आउँछु मात्र भनिदिए पुग्थ्यो

भनिन्छ, मान्छे सबैलाई आफ्नै घाउ र व्यथा ठूलो लाग्छ । तर, मेरो भागमा जस्तो दुःख, कष्ट र पीडाका पहाड त शत्रुलाई पनि नपरोस् । एक धर्काे सिन्दुरका कारण धेरै नारी बर्बाद भएका छन् । ती जीवनमा आवादीको बाटो नदेखेर कुहिरोभित्र कागको नियति बाँच्दै छन् । ठीक उस्तै हालत छ मेरो । 

नियति नै खराब भएका मान्छेको अगाडि केही नलाग्दोरहेछ । विवाह भनौं, विवाह होइन, होइन भनौं आज पनि उनकै नाममा यो जीवन समर्पण गरेको छु । कोही मान्छेको मन हुन्छ फूलको थुँगाजस्तो सधैँभरि आँखावरिपरि नै राखिरहँु लाग्ने त्यो पनि अत्यन्त प्रेमले सँगालेर । र, कोही जन्मेका हुन्छन् ढुंगाको दिल भएका पत्थर मान्छे, बरु बालुवालाई पेले तेल निस्केला, अहँ छँुदैन यिनीहरूलाई अरूका दुःख र पीडाले । अरूलाई सताउन र पीडा दिनकै लागि जन्मिएका सैतानी प्रवृत्तिका मान्छेको कारण लुटिएको छ मेरो जिन्दगी र आज भएकी छु वल्लो घाट न पल्लो तीर । 

 औँला भाँचेर ल्याउँदा १७ वर्ष पुगेछ विवाह भएको । रामेछाप देवीटारका प्रल्हाद गिरीसँग । सुन्दा पत्यार नलाग्न सक्छ, विवाह कुनै सिनेमाको कहानीभन्दा फरक छैन । दिदीका छोराछोरी हेर्न बसेकी मलाई प्रल्हादको परिवारले नजर लगायो र जबर्जस्ती उठाएर लग्यो । त्यो पनि दोस्री श्रीमतीका रूपमा । साँढेजस्ता प्रल्हादका बुबाले जबर्जस्ती दिदीको घरबाट उठाएर ल्याउँदा कसैले विरोध गरेनन् । उनकै राइँदाइँ चल्थ्यो त्यहाँ । विरोधमा कसैले बोल्न सक्दैनथ्यो । 

विवाह त त्यहाँ हुन्छ जहाँ मनसँग मनको नेटवर्क मिल्छ । तन र मनको कुनै तालमेल नमिल्ने स्थानमा नेटवर्क कनेक्सन हुने अवस्था रहँदैन । हो, त्यही कारण भोलिपल्टै भागेर काठमाडौं आइपुगें । तर, प्रल्हादका आफन्त खोज्दै काठमाडौं आइपुगे र फेरि गाउँमै पु¥याए ।

अरू कुनै बाटो थिएन उसैलाई श्रीमान् स्विकार्नुबाहेक । त्यस समय प्रल्हाद खिम्ती जलविद्युत् आयोजनामा काम गर्थे, झण्डै ८ वर्ष त्यहीँ बिताए । रहँदा बस्दा तीन छोरी जन्मिए । त्यहाँबाट हुने कमाइ दुई भाग लगाउनुपथ्र्याे छोराछोरीसहित माइतमै बसिरहेकी जेठी श्रीमती र मेरा तीन जना छोराछोरीलाई । थोरै कमाइले आफू खाने कि छोराछोरीलाई लाउने र खुवाउने– म अक्क न बक्क हुन्थें ।

  सन्तानको दुःख कसको बुबाआमाले सहन सक्छ र ? बुबा–आमाले त्यतिबेलै ८० हजारमा साढे चार रोपनी पाखोबारी किनिदिए । आफ्नै पाखुरी खियाएर, ऋण धन गरेर त्यही जग्गामा २ तले घर ठड्याएँ, जिन्दगीमा सबैभन्दा खुशी त्यही दिन भएँ । ओत लाग्ने घर त भयो तर पापी पेटको सवाल न छ । आज भन्यो, भोलि भन्यो घर कसरी चलाउने भन्ने पीरले सताइरह्यो । घर सल्लाहमै श्रीमान्ले विदेश जान्छु भने । मैले लगाइरहेको गहना फुकालेर दिएँ । 

एजेन्टले एअरपोर्टमा काम हुने र महिनाको ४०–५० हजार आम्दानी हुने सपना देखाएको थियो । तर, त्यो कमाइ हुने ठाउँमा जान पैसा पनि प्रशस्तै चाहियो । 

