आज राजधानीमा कहाँ के हुँदैछ ?

आज राजधानीमा कहाँ के हुँदैछ ?

आज राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि विभिन्न राजनीतिक दल तथा संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । त्यसक्रममा नेपाली काँग्रेस वीपीको हिजोदेखि शुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र राखेको छ । बन्द सत्र गोंगबु आवास क्षेत्रको डबलीमा बिहान ८ बजेदेखि शुरु भएको छ ।

उता नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको धर्ना र अनसन कार्यक्रम आज पनि जारी छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको रिले अनसन र धर्ना आज पनि बिहान ९ बजेबाट शुरु भएको जनाइएको छ ।

त्यसैगरी नेपाल वायुसेवा निगममा पनि कर्मचारी युनियनहरुले दुई महिनाभन्दा बढी समयदेखि गर्दै आएको धर्ना आजसमेत जारी छ । निगमको केन्द्रीय कार्यालयमा सँधैझैँ आज पनि बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्ना हुन लागेको हो ।

चीनमा डाक्टरी पढेर आएका विद्यार्थीले इन्टर्नशीप गर्न नपाएको भन्दै थालेको बिरोध कार्यक्रम आज पनि गर्ने भएका छन् । सन २०१४ मा चीनमा चिकित्साशास्त्रमा स्नातक गरेर नेपालमा इन्टर्नशीप गर्न नपाएका विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले यथाशक्य छिटो इन्टर्नशीप गराउनुपर्ने माग राखेका छन् । उनीहरुले बिहान साढे १० बजेदेखि माइतीघरमा बिरोध गर्ने भएका छन् ।

उता संसदको विधायन व्यवस्थापन समितिको बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने जनाइएको छ । त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि समितिको सभाकक्ष, सिंहदरबारमा सवा १२ बजे बस्ने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौंले आज प्रज्ञा प्रतिष्ठानमा जिल्ला कार्यकर्ता भेला बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पौने १२ बजेदेखि कार्यक्रम हुने उक्त पार्टीले जनाएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) सीटीईभीटी उपत्यका जिल्ला समितिको ७ औं जिल्ला सम्मेलन सिद्धार्थ फुडल्याण्ड पुरानो बानेश्वरमा मध्यान्ह १२ बजेदेखि शुरु हुने भएको छ ।

त्यसैगरी अखिल नेपाल महिला संघ सूर्यविनायक नगरपालिका ५ को बृहत अगुवा कार्यकर्ता भेला दिव्यश्वरी पार्टी प्यालेस, सृजनानगर, भक्तपुरमा दिउँसो १ बजे हुने बताइएको छ ।

टिप्पणीहरू