​छोराछोरीको सानैमा घरबार, बाबुआमा बेखबर « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

​छोराछोरीको सानैमा घरबार, बाबुआमा बेखबर

प्रकाशित मिति :  ८ भाद्र २०७४, बिहीबार १२:५०


  • बैकुण्ठ ढकाल

मेरी एक स्कुले साथी फेसबुकमा भेटिइन् । आठ कक्षा पढ्दा पढ्दै विवाह गरेर विद्यालय छाडेकी । इमाडोल बस्ने ती साथी सायद ६÷७ वर्षअघि ट्याम्पोमा देखिएकी हुन् । उनले चिनेजस्तो गरिनन्, म पनि अघि सरेर बोलिनँ । फेसबुकमै व्यक्तिगत र केही पारिवारिक कुराकानी भयो ।

‘तिम्रा छोराछोरी कत्रा भए ?’

‘छोरो १२, छोरी ८ मा पढ्छिन् ।’

‘ओहो, कत्ति ठूला भइसकेका, कति–कति वर्षका भए ?’

‘१७ र १४ वर्षका ।’

‘तिमी कति वर्षको उमेरमा आमा भएको ?’

‘किन ?’ (जवाफ दिन निकै अन्कनाइन्, सायद आफ्नो उमेर खुल्छ भनेर होला । केटीको उमेर र केटाको तलब नसोध्नु भन्ने मान्यताबाट दीक्षित थिइन् कि !)

‘१७ वर्षमा हो ?’ (यसो, अनुमानमा हिसाब गरें अनि सोधें । )

फेसबुकमा थम्ब्सअप गरेको चिह्न पठाइन् । पक्का भयो ।

वल्र्ड भिजन इन्टरनेशनलले ‘नेपाली जुटौं, बालविवाह रोकौं’ राष्ट्रिय अभियान शुरु ग¥यो–साउन २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रममा साक्षी बस्न पुगिन् । यसबाट अभियानमा सहयोग पुग्यो कि, गैरसरकारी संस्थालाई राष्ट्रपतिको तस्बिर भजाएर ‘फण्ड’ल्याउन सजिलो भयो भविष्यले देखाउला ।

कि नेपालीको मुद्दा उठाउन नेपाली संघसंस्थासँग पैसा छैन, कि उनीहरू अब विवेकशून्य भइसके । कि संघसंस्था प्राणशून्य भए ? उनीहरूलाई कसैले हावा दिनुपर्ने, पानी दिनुपर्ने भएको हो ?

कार्यक्रमले भन्दै थियो, सानो उमेरमा विवाह गरेपछि सारा संसार डुब्छ । सबै खत्तम हुन्छ ।

अनि मैले स्कुले साथीहरूलाई सम्झें, साँच्चै भनौं कम उमेरमा विवाह गर्ने उनी मात्रै रहिछन् ।

मैले ती साथीलाई सोधें, ‘कम उमेरमा विवाह गर्दा तिमीले भोग्नुपरेका समस्या के हुन् ?’ 

अस्ति छोराको कपाल काट्न भर्खरै खुलेको नयाँ सैलुङ लगें, फर्कने बेला सैलुङ सञ्चालकले भन्यो, ‘भाइको राम्रो ख्याल गर्नु है ।’ भाइ होइन, छोरा हो भनें । उसले मेरो र छोराको मुखमा पालैपालो हे¥यो एकछिनसम्म ।

अर्को दिन छोरीलाई फेसियल गर्न ब्युटीपार्लर लगें, ब्युटीपार्लरकी दिदीले भनिन्, बहिनीको राम्रो स्याहार गर्नु है ! त्यहाँ पनि भनेँ– बहिनी होइन, छोरी हो । हामी आमाछोरी ।’

मैले चाँडो बिहे गर्दाको समस्या भनौं कि रमाइलो यही हो ।

कुरा सुनेर रमाइलो लाग्यो ।

यो घटनाले विवाहमा उमेर समस्या होइन भन्ने देखियो । विवाह त बुझाइ हो, समझदारी, समन्वय, अहअस्तित्व, सहभोग, सहकार्य, यस्तै–यस्तै अनेक–अनेक हो ।

२६ गतेकै कार्यक्रममा कम उमेरमा विवाह गर्दाका बेफाइदाबारे दुई प्रतिनिधि घटना देखाइयो ।

बिहे गर्नेबित्तिकै बच्चा भयो, पढ्न पाएनौं । सीप पनि भएन । उनीहरूलाई बिहे गर भनेर कसैले भनेकै होइन । मायप्रीति गाँसे, विवाह गरे । बच्चा जन्मियो । यो कुनै समस्या हैन । विवाहपछि बच्चा भएन भनेचाहिँ समस्या ठान्छ समाजले ! बच्चा हुँदाभन्दा नहुँदाको समस्या विकराल हुन्छ, खै बुझेको !

