कमजोरी र प्रशंशाका यस्ता कुरा « Jana Aastha News Online
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022

कमजोरी र प्रशंशाका यस्ता कुरा

प्रकाशित मिति :  १५ भाद्र २०७४, बिहीबार ११:४०


  • सुशील पन्त

पहिलो पटक प्रधानमन्त्री बनेका बेला सन् १९९७ मा शेरबहादुर देउवा बेलायत हुँदै राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन रोम गएका थिए । काठमाडौंमा यसरी प्रचारबाजी गरियो कि जंगबहादुरपछि देउवा राजकीय भ्रमणमा जाँदै छन् । आफ्नो मुलुकको बाटो हुँदै नेपालका प्रधानमन्त्री रोम जान लाग्दा बेलायतले ‘गेष्ट अफ गभर्मेन्ट भिजिट’को रूपमा स्वागत ग¥यो । एउटा सामान्य भ्रमणलाई ‘स्टेट भिजिट’ भनेर प्रचार गरिए पनि तत्कालीन बेलायती राजदूतले परराष्ट्र अधिकारीलाई ‘स्टेट भिजिट’ ‘अफिसियल भिजिट’ र ‘गेष्ट अफ गभर्मेण्ट भिजिट’को भिन्नता बुझ्न र जानकारी राख्न कूटनीतिक भाषामा सुझाव दिएका थिए । 

देउवा यसपटक भारत पुग्ने बेला दिल्ली दूतावासका अधिकारी तनावमा थिए । कारण हो– स्वागतका लागि राज्यमन्त्री पठाउने चर्चा । विमानस्थलमा राज्यमन्त्री भिके सिंह आउने कुरा थियो । तर, अन्तिममा विदेशमन्त्री सुष्मा स्वराज नै आइन् । नेपालका प्रधानमन्त्रीलाई कसले स्वागत ग¥यो भन्ने कुराले पनि धेरै अर्थ राख्न थालेको छ । विमानस्थलमा गरिने स्वागतले ठूलो अर्थ नराख्नुपर्ने हो तर पछिल्ला वर्ष नेपाल आउने भारतीय विशिष्ट पाहुनालाई समकक्षीले नै स्वागत गर्ने प्रचलनका कारण नागरिक तहमा ‘रेसिप्रोकेट’को कुरा उठ्न थालेको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा राष्ट्रपति विद्या भण्डारी गइन् तर भण्डारीको स्वागतका लागि भारतले कनिष्ठ राज्यमन्त्री पठायो । 
सुष्मा नै आएपछि एकथरीले भ्रमण सफल भएको विश्लेषण गर्न थाले । दिल्ली पुग्नासाथ समकक्षी नरेन्द्र मोदीले बुधबार नै ‘वार्म अप’का लागि ‘सरप्राइज’ निम्तो दिए । कूटनीतिक परम्पराअनुसार ‘राजकीय भ्रमण’मा पूर्वनिर्धारित कार्यतालिकाविपरीतका यस्ता भेटघाटलाई बेग्लै अर्थमा लिने गरिन्छ । यसबाट पनि ‘भ्रमण सफल’ भएको ठहरियो । मोदीसँग भेटको समय अकस्मात तय भएपछि देउवा दूतावासमा आयोजित कार्यक्रम छोट्ट्याएर गए । प्रवासी नेपालीको ज्ञापनपत्र बुझ्न सोफामा बसिरहेका उनी सबैलाई कुराएर दूतावासको पहिलो तलामा गए र मन्त्रीहरूलाई बोलाएका थिए । त्यसपछि मोदीको भेटमा के कुरा भयो, नेपाली पक्षले केही बताएको छैन । 

प्रधानमन्त्री स्वदेश फर्केपछि भ्रमण सफल कि असफल भन्ने गरमागरम बहस छ । कतिपयले तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालापछिको सफल भ्रमण दाबी गर्न पछि परेका छैनन् । ०६२÷६३ को जनआन्दोलनलगत्तै दिल्ली गएका कोइरालालाई स्वागत गर्न प्रधानमन्त्री मनमोहन सिंह स्वयं गएका थिए । सोमबार संसद् बैठकलाई संबोधन गर्दै देउवाले आफ्नो भ्रमण सफल र फलदायी भएको दाबी गरेका छन् । कुन अर्थमा सफल भयो भन्ने आधार कसैले खुलाएका छैनन् । मोदीसँग आकस्मिक भेटबाहेकको स्वागत दिल्लीमा यसअघिका प्रधानमन्त्रीहरूले पनि पाएकै छन् ।

