उहाँलाई आफ्नै उपाध्यक्ष पचेनन् अन्त्यमा

उहाँलाई आफ्नै उपाध्यक्ष पचेनन् अन्त्यमा

एमाले अध्यक्ष केपी ओली आफूले जे–जे गर्नुपर्ने हो, जसरी–जसरी चल्नुपर्ने हो भन्नेबारेमा एकदमै प्रष्ट हुनुहुन्छ भन्ने कुराको पछिल्लो पुष्ट्याइँ हो, भीम रावलमाथि भएको ‘ब्याकफायर’ को घटना !

बालकोटमा सुदूरपश्चिम इञ्चार्जबारे सल्लाह गर्न भनी उहाँले आइतबार भीम रावल, लेखराज भट्ट, कर्ण थापालाई बोलाएर भन्नुभयो, ‘हामी नेकपा एकताकै निरन्तरतासहित अगाडि बढ्नुपर्ने अवस्था छ । उताबाट (माओवादी) आउनुभएका कोही न कोही कमरेडलाई प्रदेशको इञ्चार्ज दिनैपर्ने भयो । तपाईं उपाध्यक्ष हुँदै हो, अर्को जिम्मेवारी पाइहाल्नुहुन्छ । अहिले लेखराजजीलाई नै सुदूरपश्चिमको इञ्चार्ज मानेर जाऔँ ।’

यति कुरा सुनेपछि भीम रावलले एकछिन आफ्ना कुरा राख्नुभयो । भन्नुभयो, ‘हामी १० बुँदेका आधारमा जेठ २ को स्थितिबाट अगाडि बढ्न भनेर तपाईंको नेतृत्वमा आएका हौँ । खुशी भएर माधव नेपाल छोडेको, खुशीका साथ तपाईंसँग आएको होइन । तपाईंहरू दुबैका कुरा दुःखदायी लाग्यो र एमाले एकता जोगाउनुपर्छ भन्ने लागेर त्यही अभियानमा आएका हाैँ । १० बुँदेले शुरुमा ०७५ जेठ २ भन्छ । त्यसपछि बीचमा आउनुभएका साथीहरूको न्यायोचित व्यवस्थापनका लागि त्यही जेठ २ को कमिटीको बैठकले आवश्यक निर्णय गर्छ भनिएको छ ।

तर, जेठ २ को बैठक कहाँ बस्यो ? कहिले यो निर्णय भयो ? लेखराजजी सुदूरपश्चिमको इञ्चार्ज हुनै नहुने होइन, तर घर–घरमा बोलाएर पार्टीको जिम्मेवारी यस्तो भयो, त्यस्तो भयो भन्ने तपाईं को हो ? अध्यक्ष त हामीले बनाएरै, मानेरै हुनुभएको होला नि ! अनि, हाम्रा जिम्मेवारी घर–घरमा बोलाएर जथाभावी गर्न पाउनुहुन्छ ?’ भीमको कुरा सुनेर केपी चूपचाप हुनुहुन्थ्यो । भीमचाहिँ ‘म साथीहरूसँग सल्लाह गर्छु’ भन्दै बाहिरिनुभयो ।

भीममाथिको यस्तो व्यवहारपछि माधव नेपालको साथ छाडेका दोस्रो तहका नेताहरूले निश्कर्ष निकालेका छन्, ‘भनिएको जे भए पनि, भीम रावललाई इञ्चार्ज नदिनै खोजिएको हो ।’ उनीहरूको प्रश्न छ, ‘नत्र, प्रदेश १ मा भीम आचार्य हुने, २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी, गण्डकीमा पृथ्वीसुब्बाको सहमतिमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली इञ्चार्ज हुँदा सुदूरपश्चिममा किन भीम स्वीकार्य भएनन् ?’

ती नेताले ओलीको कार्यशैलीमा सुधार नभएको निचोड निकालिसकेका छन् । तर, सकेसम्म उनलाई गलाउने नीतिअन्तर्गत अहिल्यै साथ नछोड्नेमा छन् । उनीहरूले बुझेका छन्– ओलीले क्रमशः खेल शुरु गर्ने छन् । विधान अधिवेशनको डकुमेण्ट र विधान संशोधनका बुँदाहरू आउन बाँकी नै छ । ती दुई कुराले ओलीलाई अझ प्रष्ट बनाउँछ र माधव छाडेका दोस्रो तहका नेताहरू के गर्ने भन्ने कुराको निचोडमा पुग्ने सोचाई बनाइरहेका छन् ।

उनीहरूले भनेका छन्– संसद अवरुद्धबाट एमाले असफल हुन्छ । ‘संसदीय सर्वोच्चता’ भन्दै एमालेले संसदभित्र जति हल्ला गरे पनि सरकारले गर्नुपर्ने कामलाई अगाडि बढाएकै छ । दुई–दुईचोटि संसद विघटन गरेर ‘संसदीय सर्वोच्चता’ भन्दा जनताले सुन्न पनि लाज मानिरहेको स्थितिलाई उनीहरूले गहिरोसँग विश्लेषण गरेका छन् । त्यसमाथि ओलीले १० बुँदेकै मर्मअनुसार संसद विघटन गल्ती थियो भनेर आजसम्म आत्मालोचना नगरेको स्थिति छ ।

तर, केपी अहिले देउवासँग क्रमशः निकटता कायम गर्नेमा प्रष्ट हुनुभएको ती नेताले बुझेका छन् । ‘देउवाले सबै कुरा सहमतिमै गर्छन्’ भन्ने वाक्य उहाँले बैठकमै पनि प्रयोग गर्नुभएको छ । खतरा के छ भने, एमसिसीको नाममा ओली–देउवा मिले भने प्रचण्ड र माधव नेपालहरू हेरेको हे¥यै हुन्छन् । त्यसमाथि एमसिसी सकभर पारित अहिले नगरे अर्को अधिवेशनमा गर्न देउवा तयार भएको स्रोतले जनाएको छ ।

देउवाले त्यतिबेलासम्म पाँच दलीय गठबन्धनभित्रै वातावरण मिलाउने भन्नुभएको छ । त्यसमाथि यो सरकारले एमसिसीका बुँदाहरू संशोधन हुन नसके पनि प्रष्टताका लागि अमेरिकालाई पत्र लेख्ने र त्यसको जवाफ लिनेसम्मको काम गरेको छ । यति हिम्मत ओलीले आफ्नो कार्यकालमा गर्नुभएन । बरु, संसदमा लगेर दर्ता गराउनुभयो । त्यसलाई अगाडि नबढाएको नाममा सभामुख रहेकै बेला कृष्णबहादुर महराविरुद्ध अनेकन षड्यन्त्र गरियो । अहिलेका सभामुखसँग पनि अहिलेको झोँकभन्दा बढी एमसिसी अगाडि नबढाएको रिस पोख्ने काम उहाँले गरिरहनुभएको माधवको साथ छाडेका नेताहरूले ठहर गरेका छन् ।

टिप्पणीहरू