सभामुखविनाको संसद चल्न कति सम्भव ?
मुलुक बजेट होलिडेमा गएर सार्वजनिक खर्च रोकिएपछि सरकार चर्को दबाबमा परेको छ । असोज ४ गतेको संसद बैठकबाट पनि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित नभए अरु केही दिन होइन,केही साता यसैगरी मुलुक आर्थिक संकटमा फस्ने सम्भावना बढेको हो ।
त्यहि संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ निकटस्थहरुले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन लबिङ थालेको बुझिन आएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार पछिल्लो समय सरकारले विभिन्न माध्यमबाट ओलीनिकट नेताहरुसँगको कुराकानीलाई व्यापक बनाउन थालेको छ । उनीहरुका अनुसार सरकारको तर्फबाट संसदको अवरोध खोल्ने सम्बन्धमा विभिन्न कोणबाट छलफलका प्रस्ताव आउन थालेको छ । भेटमा सहभागी एमाले नेताहरु भन्छन्,‘माओवादी नेताहरुभन्दा काँङग्रेसीहरु संसदको गतिरोध खुलाउन अलि धेरै लागि परेका छन् ।”
बालकोट निकट स्रोतले काङग्रेसका कतिपयले एमालेले संसद बहिष्कार गरेर बसिदिने हो भने बजेट पारितपछि सभामुखलगायतका विषयमा छलफल गर्नेसम्मको आशयको प्रस्ताव आएको बतायो । त्यसबारे एमालेले खासै प्रतिक्रिया जनाएको छैन ।
प्रधानमन्त्री देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुनः हिजो पनि ओली निवास पठाउनुभएको थियो । मन्त्री कार्कीले भेटमा संसद अवरोधको निकासबारे केही उपाय प्रस्ताव गरेको बताइन्छ । उक्त प्रस्ताव अध्यक्ष ओली र एकाध शीर्ष नेताबाहेक अरुलाई जानकारी नदिइएको पनि स्रोतले उल्लेख गरेको छ ।
स्रोत भन्छ,‘हिजो सरकारले राखेको प्रस्तावमा ओली लचिलो हुन सक्ने सम्भावना छ ।’ तर प्रस्ताव हालसम्म सार्वजनिक गरिएको छैन । प्रत्युत्तरमा ओलीले कार्कीलाई उक्त प्रस्तावमाथि छलफल गर्न सबैभन्दा पहिले सरकारमा सहभागी दलहरुबीच एक मत हुनुपर्ने जवाफ फर्काउनुभएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार मन्त्री कार्कीले ओलीसमक्ष सभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालन गर्न सकिने वा नसकिने भन्नेबारे संकेत गरेका थिए,तर अध्यक्षले कुनै संकेत दिनुभएन ।
यसैबीच हिजो बालकोट पुगेको संसद गतिरोध फुकाउने सरकारी प्रस्तावमाथि एमाले र नेपाली काँग्रेसनिकट कानुन व्यवसायीहरुसँग तिनका सीमित नेताले छलफलसमेत गरेको भन्न थालिएको छ । उक्त प्रस्तावमाथि सत्ता साझेदार माओवादी केन्द्रले असहमति राख्ने बुझिएकाले काँग्रेसको पहलमा संसद गतिरोध फुकाउन बालकोटसँग प्रधानमन्त्री एक्लैले पहल गर्नुभएको हुनसक्ने आँकलन गरिएको छ ।
टिप्पणीहरू