पर्खाल लड्यो, सेनापति सोझै डेरातिर

पर्खाल लड्यो, सेनापति सोझै डेरातिर

कसले पत्याउँछ, प्रधानसेनापति भएर जागिर सिध्याएको जर्नेलको घर तयार भइसकेको छैन ! त्यसैले उनी २० गतेदेखि नै शशिभवनबाट डेरा सरे ! तर, सत्य यही हो ।

भर्खरै अवकास पाएका प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले पानी पोखरीस्थित जापानी दूतावास छेउको अपार्टमेन्टमा सरेका छन् । बुबा बस्ने घर छ, लैनचौरको खोँचमा । त्यो घर बुबाकै स्वामित्वको हो, जहाँ छोरा प्रधानसेनापति हुँदा पनि शशिभवन नगएर त्यहीँ बसे ।

पूर्णचन्द्रका बुबा फणेन्द्रबहादुर थापा रिटायर्ड कर्णेल हुन् । चाहँदा पूर्णचन्द्र बुबा, आमा बस्ने घरमा जान त सक्थे, तर खोँचमा रहेको उक्त घरमा गाडी छिर्दैन । २४ गतेदेखि अवकाशप्राप्त प्रधानसेनापतिका लागि सेनाले दिने सुरक्षा टुकडी पनि साथै राख्नुपर्छ ।

त्यसो त अवकाशअघि नै ५ रोपनी जमिनमा बनाउन थालिएको बूढानीलकण्ठस्थित घर केही समयपछि बस्नका लागि तयार हुन्छ । अवकाशभन्दा केही समयअघिबाट कोभिडले थलिएकी पत्नी अझै बिरामी हुनुका कारण निर्माणाधीन घर अलपत्र परेको छ । त्यसमाथि बन्दाबन्दैको पर्खाल ढलेर अर्को सास्ती । सम्भवतः उक्त घर तयार पार्न उनी आफैँ जुट्ने छन् र चाँडै त्यहाँ सर्ने छन् ।

अर्कातिर, भर्खरै प्रधानसेनापति नियुक्त प्रभुराम शर्माले आफ्नो स्टाफ टिममा खासै फेरबदल गरेका छैनन् । प्रायः आफ्नो मातृपल्टनबाट स्टाफ लिने चलन छ । उनको मातृपल्टन पुरानो गोरखदल हो । त्यो युनिट अहिले हेटौंडामा छ । सोमबार त्यहाँ गएका उनले शायद त्यही पल्टनबाट केही स्टाफ साथमा ल्याउनेछन् ।

टिप्पणीहरू