भारतसँग ‘चिसो’ सम्बन्ध रहेको भनिएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि राष्ट्रपति भवनमै बसेका थिए । देउवालाई जस्तै यी दुवैलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । ओली र प्रचण्डभन्दा देउवालाई अतिरिक्त स्वागत के भयो र भारतले महत्व दियो भनेर विश्लेषण गर्ने ? खासमा देउवाको भ्रमण एउटा सनातनी कर्मकाण्ड थियो, नेपालमा प्रधानमन्त्री निर्वाचित भएपछि हिन्दुस्तान जाने सिलसिलाको निरन्तरता । प्रधानमन्त्रीको भ्रमणबाट नेपालले न केही उपलब्धि हासिल गरेको छ, न त अपेक्षा गरिएको थियो । भ्रमण क्रममा भएका सहमति कुनै नौलो बिषय होइनन् । पञ्चेश्वर कार्यान्वयन दुई दशकदेखि उठ्दै आएको विषय हो, तैपनि यो कार्यान्वयन हँुदैन ।

देउवाको भारत भ्रमणबाट उल्लेख्य उपलब्धि केही भएको छैन, बरु नचाहिँदो विवाद जन्मिएको छ, संविधान संशोधनबारे उनले दिएको अतिरिक्त आश्वासनका कारण । यो जगजाहेर थियो कि अंकगणितले संशोधन विधेयक पारित नहुने जान्दाजान्दै भारत जानु अघिल्लो दिन किन निर्णयार्थ पेस गरियो ? महिनांैसम्म अड्किएको विधेयक हतारमा पेश गर्नुपर्ने बाध्यता के हो ? संशोधन पारित गर्न नसकिएको र भोलिको दिनमा गर्ने कुरा अनौपचारिक र दुईपक्षीय वार्तामा हुनुपथ्र्यो । मोदीले आफ्नो संबोधनमा ‘सबैलाई समेट्न’ भने पनि संविधान संशोधनको प्रसंग उच्चारण गरेका थिएनन् । समकक्षीले नउप्काएको विषयमा देउवाले लिखित मन्तव्यबीच त्यो कुरा घुसाउने कारण के थियो ? अर्थ लाउनेहरूले वाचा पूरा गर्न नसकेर अर्को भाका दिएकोसम्म टिप्पणी गरेका छन् । कामचलाउ हैसियतको संसद्ले चुनेको प्रधानमन्त्रीले भविष्यमा बन्ने संसद्बाट संशोधन पारित गराउँछु भन्नु कति जायज होला ? 

आफ्नो भ्रमण सफल भयो भनेर नेपालका प्रधानमन्त्रीले दाबी गर्नु र ‘नेपाल–भारत सम्बन्ध हिमालय पर्वतजस्तो पुरानो’ भनेर मोदीले बोल्नु उस्तै–उस्तै हुन् । भारतले आफूलाई महत्व दिएको देउवाले स्वदेश फर्केर दाबी गरे तर भारतीय मिडियासँग बोलेनन् । सामान्यतया उता जाने प्रधानमन्त्रीले भ्रमणको अन्त्यतिर पत्रकार सम्मेलन गर्छन्, ओली र प्रचण्डले गरेका थिए, देउवाले गरेनन् । दुई प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे नेपालका परराष्ट्रमन्त्रीले आफ्ना पत्रकारलाई जानकारी गराउनुपर्ने हो, उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि त्यो जरुरी ठानेनन् ।

प्रचण्ड र देउवाको भ्रमण क्रममा एउटा संयोग, हिन्दी भाषामा प्रकाशित हुने दैनिक जागरणको समाचारको शीर्षक मिल्दो छ–‘नेपालमें नहीं गलेगी चीन कि दाल’ । भारतीयको दाँतमा ढुंगा लागे पनि देउवाले चीनबारे बोलेको कुराको प्रशंसा गर्नुपर्छ । नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजभन्दा एक घण्टापहिले भाजपा नेता राममाधव अध्यक्ष रहेको इण्डिया फाउण्डेसनको कार्यक्रममा उनले चीनले नेपालको सार्वभौमसत्ताको सधँै सम्मान गरेको बताएका थिए । जुन वास्तविकतालाई भारतीयले सहज रूपमा ग्रहण गर्न सकेनन् । देउवाको सो अभिव्यक्ति एक घण्टापछि नेपाली दूतावासले ताजमानसिंह होटलमा आयोजना गरेको रात्रिभोजमा समेत चर्चाको विषय बनेको थियो । 


प्रतिक्रिया दिनुहोस !