बजेट होलिडेमा एमालेको दोष छैन: महासचिव पोखरेल

बजेट होलिडेमा एमालेको दोष छैन: महासचिव पोखरेल

नेकपा एमालेले मुलुक ‘बजेट होलिडे’ मा गएको भन्दै चासो व्यक्त गरेको छ । हिजो अबेर जारी विज्ञप्तिमा एमालेले सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाका कारण देश बजेट होलिडेको अवस्थामा पुगेकोमा खेद व्यक्त गरेको हो ।

एमालेले राजनीतिक द्वन्द्वका कारणले बजेट निर्माण र कार्यान्वयनमा ढिलाई हुँदा राज्य सञ्चालनमा समस्या उत्पन्न हुने देखिएकाले संविधान निर्माणको क्रममा सचेत भएर उक्त व्यवस्था राखिएको पनि बताएको छ । आफ्नो पार्टीको सरकारले संविधानको सोही व्यवस्था र मर्मअनुरूप प्रतिनिधिसभा नरहेको अवस्थामा पनि जेठ १५ मा अध्यादेश जारी गरेर बजेट ल्याएको उल्लेख गर्दै अहिले सरकारको गैरजिम्मेवार व्यवहारबाट पछिल्लो अवस्था उत्पन्न भएको उसको ठहर छ ।गठबन्धन सरकारको गठनपछि पुनर्स्थापित प्रतिनिधिसभाको सर्वाधिक महत्वको कर्तव्य संवैधानिक कानुनी व्यवस्थाअनुरुप बजेटलाई संसदमा प्रस्तुत गरी पारित गरिनुपर्नेमा त्यसो नगरेको आरोप लगाएको छ । उसले भनेको छ, ‘सरकारले प्रतिनिधिसभाको बैठक शुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व दिएन । सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भयो ।’

महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा आर्थिक वर्ष शुरु भएको लामो समयसम्म प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारण वित्तीय संकटको परिस्थिति सिर्जना हुनपुगेको आरोप लगाइएको छ । विकास बजेट कटौती गर्ने, अनुत्पादक क्षेत्रमा खर्च बृध्दि गर्ने, गलत बाटो अवलम्बन गर्ने कार्य सरकारको गैरजिम्मेवार रवैया हो ।

टिप्पणीहरू