​दशा लागेपछि अनेकन दुःख

लालपुर्जा हातमा छ, जग्गाचाहिँ थाहा–पत्तोबिनै रोक्का ! यस्तो तनाव झेलिरहेका छन्, राप्रपा नेता पशुपतिसमशेर राणा । एकातिर छोरीको घरबार टुटेको, अर्कातिर पार्टी फुटेको । अनि, त्यही बेला बहिनीको नाममा राखेको जग्गा अर्काले हडप्न खोजेको ! आराम गर्ने उमेरका यी नातिजर्नेल हिजोआज यही झमेलाले हायलकायल छन् । 

महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि मूलसडकसँगै रहेको उनीसहित पत्नी उषाराजे राणा, देवयानीसहित दुई छोरी र अविवाहित बहिनी जमुनाको नाममा रहेको १८ रोपनी जग्गाको झमेला हो यो । आफ्नो निवासलाई ‘विजयबास’ नाम दिएका उनले हाल बैंग्लोरमा रहँदै आएकी साईभक्त बहिनीको नाममा पाँच रोपनी छुट्टयाइदिएका थिए । त्यसैमा पूर्वगभर्नर हिमालयसमशेर राणाका छोरा अमरले दलाल उचालेर कीर्ते धन्दा चलाएको बताइन्छ । त्यस क्षेत्रमा आनाकै डेढकरोड मूल्य पर्छ, जग्गाको भाउ । तर, अमरले पोहोर जेठ १ गते ८० लाख रोपनीको दरले बहिनीको जग्गा हात पार्ने करारनामा बनाएका रहेछन्, त्यो पनि १५ दिनभित्र पास गर्ने गरी । बेलामा ‘जग्गा हात नलागेपछि’ उनै अमरले भाका नाघ्यो भन्दै १७ औँ दिन आफैँ ल्याप्चे लगाएर जग्गा पाइएन, पैसा फिर्ता पाऊँ भनी जिल्ला अदालतमा मुद्दा हालेका छन् । एकातिर पशुपतिसमशेर, अर्कातिर हिमालयसमशेर !

न्यायालय प्रमाण संकलन गरेर बसेको छ । तर,  फैसला सुनाउन सकिरहेको छैन । अन्तिम राणा प्रधानमन्त्री मोहनसमशेरका दुई छोरा थिए, शारदा र विजयसमशेर । जेठोपट्टीका दीपक मापसे लागेर उहिल्यै बिते । उनका छोरा मिक्की मोटु भनिने दिव्यसमशेरलाई टुहुरो भनी कर्ण सिंहले दिल्ली लगेर पढाए, बढाए । त्यहीँबाट तिब्बतीमूलकी युवती टिपेर हिँडेका उनी हाल नैनिताल क्षेत्रमा मःम पसल चलाउँदैछन् । उनले पनि पशुपतिसमशेरसँग चार–पाँच वर्ष मुद्दा लडे । अन्त्यमा केही रकम फुत्काएर ०५५ सालमा मिलापत्र गरे । जसमा ०१६ सालमै विजयसमशेरतर्फका सन्तान पशुपतिसमशेरबाट बुबा दीपकले अंश लिइसकेको भन्ने कागज बनाइएको थियो ।

अहिले उनैबाट मुद्दा हाल्ने, केही पैसा झार्ने कलाको सिको गर्दै क्षेत्रपाटी बस्ने प्रदीपविक्रम राणाहरुसँग मिलेर अमरले किचलो झिकेको आरोप छ । पूर्वअधिराजकुमार धीरेन्द्रको निजी निवास जीवनकुञ्जसँग जोडिएको पाँच रोपनी जग्गा रोक्का राखेर अमर राणाले पैसामा मोलमोलाई गरिरहेको बताइन्छ । यही प्रकरणमा संलग्न प्रदीपविक्रम पहिला कांग्रेस कार्यकर्ता, पछि राप्रपामा लागेर ७ नं. को क्षेत्रीय अध्यक्ष हुँदै कमल थापाविरुद्ध भिडेर दुई सय ५१ मत ल्याउने पात्र हुन् । अघिल्लोचोटि प्रचण्ड सरकारको पालामा जग्गामा हदबन्दी लागेपछि पशुपतिसमशेरले आफू बसेको घरजग्गालाई त्रि–मोहन हाउजिङका नाममा दर्ता गराएका थिए । 

टिप्पणीहरू