केही नगर्ने सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदै हुनुहुन्छ । यो कुनै ठूलो कुरा होइन । नेपालमा जो प्रधानमन्त्री बने पनि सबैभन्दा पहिले जाने नै भारत हो । भारत भ्रमण नगरुञ्जेल नेपालमा कुनै काम शुरु हुँदैन । काम शुरु गर्नुअघि गणेश पूजा गर्ने त हाम्रो परम्परै छ !

भारत जाने भएपछि त्यहाँ आफूले के के गर्नुपर्ने हो, त्यसबारे राय माग्न उहाँले विभिन्न व्यक्तिलाई बोलाएर सल्लाह लिइरहनुभएको छ । उहाँले मागेअनुसार विभिन्न व्यक्तिले विभिन्न सुझाव पनि दिइरहेका छन् । अब उहाँलाई यी सुझाव जो प्राप्त भइरहेका छन्, त्यसको सूची देख्दा भने भारतमा केही गर्नलाई होइन केही नगर्नलाई पठाउन लाग्या हो कि जस्तो लागिरहेको छ । भारत भ्रमणको लागि उहाँलाई प्राप्त सुझावका केही नमूना यस्ता छन् :

– कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर नगर्नु ।

– दोक्लाम विवादबारे केही नबोल्नु । 

– देशको आन्तरिक राजनीतिबारे प्याचप्याच नकराउनु ।

– कुनै नयाँ प्रस्ताव ल्याए सही नगर्नु ।

– चीन वा भारत दुवैको पक्ष नलिनु ।

– …नगर्नु । …झनै नगर्नु । र, …पनि नगर्नु । 

वास्तवमा उहाँ भारत जाँदा त्यहाँ केही गरेरभन्दा पनि केही नगरेर फर्किनु भए नेपालको कल्याण हुने रहेछ ।

टिप्पणीहरू