मैले गर्न सक्ने भनेको उही फेरि माइती गुहार्ने न हो । बुबाआमालाई भनेर १ लाख ५५ हजार रुपैयाँ दलाललाई बुझाइयो । ४ वर्षअगाडि उनी मलेसिया गए । तर, सम्झौता भएअनुसार एअरपोर्टमा काम भएनछ । अन्यत्रै काम गर्नुप¥यो । बेलाबेला फोन गरेर काम गाह्रो छ, कमाइ हुँदैन भन्न थाले । मलेसिया गएको दुई वर्षमा एक लाख रुपैयाँ जति पठाउनुभयो होला । विदेश जाँदा खोजेको ऋण पनि तिर्न सकिएन । 
त्यसपछि उहाँले काम गर्न सकिन, गाह्रो भयो जसरी भए पनि ५० हजार खोजेर पठाइदिनू म नेपाल फर्किन्छु भन्नुभयो । मैले फेरि माइतीसँग पैसा मागेर पठाइदिएँ । तर, पैसा पठाएपछि त उहाँ आउनु त कहाँ हो कहाँ फोन सम्पर्कसमेत टुट्यो । मन झनै आत्तियो । 

 उही गाउँठाउँ न हो हल्ला चल्ने नै भयो तेरो श्रीमान्ले त विदेशमै अर्को बिहे गरेर बसेका छन् भन्ने । एक कान दुइकान मैदान भयो । पत्यार लाग्दैनथ्यो फेरि मन अमिलो पार्दै बेलाबेला फोन गर्थें, केटीको आवाज आउँथ्यो । मनले मान्दैनथ्यो । लौ मेरो त माया लागेन रे तर यी सन्तान त उनकै रगत हुन् छोराछोरीको त माया गर्नुपर्ने हो नि जस्तो लाग्यो । सँगै परदेसिएका देवर नारायणले उतै बिहे गरेपछि देवरानीले पनि यहाँ अर्कैसँग बिहे गरिन् । तर, मैले त्यस्तो गर्न सकिनँ । तीन सन्तानको मुख हेरेर, बुबाआमा र आफ्नै इज्जत सम्झिएँ । 

श्रीमान्सँग सम्पर्क हुन छाडेपछि आम्दानीको बाटो टुट्यो । पुरानो ऋण तिर्ने कुनै उपाय भएन । हात पाखुरी चल्न छाड्यो, नौ नारी गलेर आउँथ्यो । एक मन लाग्थ्यो, यो सारा संसार त्यागिदिऊँ । तर, छोरीहरूलाई हुर्काउने बढाउने जिम्मेवारी आफ्नै काँधमा थियो । तिनका निर्दाेष अनुहार हेरेर त्यसो गर्न सकिनँ । यस्तैमा देवीटारमा बिजुलीको प्रसारण लाइन तथा सब स्टेसन निर्माणका लागि जग्गा अधिग्रहण हुने भयो । जग्गाको राम्रो भाउ आउने भयो भन्ने हल्ला चल्यो । मेरो पनि साढे चार रोपनी जग्गा र घर अधिग्रहणमा पर्ने भयो । 

एकमन त खुशी भएँ । केही नभएका बेला अलिकति पनि राहत हुने भयो भनेर । तर, त्यो पनि भएन । जेठाजुले नै सौतालाई उचालिदिए । त्यो त तेरो हक हो भन्दै मुद्दा हाल्न लगाए । मुद्दा लडिरहनुपरेको थियो । फैसला हुनु चार दिनअघि मलाई सौता र उनका छोराछोरीलाई मार्न खोजेको आरोप लगाएर जेठाजुले पक्राए । त्यसैले फैसलाको बेला म उपस्थित हुन सकिनँ । म जान नसकेकाले फैसला सौताकै पक्षमा भयो ।

म त्यसदिन अदालतमा उपस्थित हुन सकेको भए सायद फैसला मेरो पक्षमा हुन्थ्यो कि ! पुनरावेदन अदालत गएँ तर पहिलेकै निर्णयलाई सदर ग¥यो । जनकपुरमा मुद्दा हेरेका मेरा वकिलले दुःख देखेर सर्वोच्चमा मुद्दा दर्ता गराइदिएको छु भन्नुभएको छ । तर, मलाई थाहा छैन अब के गर्ने ? काठमाडौंमा कसको शरण पर्ने ? म पैसा दिएर वकिल किन्न सक्दिनँ, विनापैसा कसले मेरो मुद्दा हेरिदिन्छ ? धोका दिएकाका कारण श्रीमान्लाई यो मनले त्यति धेरै त सम्झिँदैन । तर, श्रीमतीको मन न हो, जस्तो भए पनि फर्केर आउँछु मात्र भनेदेखि जसरी भए पनि झिकाउँथँे । अरू केही नभए पनि अहिलेको मुद्दा मिल्थ्यो । अनि छोरीहरूले बाउको छाया पाउँथे ! लाऊँलाऊँ र खाऊँ खाऊँ भन्ने उमेर । मात्र तीन दशक न पार हँुदै छ !

– रमा गिरी,  फुलासी, रामेछाप

टिप्पणीहरू