आइजिपी नियुक्ति प्रकरणमा नयाँ आयाम

कानुनको लिखतमै त्रुटी भएपछि त्यसैमा भोटो फटाएका न्यायाधीशहरुलाई उच्च पदका आकांक्षीले ¥याख¥याख्ती पार्ने नै भए । 
प्रसंग, नामै नकिटी नवराज सिल्वाललाई आइजिपी बनाउन र आफूलाई सरकारले दिएको नियुक्तिपत्र रद्द गराउन पाँचजना न्यायाधीशद्वारा दिइएको आदेशविरुद्ध हालका उपत्यका प्रहरी प्रमुख जयबहादुर चन्दले दिएको निवेदनको हो ।

न्याय प्रशासन ऐन, २०७३ को दफा ११ (३) ले पूर्ण इजलाशबाट भएको अन्तिम आदेशउपर पुनरावलोकन नलाग्ने व्यवस्था गरेता पनि संविधानको धारा १३३ (४) मा भने यस्तो व्यवस्था रहेको आधार÷कारण देखाउँदै जयबहादुर भदौ पहिलो साता सर्वोच्च पुगेका थिए । शुरुमा अदालत प्रशासनले पूर्ण इजलासको फैसलाविरुद्ध कुनै सुनुवाई नहुने भन्दै निवेदन दरपिठ गरेता पनि पछि पुरुषोत्तम भण्डारीको एकल इजलासले दरपीठ गर्नुको सम्पूर्ण व्यहोरा खुलाएर कैफियत प्रतिवेदन पेश गर्न ७ गते मुख्य रजिष्ट्रारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चमा ५ देखि १७ जनासम्म न्यायाधीशको इजलास बस्ने गरेको इतिहाससमेत पाइन्छ ।

यसआधारमा हेर्दा कुनलाई पूर्ण इजलास मान्ने भन्ने विवाद पनि आफ्नो ठाउँमा छ । पहिले यस प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवालाई मात्र विपक्षी बनाइएको, पछि नवराजको तर्फबाट जयबहादुरलाई समेत त्यसमा जोडेर पूरक निवेदन दर्ता गरिएको थियो । मुद्दा दर्ता नभई र पेसी नै नतोकिई ठाडै अन्तरिम आदेश जारी भएको आइजिपी नियुक्तिसम्बन्धी यो आफैँमा रोचक मुद्दा हो । अनि, अन्तरिम आदेश दिनेले नै छोटो समयमा अन्तिम फैसला सुनाएको र सरकारी वकिलहरुले बहिष्कार गरेको मुद्दा पनि हो यो ।

यसैबीच, केही पूर्वप्रहरी प्रमुख भ्रष्टाचार काण्ड लागेर जेल गएता पनि मोतिलाल बोहोरालगायत केहीले यही महिना सफाई पाउने सम्भावना देखिएको छ । भक्तपुरस्थित सैनिक स्वामित्वको तीन रोपनी जग्गामा नगरपालिकाले राखेको बारुणयन्त्र (दमकल) सम्बन्धी लिज सम्झौता ३० वर्षको लागि नवीकरण हुन लागेको छ । पाँच वर्षमात्र थप्ने प्रस्ताव थियो । तर, त्यति छोटो अवधि त भवन बनाउनै व्यतित हुने तर्क आएपछि ६ गुणा समय थपिएको हो । 

त्यस्तै, बालाजुस्थित नं. १ बाहिनीलाई खोलाले कटान गर्न लागेको हुँदा सोको व्यवस्थापनमा समस्या आइलागेको छ भने राष्ट्रपतिका सुरक्षा प्रमुख राजेन्द्र कार्कीलाई दुई तारे जर्नेलमा बढुवा दिएर बुटवलको जोगीकुटीमा खडा हुन लागेको नयाँ पृतना तोकिएको छ । लगनखेल घर भएका छिमेकी शैलेन्द्रसमशेर थापा नं. २२ बाहिनीपतिको रुपमा जाँदै छन् । यसरी, घरका छिमेकीहरु अड्डासमेत आमने सामने पाउने भाग्यमानीमा परेका छन् । बुटवलस्थित उक्त बाहिनीमा यसअघि भैरवनाथ गणबाट ४७ जना माओवादी बन्दीलाई बेपत्ता बनाउने राजु बस्नेत प्रमुखको हैसियतले कार्यरत थिए ।

नयाँ बनेको भिमानस्थित पृतनामा ईश्वर हमालले मोर्चा सम्हालेका छन् । नयाँ सांगठानिक संरचना र समायोजनसँगै मेजर जनरलको एक नम्बर रोलक्रममा शशी सिंह, दुई नम्बरमा सैनिक प्रवक्ता झंकरबहादुर कडायत र तीन नम्बरमा काजी खत्रीले एक वर्षअगाडि नै पदोन्नतिको अवसर पाउँदैछन् ।

टिप्पणीहरू