‘ब्वाइफ्रेण्ड बर्थ डे पार्टीमा नआएकाले आत्महत्याको प्रयास गरेँ’

‘ब्वाइफ्रेण्ड बर्थ डे पार्टीमा नआएकाले आत्महत्याको प्रयास गरेँ’

नेपाल प्रहरीका नायब महानिरीक्षक उत्तमराज सुवेदीले आपराधिक घटनाका प्रकृति र प्रवृत्ति दुबैमा परिवर्तन आएको बताउनुभएको छ । आज जनआस्थासँग कुराकानी गर्दै उहाँले समयानुसार प्रायः घटनाको प्रकृति र प्रवृत्ति दुवैमा परिवर्तन भएको बताउनुभएको हो ।

उहाँ हालै संखुवासभामा भएको कहालीलाग्दो नरसंहारको उदाहरण दिँदै हुनुहुन्थ्यो । समाजमा आपराधिक घटना बढ्दो क्रममा रहेको र यसमा पेशेवर अपराधी संलग्न नरहने तर,पीडितको नजिकका मान्छे मुछिने गरेको नौलो प्रवृत्तितर्फ उहाँले इंगित गर्नुभएको हो ।

केही दिनअघि उहाँले दिनुभएको आत्महत्यानिम्ति प्रयासरत एक युवतीको उदाहरण सामाजिक सञ्जालमा भाइरल भएको छ । सोही विषयलाई लिएर जनआस्थाले राखेको जिज्ञासामा भन्नुभयो,‘मानिसको मानसिकस्तर खस्कँदै गएकाले सामान्य विषयमा पनि आत्महत्या गर्न थालेको देखिन थालिँदैछ ।’

“ब्वाइफ्रेण्डले मेरो बर्थडे बिर्सने,आउन सकिन भन्ने, अनि सरी भन् भन्दा सरी नभन्ने, त्यसैले अब मैले बाँचेर के गर्ने ?”

पछिल्लो समय समाजमा आत्महत्याका घटनामा उदेकलाग्दा कारण देखिएका छन् । उदाहरण दिँदै भन्नुभयो, ‘ब्वाईफ्रेन्ड वा गर्लफ्रेण्ड नबोलेको,जन्मदिनमा नआएको वा नभेटेको भन्दै आत्महत्या गर्नेहरु पनि देखिए ।’

जनआस्थासँगको संक्षिप्त कुराकानीमा उहाँले साना साना घटना र विषयमा ज्यान फाल्ने प्रवृत्तिलाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउनुभएको छ । आधुनिकीरणको नाममा हुने गरेका देखासिकी नै विशेषगरी युवा पुस्तामा विकराल समस्या बनेको उहाँको तर्क छ ।

हालैको एउटा अन्तर्वार्तामा सुवेदीले, ‘एउटी २० वर्षीया युवतीले आत्महत्याको प्रयास गरिरहेको बेला घरबेटीको सहयोगले गर्दा रोकिएको अनि घरपरिवार र आफन्तले सम्झाउने प्रयास गर्दा नसम्झेको र प्रहरीकोमा आएपछि अचम्म जवाफ दिएको,’ उल्लेख गर्नुभएको छ ।

प्रहरीले १२ कक्षा पास गरिसकेको, मोडलिङको कोर्स पनि गरेको,२० वर्ष उमेर पुगिसकेको अनि किन आत्महत्याको प्रयास गरेको भनेर सोधेको बखत उनले भनेकी थिइन्, ‘मेरो ब्वाइफ्रेण्डले मेरो बर्थडे बिर्सने,आउन सकिन भन्ने, अनि सरी भन् भन्दा सरी नभन्ने, त्यसैले अब मैले बाँचेर के गर्ने ? भनेर त्यस्तो काम गरेँ ।’

टिप्पणीहरू