प्रहरीकै सामुन्ने पत्रकारको मारमुङ्ग्री

प्रहरीकै सामुन्ने पत्रकारको मारमुङ्ग्री

नेपाल पत्रकार महांसघ रौतहटको विवाद सार्वजनिक स्थलमै छताछुल्ल भएको छ । पत्रकार मुजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको विवादमा मुछिएपछि यसअघिका एसपी सिध्दिविक्रम शाह हेटक्वार्टर तानिएका थिए । शाहलाई तानेपछि एक महिना रिक्त रहेको रौतहट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसपी विनोद घिमिरे रौतहट,गौरका पत्रकारको पारा देखेर दङ्ग परेका छन् ।

जिम्मेवारी सम्हालेको भोलिपल्ट हिजो बुधबार उनले स्थानीय सञ्चारकर्मीसँग अन्तरक्रिया राखेका थिए । अन्तरक्रियामा पत्रकारहरुबीच आरोप प्रत्यारोप शुरु भएपछि प्रहरीलाई सम्हाल्न हम्मे परेको थियो । पत्रकारहरुको चर्तिकला देखेर नयाँ एसपी घिमिरे कार्यक्रमस्थलमा निकैबेर घोरिएका थिए ।

पत्रकार मुजिबुल्लाह काण्डलाई लिएर रौतहटमा पत्रकार हरु दुई चिरामा बाँडिएका छन् । उनीहरुलाई विभाजित गराउने काममा रौतहटको परोहा नगरपालिकाका मेयर शेख वकिल र ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले सक्रिय भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा सामग्री पोष्ट भएका छन् ।

एसपी घिमिरे रौतहट आउनुअघि सामाजिक सञ्जालबाट आरोप प्रत्यारोपमा उत्रिएका पत्रकारहरु (?) एसपीले आयोजना गरेको अन्तरक्रिया तथा परिचय कार्यक्रममै मारमुङ्ग्रीमा उत्रिएका हुन् ।

नेपाल पत्रकार महासंघ रौतहटले महासंघविरुध्द सामाजिक सञ्जालमा जथाभावी पोष्ट गरेको भन्दै पत्रकार अभिमन्यु पटेल र प्रवीण टिबडेवाललाई आइन्दा त्यस्तो सामाग्री पोष्ट नगर्न चेतावनी दिएको छ । महासंघले विज्ञप्ति प्रकाशित गरेपछि प्रहरीकै अगाडि पत्रकार हुँ भन्नेले ताण्डव देखाएको कार्यक्रममा उपस्थितहरुले बताएका छन् ।

प्रहरीले आयोजना गरेको उक्त भेटघाटमा व्यावसायिक पत्रकारको उपस्थिति भने शून्य थियो । पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेको सिसिटिभी फुटेज बाहिर आएपछि रौतहटका पत्रकारलाई स्थानीय नेता तथा मेयरहरुले भोजभतेरको आयोजना गरेर एक अर्काको बिरुध्द प्रयोग गरेको बताइन्छ ।

लागुऔषध काण्डमा मुछिएका अर्का पत्रकार सञ्जय सहनी फरार छन् । तर लागुऔषध काण्डमा फसाइएका पत्रकार मुजिबुल्लाहले समेत समय समयमा फरक फरक मान्छेले आफूलाई फसाएको भन्दै भिडियो सन्देश सार्वजनिक गर्न थालेपछि उक्त काण्ड थप रहस्यमय बनेको छ ।

आफूलाई राज्यको चौथो अंग बताउनेहरु नै अर्काले आयोजना गरेको कार्यक्रममा गएर मारमुङ्ग्रीमा उत्रेपछि नेपाल पत्रकार महासंघ रौतहटको तीन तले भवनको औचित्य के भन्न थालिएको छ । पत्रकारबीच भएको भनिएको हात हालाहालको अवस्थलाई धेरैले खुच्चिङ भनेका छन् । तर, रौतहटमा व्यावसायिक पत्रकारिता गरिरहेकाहरुलाई भने यतिबेला चिन्ताले सताउन थालेको पत्रकार फणी महत बताउँछन् ।

 

टिप्पणीहरू