​एक्लै भेट्दा पनि जुन कुरा आएन

भूटान र चीनको सीमाक्षेत्र दोक्लमबाट सेना फिर्ता गरी हाम्रा दुवै छिमेकीले दुई महिनादेखि तिक्त सम्बन्ध तत्कालको निम्ति व्यवस्थापन गरेका छन् । तर, नेपालको एउटा द्विदेशीय र अर्को त्रिदेशीय मामिला दिनप्रतिदिन जटिल बन्दै जाँदा पनि व्यवस्थापन गर्नेतर्फ कसैको चासो देखिँदैन । 

प्रधानमन्त्रीको भारत भ्रमणमा लिपुलेकको विवाद उठ्नुपर्ने हो, उठेन । चीनसँगको विवाद भर्खरै सल्टाएको भारतले नेपालको पीडाको रुपमा रहेको लिपुलेक मामिलामा कुनै प्रयत्न गरेन । न त हाम्रा प्रधानमन्त्रीले नै राष्ट्रिय संवेदनशीलता देखाए । बरु, यसबारे दिवंगत प्रम सुशील कोइरालाले निक्कै चासोका साथ प्रयत्न गरेको तथ्य फेला परेको छ ।

सुशीलले त्यसबारेमा छलफल गर्न तत्कालिन अर्थमन्त्री डा.रामशरण महतलाई नाकाबन्दी लाग्नुअघि दिल्ली पठाएका रहेछन् । देश भूकम्पले थिलथिलो भएको समय थियो । विदेशी सहयोग जुटाउन एउटा सम्मेलन आयोजना गर्ने, त्यसनिम्ति नरेन्द्र मोदीलाई पनि बोलाउने गरी महत भारत पठाइएका हुन् । त्यही मेसोमा लिपुलेकको कुरा पनि उठाउने निर्देशन थियो । त्यसो त यस्तो कुरा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित हो । अर्थमन्त्री रहेका रामशरण के गरी प्रस्तुत हुने भन्ने अन्योलमा थिए । दिल्ली पुगेपछि अहिलेको संविधानका घोर विरोधी, विदेश सचिव एस. जयशंकर उनलाई भेट्न होटल पुगे । महतले अरु कर्मचारीलाई बाहिर पठाएर आफ्ना राजदूत दीपककुमार उपाध्याय र भारतीय सचिवका पिएमात्र राखी कुरा शुरु गरे । ‘हामी मित्र हौँ, तपाइँहरुले बंगलादेशसँगको सिमाना विवाद सल्टाउनुभयो ।

त्यसैगरी लिपुलेकको लफडा पनि टुंग्याउनुप¥यो । तपाईं र हामीबीच सुस्ता र लिपुलेक गरी दुईटामा मात्र ठूला सीमा समस्या छन् । सुुस्ता दुई देशीय हो भने लिपुलेक त्रिदेशीय ।’ यो कुरा सुनेर जयशंकरको अनुहार रातोपिरो भयो । नेपाली राजदूततिर फर्किएर सोधे, ‘नेपाललाई पुनःनिर्माणमा सहयोग चाहिएको हो कि, लिपुलेकको लफडामा फस्नु परेको हो ?’ रामशरणले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यूको सन्देश यही हो । हामी तपाईंहरुलाई घनिष्ट मित्र भन्छौँ । मित्रले आफ्नो कुरा प्रष्टसँग राख्दैनौँ÷सुन्दैनौं भने त्यो दोस्तीको के अर्थ ? लिम्पियाधुरा त धेरै परको कुरा भयो । हामी अलिक वर लिपुलेककै कुरा गर्दैैछौँ ।’ 

यस्तो कुरा भएपछि त्यही साँझको निम्ति तय भएको महतको प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रद्द गरियो । भएको के रहेछ भने, दिउँसो प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई फोनमा लिपुलेकको कुरा भनिसकेका थिए । साँझको भेट किन रद्द भयो भनेर सोधखोज गर्दा खबर आयो, ‘दिउँसो तपाईंको प्रधानमन्त्री र हाम्रो प्रधानमन्त्रीबीच यही विषयमा कुरा भइसक्यो । त्यही कुरा गर्न किन भेट गरिरहनुप¥यो र ?’ यसपछि रिसाउने पालो रामशरणको आयो । उनले ‘म भोलि बिहानै फर्किन्छु’ भन्न थाले । टिकट मिलाउनतिर लागे । महत रिसाए भन्ने थाहा पाएर भोलिपल्ट दिउँसो १ बजेलाई भेटघाट तय भयो भनी दीपकुमारलाई भारतीय अधिकारीले खबर गरे । मोदीलाई नेपाल भ्रमणमा बोलाउँदा ‘म व्यस्त छु, सिनियर मन्त्री पठाउँछु’ भनेका थिए । सोहीअनुसार विदेशमन्त्री सुष्मा स्वराज आइन् । 

टिप्पणीहरू