विवाह नबुझेर हैन, बुझेर कम उमेरमा गर्नेहरू शहर बजारमै छन् । विवाहको मापन उमेरले गर्नै सक्दैन । छेक्न पनि सक्दैन । छेक्न सक्थ्यो भने मिथिला शर्मा र मोतीलाल बोहराको विवाह हुने थिएन । निर्माता छवि ओझा र रेखा थापा, करिश्मा–विनोद मानन्धर, निर्देशक निश्चल बस्नेत र कलाकार स्वतिमा खड्काको विवाह पनि त्यस्तै हो ।

बुढेसकालमा विवाह गर्ने मात्रै हैन विकसित र शिक्षित मानिने शहरी इलाकामै टिनएज किशोरी परिवारलाई थाहै नदिई प्रेमीसँग भाग्ने नयाँ प्रवृत्ति मौलाउन थालेको छ ।

प्रहरीमा परेका उजुरीले काठमाडौं उपत्यकामा किशोरी भागेर विवाह गर्ने घटनाको रेखा निरन्तर उकालो लागेको देखाउँछ । आर्थिक वर्ष ०७२÷७३ मा मात्र यस्ता घटनाको लामै फेहरिस्त महिला तथा बालबालिका सेल, कालिमाटीको उजुरी रेकर्डमा छ । यो आर्थिक वर्ष १३ देखि १९ वर्षसम्मका २५ बढी किशोरीले परिवारलाई थाहै नदिई भागेर विवाह गरेका छन् । पछिल्लो तीन वर्षमा १७ वर्षभन्दा कम उमेरमा भागेर विवाह गरिएका झण्डै १ सय ३१ उजुरी रेकर्डेड छन् ।

कम र बढी उमेर दुवै विवाहका समस्या हुन् । निकै अन्तर पनि समस्या हुन् । कम र बढी दुवै उमेरमा सन्तानको जन्म समस्या हुन् ।
नेपालमा कम उमेर हुने विवाह मात्रै हैन, हरेक समस्यालाई ‘अतिवादी’ चश्माले हेरिन्छ । ‘फण्ड’को आँखाले हेरिन्छ । समस्या यही हो ।
समस्या नभएका हैनन्, छन् । जसरी जुन रूपमा सार्वजनिक भएका छन्– यथार्थ त्यस्तो होइन । बालविवाह समस्या नै हो । सन् ०३० भित्र बालविवाह अन्त्य गर्ने सरकारको अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गाह्रो हुने देखिन्छ ।

कार्यालयको काम सकेर राति ९ बजे डेरा फर्कंदै थिएँ, बाटामा एक जोडी स्कुले बालबालिका भेटिए– बाबाले फेसबुकको सबै म्यासेज पढ्नुभएछ । धन्न केही भन्नुभएन । तर, उहाँ त्यो दिनदेखि फरक देखिनुभएको छ । मैले त्यही दिन फेसबुकको पासवर्ड चेञ्ज गरें, अनि डिएक्टिभ गरें । तैपनि परिवारको निगरानीमा परेको छु । पहिलेजस्तो फ्री छैन । हामीले त्यस्तो च्याट नगर्नुपर्ने भन्ने लागेको छ । छात्रा आफ्नो कुरा राखिरहेकी थिइन् । छात्र बोलिरहेको थिएन ।

इन्टरनेट र प्रविधिको सहजता, खुलापन, आधुनिकता एवं सहरीकरणले उपत्यकामा मात्र होइन, देशका विभिन्न ठाउँमा टिनएजमै भागेर विवाह गर्ने घटना उल्लेख्य देखिन्छ । विश्वमा बालविवाहको दर घटेको देखिएको छ । तर, नेपालमा भने उच्च छ । युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन द स्टेट अफ द वल्र्डर्स चिल्डे«न, २०१६ अनुसार नेपालमा एक तिहाइभन्दा बढी बालिका अर्थात् ३७ प्रतिशतले १८ वर्ष उमेरभन्दा पहिले र १० प्रतिशतले १५ वर्ष उमेरभन्दा पहिल्यै विवाह गर्छन् । कम उमेरमा विवाह गर्ने एशियाली देशमा नेपाल तेस्रोमा पर्छ । नेपालमा सीमान्तकृत वर्ग र तल्लो भनिएका जातमा बाल विवाहको दर उच्च छ ।

किशोरीसँग सम्बन्धित गल्र्स नट ब्राइड नामक सञ्जालका लागि कृपाले २ वर्षअघि १८ वर्षभन्दा कम उमेरका किशोरीमा गरेको एक अध्ययनले ३० प्रतिशत किशोरीले टिनएजमै भागेर विवाह गरेको देखाएको थियो । ह्युम्यान राइट्स वाच, सन् २०१६ को एक प्रतिवेदनले नेपालमा ३७ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै भएको देखायो । परम्परागत नेपाली समाजमा धार्मिक मूल्य–मान्यता एवं रीतिरिवाज कम उमेरमा विवाहका प्रमुख कारण थिए । अहिले पनि केही ग्रामीण समाजमा विद्यमान त्यस्ता विवाहमा विवाह गर्ने टिनएजर्सहरूको व्यक्तिगत मतसमेत जाहेर गर्न दिइँदैनथ्यो । तर, अहिले अवस्था त्यस्तो छैन । पहिले–पहिले विवाहबारे छोराछोरीलाई थाहा हुन्थेन । अहिले छोराछोरीको विवाह अभिभावकलाई थाहा हुन छाडेको छ । अभिभावकले आफ्ना सन्तानलाई जहिले पनि सानै देखेका हुन्छन् । तर, छोराछोरी बुहारी र ज्वाइँ च्यापेर टाप ठोक्छन्, अभिभावक ट्वाँ पर्छन् ।

पहिले–पहिले बिहेपछि सेक्सको कुरा हुन्थ्यो, अहिले पहिले सेक्स अनि बिहेको कुरा हुन थालेको छ । टिनएजर्समा ‘सेक्सुअल रिलेसन’को आकांक्षा सहज ढंगले पूर्ति गर्न उमेर र भविष्यको समेत ख्याल नगरी भागेर विवाह गर्ने क्रम ट्रेन्डकै रूपमा देखिन थालेको छ । अहिलेका केटाकेटी हरेक कुरा प्रयोग गर्न लालायित देखिएका छन् । विवाह पनि त्यही प्रयोग हो । उनीहरूलाई परीक्षणसँग सरोकार छ, परिणामको बालमतलव !


प्रतिक्रिया दिनुहोस !