उता हेर, बाहुबली फर्केर आयो « Jana Aastha News Online
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022

उता हेर, बाहुबली फर्केर आयो

प्रकाशित मिति :  ८ भाद्र २०७४, बिहीबार १२:५५


  • दयालबहादुर शाही

‘महिसमती, चैनले सास फेर ! मेरो छोरो फर्केर आयो !. महेन्द्र बाहुबली फर्केर आयो !’

एस.एस. राजामौलीद्वारा निर्देशित साउथ इण्डियन चलचित्र बाहुबलीमा २५ वर्षदेखि जेठाजु भल्लादेवको कैदखानामा अन्यायपूर्वक जकडिएर रहेकी विरांगना देवसेना आफ्नो हराएको छोरो महेन्द्र बाहुबली महिसमती दरबार छिरेकोमा गर्जिंदै खुशी र विश्वास एकैसाथ व्यक्त गर्छिन् । खलनायकबाट प्रताडित देशमा जनता र सत्पात्रहरु कति सास्ती खेप्छन्, उनीहरु सत्पात्रको आगमन र उदयका खातिर कति व्यग्र प्रतीक्षामा हुुन्छन् र कति महंगो मूल्य चुकाउँछन्, यसको नमूना पात्रका रुपमा कटप्पालाई पस्किएर बाहुबली चलचित्रले आफ्नो ओज बढाएको छ । कुशासन र अन्याय खेपिरहेका जनताका पीडा र आशालाई मुखरित गर्दै कटप्पा शिवाको रुपमा ग्रामीण जनजाति नायिका संघाको गोदमा हुर्किएको महेन्द्र बाहुबलीको वास्तविक परिचय गराउँदै भन्छन् ‘हाम्रा भगवान, अमरेन्द्र बाहुबलीका अंश हौ तिमी, आफ्नी आमा देवसेनाको २५ वर्ष लामो प्रतीक्षाको परिणाम हौ तिमी, राजमाता शिवगामी देवीको वलिदानको फल हौ तिमी ।’

एक गुणग्राही राष्ट्र आफ्नो जगको रुपमा रहेको जनसमुदायप्रति कति कृतज्ञ रहन्छ र रहनु पर्छ भन्ने दृष्टान्त पनि बाहुबलीले पस्किएको छ । महेन्द्र बाहुबली, उनकी जन्मदातृ आमा देवसेना र पालनकर्ता आमा संघाको त्रिवेणीय मिलनको पललाई रोमाञ्चित पार्दै महावली कटप्पा महिसमती साम्राज्यको तर्फबाट त्यहाँको ज्येष्ठ नागरिकको हैसियतले संघा दम्पतीप्रति यसरी आभार प्रकट गर्छन्, ‘हाम्रो मरिसकेको आशालाई जीवन दिएर, उस (महेन्द्र बाहुबली) लाई महावीर बनाएर, यहाँले हामीलाई फर्काइदिनुभयो । यसका प्रति जन्म जन्मसम्म महिसमती साम्राज्य यहाँको ऋणी रहने छ ।’

राजनीतिकर्मीको धर्म पत्नी सिँगार्ने र देश बिगार्ने होइन । रुपवतीको एक थान अंगालोभित्र कैद हुनेले मातृभूमिका लागि केही गर्न सक्तैन । हरेक युगको प्रौढ सत्पात्रले युवा पुस्तालाई देश र जनताको लागि दिल खोलेर लाग्न उत्प्रेरित गर्छ । कटप्पा पनि बाहुबलीको आगामी कार्यभार दर्शाउँदै भन्छन्, ‘तिम्री जननी र तिम्रो जन्मभूमि २५ वर्षदेखि तिम्रो आगमनको प्रतीक्षामा छन् ।’

नेपाल राष्ट्र भल्लादेवको पतन र बाहुबलीको आगमन कुरिरहेको महिसमतीको हालतमा छ । पृथ्वीनारायण शाह र विश्वेश्वरप्रसाद कोइरालाका उत्तराधिकारीबाट निराश–हतास भएको जनसमुदायले कृपापूर्वक आशातीत नजरले एमालेतिर हेरिरहेको छ । कांग्रेसको प्रतापसूर्य अस्ताचलमा डुब्दै गर्दा अध्यक्ष केपी ओलीद्वारा प्रेरित एमाले नेतृत्वसामु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको विरासत रक्षा गर्ने र जनताका अकांक्षाहरु जनताकै बलबुतामा संवोधन गर्नुपर्ने एक कठोर अग्निपरीक्षाको चुनौती र अवसर छ । नियमित आकस्मिकताको जादु यस्तै हुन्छ । इतिहासले चुनौतीकै बीचमा जसरी पृथ्वीनारायण शाह र विपी जन्मायो, त्यसरी नै आज एमालेको उदय भएको छ र जनता जनार्दनको सह्राहनीय साथ, समर्थन र न्यायको तराजुतिर ढल्कँदै गएको छ । 

जनतामा आशा जगाइराख्नु राजनीतिको धर्म हो । सबै नीतिभन्दा हाबी हुनसक्ने सामथ्र्य राजनीतिमा मौजुद रहनुको मूल आधार यसले देश र जनतालाई आधारभूत चेत र तेज दिन सक्नु हो । समकालीन समयको विशेषता र दिशा, समन्धित राष्ट्रका असल र सच्चा मित्रहरुको निक्र्याेल, त्यसको राष्ट्रिय कोष र आय व्ययको अवस्था, स्वदेश र सहदेशवासीको स्वाभिमान र शक्तिबारे बारम्बार चिन्तन गर्ने क्षेत्र वा कार्यको अर्को नाम राजनीति हो । आधुनिक राष्ट्र राज्यमा दलहरु नै जनतामा निहित सार्वभौम शक्तिको प्रयोग गरिने माध्यम हुन् । जनताको अदालत सामु आफूलाई असल र योग्य विकल्पका रुपमा उभिन दलहरु बीच प्रतिष्प्रर्धा हुने गर्दछ । संक्रमणकालको निकास, विकास, शान्ति, समृद्धि र हस्तक्षेपको सशक्त प्रतिरोध आजको हाम्रो कार्यभार हो । 

