दशैंको टिकट असोज १० गतेबाट, २८% भाडा बढाउने तयारी

दशैंको टिकट असोज १० गतेबाट, २८% भाडा बढाउने तयारी

दशैं मनाउन राजधानीबाट बाहिरी जिल्ला जानेहरुका लागि असोज १० गतेदेखि अग्रिम टिकट खुल्ला गरिने भएको छ । हरेक वर्ष दशैं मनाउन २७ लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिर जाने गरेको अनुमान छ ।

यातायात व्यवस्था विभाग,ट्राफिक महाशाखा र यातायात व्यवसायीबीच भएको बैठकले दशैं मनाउन उपत्यका छाड्नेहरुको लागि अग्रिम टिकट खोल्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट खोल्न यसअघि नै प्रस्ताव राखेको थियो । तर यातायात व्यवसायीका विभिन्न मागको कारण विभागले कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

हरेक वर्ष दशैं मनाउन २७ लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिर जाने गरेको अनुमान छ ।

अस्ति बसेको संयुक्त बैठकले बल्ल दशैंमा घर जाने सर्वसाधारणलाई सहज गराउन उक्त प्रस्ताव अघि सारेको छ । प्रदेशभित्र चल्ने सवारी साधनको भाडा बढाउन सरकारले ढिलाइ गरिरहेको बताइन्छ । ‘भाडा नबढेसम्म हामीले बुकिङ खुल्ला नगर्ने अडान लिएका थियौं,’ यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले भन्नुभयो । तर यात्रुहरूको सहजतालाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको उल्लेख गर्नुभयो ।

कोरोनाको जोखिमलाई ध्यानमा राखेर सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर मात्र गाडी चलाउने प्रतिबद्धता उहाँले जनाउनुभयो । तर दशैँमा २८ प्रतिशत बढी भाडा लिन पाउनु पर्ने माग आफूहरूले राखेको पनि उहाँले बताउनुभयो ।

सुपर डिलक्स र डिलक्स गाडीले मात्र यात्रु ओसार्न नभ्याउने भएकाले विभिन्न रुटमा चल्ने सबै खालका गाडीहरुलाई समेत यात्रु ओसार्नको लागि प्रयोग गरिने उहाँको कथन छ ।

यातायात व्यवसायीले हरेक वर्ष दशैंको मुखमा भाडाको विषय उठाएर विवाद झिक्ने गरेका छन् । जसको प्रत्यक्ष असर सर्वसाधारणलाई पर्नु स्वभाविकै हो । यो वर्ष पनि विगतमा भैँ भाडाको विषयमा यातायात व्यवसायीहरु सकारात्मक देखिएका छैनन् ।

टिप्पणीहरू