भरतपुरका सम्भावित काँग्रेस सभापतिमाथि अख्तियारको आँखा

भरतपुरका सम्भावित काँग्रेस सभापतिमाथि अख्तियारको आँखा

माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पर्ने भरतपुरमा नेपाली काँग्रेस चितवनका जिल्ला कमिटी सदस्य तथा आसन्न निर्वाचनमा नगर सभापतिका सम्भावित दावेदार एवम् २१ नम्बर वडाध्यक्ष चित्रसेन अधिकारी अख्तियारको अनुसन्धानमा तानिएका छन् । विकास निर्माणमा कैफियत देखिएको र उपभोक्ता समितिसहित ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको आरोपमा अख्तियारले अस्ति कागजात जफत गरेको हो ।

आयोगको हैटौँडा टोलीले अधिकारी र उनका छोरा विवेकसेनको नाममा सिभिल बैंक भरतपुरको खातामा रहेको रकमबाट अनुसन्धान थालेको बताइएको छ । बाटो निर्माणक्रममा बनाइएको उपभोक्ता समितिले पहिलो पटक १ लाख ७६ हजार रर दोस्रो पटक २६ हजार रुपैयाँ गरी २ लाख ३ हजार रुपैयाँ उनको खातामा जम्मा गरेको बैंक स्टेटमेन्ट सहितको कागजात अख्तियारले जफत फेला पारेको बताइन्छ ।आयोगका जनकप्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलका दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेलमा कैफियत भेटेको बताइन्छ । उपभोक्ता समितिमार्फत नै उनले पटक पटक पैसा तानेर गुणस्तरहीन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोको अनुगमन र कागजात नियन्त्रणमा लिएको श्रोतको दावी छ ।

अधिकारीले विकास निर्माणका सबै साना तथा ठूला आयोजनामा बजेटअनुसार कोटा तोकी कोशेली लिने गरेकोमा आजित बनेका उपभोक्ता समितिका एक पदाधिकारीले नाम नबताउने शर्तमा जनआस्थालाई जानकारी दिए ।

यससम्बन्धमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । आयोगको हेटौँडा कार्यालयले २५ र ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले पनि वडाको विकास निर्माणमा उपभोक्ता समितिहरुसँग रकम लिने गरेको,कतिपय अवस्थामा दोहोरो भुक्तानीसमेत तानेको उजुरीको आधारमा छानबिन गरिरहेको अख्तियार स्रोतले बताएको छ ।

टिप्पणीहरू