एमालेले आफ्नो चीर प्रतिद्वन्द्वी नेपाली कांग्रेसलाई इतिहासमा पहिलो पटक माओवादीसँग चुनावी तालमेल गर्न बाध्य हुने हालतमा धकेल्न सकेको छ । माओवादीसँगको गठबन्धनका बाबजुद कांग्रेसलाई स्थानीय निकायको चुनावी संग्राममा करारी हार हात लागेको छ ।
निष्ठा, निरन्तरता र नवीनताबीच समायोजन गर्नसक्ने राजनीतिक कौशलताको पोषण आवश्यक पर्छ । देश उँभो लाग्न र जनताको सामुहिक जीवनमा आइपर्ने दुर्भाग्य टार्न लक्ष्यवर्ती नायक र सुसंगत चेत अनिवार्य शर्त हो । मुद्दा, मसल, पहलका हिसावले पृथ्वीनारायण शाह आफ्ना समकालीन राजाहरु भन्दा बलशाली रहेकाले नै सानो पर्वते राज्य गोर्खा उठ्न सकेको थियो ।  योजना र सपना शून्य भएकाले गोर्खाभन्दा ठूलो विरासत बोकेका, समृद्ध र शक्तिशाली राज्यहरु काठमाण्डांै, मकवानपुर र जुम्लाले अस्तित्वबाट हात धुनुप¥यो । राजनीति राज्यको ध्वजा मात्र हो । यसको आधार अर्थतन्त्र अवश्य हो । माओवादी र कांग्रेसबाट जनता निरास हुनुका जरा तिनका नेताहरु लक्ष्यवर्ती हुनुको सट्टा मुनाफाखोर, पदलोलुप र हस्तक्षेपका मतियार भैदिनु हो । माटो रोज्ने कि मोदी भन्ने प्रश्न खडा भएको संवेदनशील घडीमा लम्पसारवादको उपासक बनेकाले यी दुई दलमाथि जनताको व्रmोध आगामी दशकमा निकै भारी पर्नेछ ।

एमालेको शरीरमा सञ्चारित देशभक्तिको रसायन मात्र पर्याप्त छैन । बेडा पार लगाउन जनताले महसुस गर्न सक्ने गरी यसका नेता र कार्यकर्ताको कार्यशैली, जीवनशैली, संगठन र राजनीति अन्य दलका भन्दा पृथक र असल हुनैपर्छ । २०७० साल र आजको स्थितिमा केही बदलाव आएको छ । हिजो अन्य दलको अवरोध वा संगठन नभएका कारण बस्तीमा जाँदा नेता र कार्यकर्ताले खान र बस्नको समस्या र सास्ती खेप्नु पर्दथ्यो भने आज अपारदर्शी र अनियमिततापूर्वक धनार्जन गरेका लाभग्राहीहरुको सानो समूहले नेता कार्यकर्तालाई टव्रm्याइदिने मस्तीले गाँज्दैछ । कहाँ बजे बाजा, कहाँ उनिए माला, कहाँ तयार छ अबिर, कहाँ खडा भए स्वागतद्वार, कसका छन् सुविधासम्पन्न आवास, अर्जुनदृष्टि त्यता मात्र पर्ने तर टाठा–बाठाका कारण नेतृत्व र पार्टीबाट रुष्ट भएको पंक्तिको मनोविज्ञान नपढ्ने कमजोरीबाट प्रतिद्वन्द्वीले लाभ उठाएका छन् ।

पार्टी र भातृ संगठनहरु बीच, केन्द्रीय नेतृत्व र स्थानीय कमिटीबीच, स्थानीय कमिटी र जनप्रतिनिधिबीच समन्वयको सवाल आजको ज्वलन्त समस्या हो । हामीले भूराजनीतिक खेलअन्तर्गतको घेराबन्दी र प्रभुको इशारामा चल्नेहरुको मोर्चाबन्दी दुबैलाई तोड्नु छ । यसका लागि एमालेले आफ्नो शक्ति ऐंठन पार्ने र आफूलाई महँगो पर्ने आन्तरिक कमजोरी चिन्हित गर्नु र हटाउनु पर्छ । आन्तरिक तुष एमालेलाई एम्बुस भन्दा घातक हुन्छ भन्ने पाठ २०६४ सालले पढाइदिएको हुँदाहुँदै पनि गुटबन्दीको विनाशकारी मिसाइल परीक्षण प्रत्यक्ष वा परोक्ष रुपले जारी छ । स्थानीय निकायको परिणाम अझ राम्रो हुने थियो । आन्तरिक व्यवस्थापन कमजोर हुँदा केही हदसम्म अवसरहरु फुत्किएका छन् । जनताको विश्वासलार्ई थेग्न एमालेले पर्याप्त गृहकार्य गरी आन्तरिक मजबुदीको जादु देखाउन बाँकी नै छ । नेपाल आमालाई चैनले सास फेर्नका लागि आश्वस्त पार्न आन्तरिक व्यवस्थापन र राजनीतिक मुद्दाको सान्दर्भिकताले एकअर्कालाई पोषण प्रदान गर्ने सच्याइलाई आत्मसात गर्नु जरुरी छ । 


प्रतिक्रिया दिनुहोस !