन्त्री बन्ने सपना देखेर आफ्ना सांसदलाई ‘आसन’ को चीरहरण गर्न निर्देशन दिनु गम्भीर गल्ती थियो भन्ने कुरा त अबआइन्दा मर्यादामा रहेर विरोध गर्न संसदीय दलले निर्देश गरेको कुराले प्रमाणित नै गरेको छ, होइन र? यस्तो असंसदीय र अमर्यादित हर्कत गर्न उक्साउने गल्तीको जवाफ दिने कसले? जिम्मेवारी कसले लिने? महँगाइ बढेको, मान्छेको जागिर छैन ।

बिहान खाए बेलुका नखाने, बेलुका खाए बिहान नखाने अवस्थाबाट गुज्रिरहेका छन् जनता । एमसीसीजस्तो रणनीतिक हिसाबले समस्यामा पर्न सकिने मुद्दा छ । बाढीपहिरोले जनधनको ठूलो क्षति भएको छ । यस्ता ज्वलन्त मुद्दा उठाउनु त कता हो कता रिसले बिरालोले खाँबो चिथरेजस्तो वेलमा उत्रिएर अदालतमा विचाराधीन मुद्दा उठाई, आफू स्वयंले पनि मातृका यादवको केसलाई महिनौं अल्झाएर राखेको विषयलाई बिर्सिएर जगत हँसाएको देख्दा मन खुशी हुने कुरै भएन ।

मान्छेलाई दिग्भ्रमित पार्न सकिन्छ तर दिग्भ्रमले परिस्थितिलाई बदल्न सक्दैन । चोइटिएको हो, टुक्रिएको हो, १० प्रतिशत पनि गएका छैनन् जस्ता कुराको प्रचारले ग्राउण्ड रियालिटीमा फेरबदल आउनेवाला छैन । १० प्रतिशत त एसको निर्वाचित प्रतिनिधिको जोडघटाउ होला । बाँकी नब्बे प्रतिशतले प्राप्त गरेको भोट दश प्रतिशतबाहेकको, माकेको, पनि होइन र ? यस्तो गलत सूचना सम्प्रेषण गरेर कार्यकर्ता झुक्याउनु त ठीकै होला तर आगामी चुुनावमा त्यसले फूलमाला होइन धुलो चटाउँदा होस् खुल्ने छ । अल्लि अघिल्लो चुनावमा घनश्याम कमरेड छेयासी भोटले पराजित हुनुभएको थियो ।

अब यो दश प्रतिशत पनि घटाउने हो भने कति भोटको हार वा जित होला ? यो देशभरिकै अवस्था हो । त्यसकारण असहमति, विवाद वा झगडालाई बढाउनेतिर होइन कि समाधान गर्नेतर्फ लैजानु बुद्धिमानी ठहर्छ । आजको विवादको समाधान भने पनि, फेरि मिल्ने कुरा भने पनि वा एकतामा फर्किने, जेसुकै भने पनि मुख्य कुरा इमानदारीपूर्वक ज्येष्ठ दुईमा फर्किने कुराको सुनिश्चितता नै हो । यस्तो नभइरहेको देख्दा खुशी हुने कुरै भएन, खुशी छैन मन ।

अन्त्यमा, हुन त जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास भन्छन् राजनीतिक लडाइँ लड्नेहरूले । हाम्रो तहमा त ठीकै छौं । हाम्रो बासको ठेगान लागेकै छ । समस्या त्यतै माथितिरै छ र बासको ठेगान नभएको पनि माथिकाकै हो । माथि मिलेछन् भने फेरि पनि उही जोशका साथ दरिलो मुठ्ठी उठाउन कुनै संकोच लाग्ने छैन हामीलाई र मिल्न नसकेर कित्ता छुट्टाउन बाध्य पारेछन् भने पनि नयाँ जोशका साथ आफ्नो ठाउँबाट उत्तिकै मजबुतिका साथ कसिलो मुठ्ठी उठाइने नै छ, चेतना भया !

टिप्पणीहरू