हत्याराले जब प्रहरीलाई नै दियो हैरानी

हत्याराले जब प्रहरीलाई नै दियो हैरानी

अपराधीले जुन तहको कसुर गरे, त्यो सामान्य खेद वा क्षमाले पुर्ताल हुने तहको दुःख छैन । तर, उनले जसरी तीन दिन, तीन रातसम्म प्रहरीलाई नै सताउने काम गरे, त्योचाहिँ अचम्मलाग्दो छ ।

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङका तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्यामा संलग्न मृतककै भतिजा २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा त लियो । तर, उनले अपराध स्वीकार्ने क्रममा प्रहरीहरूलाई तीन दिन, तीन रातसम्म ‘तौबातौबा’ बनाए । उनले दाउराको चिर्पटले गरेको आक्रमणबाट त्यहाँका ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकै श्रीमती कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीय नातिनी गोमा कार्कीले ज्यान गुमाएका थिए । उक्त घटनाको अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) देखि प्रदेश नं. १ प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय संखुवासभासम्मको टोली संयुक्त रूपमा परिचालित भए ।

कसुरदार लोकबहादुरलाई पहिचान गर्नमै समस्या भयो । किनभने, उनी मृतक परिवार र प्रहरीकै पनि का निकटम सहयोगीझैं पेश भइरहेका थिए । त्यसमाथि थिए, डिप्रेसनका बिमारी । नियमित रूपमा मानसिक स्वास्थ्यसम्बन्धी औषधी सेवन गर्ने । औषधीचाहिँ संखुवासभा र तेह्रथुम जोड्ने बसन्तपुर बजारमा किन्ने । वैदेशिक रोजगारीका निम्ति मलेसिया, कतार पनि गए । तर, डिप्रेसनकै कारण टिक्न सकेनन् र आठ–नौ महिनामा फर्किए । अर्थात्, आफ्नो जीवनसँग उनको वितृष्णा बढिरहेको थियो । मनोचिकित्सकहरू भन्छन्, ‘यो अवस्थाको मान्छे कि आफू सकिन्छ, कि अरुलाई सिध्याउँछ ।’ तथ्यांक हेर्दा मानसिक रोग (डिप्रेसन) को शिकार भएका ६० देखि ७० प्रतिशतले आत्महत्या रोजेका छन् ।

केही समयअघि तेजबहादुरकै घरमा भ¥याङबाट लडेर दाँत भाँच्चिएकी आमाको उपचारका क्रममा निधन भएको थियो । गाउँलेहरूले ‘जेठोबाठो छोरो भएर पनि केही गर्न सकिनस्’ भन्दै निक्कै नै होच्याउँथे । उनैले सबैलाई एउटै चिर्पटले टाउकोमा हानेर मारेका हुन् । त्यो चिर्पटचाहिँ खोले पकाउने अगेनोमा लगेर बालिदिए, अर्थात् प्रमाण नष्ट गरे । प्रहरीले उनलाई भन्यो, ‘हामी अमेरिकाबाट स्याटेलाइटको फुटेज ल्याउँछौँ, त्यसमा तिमीले हानेको, मारेको सबै कुरा आउँछ !’ त्यसपछि उनले जवाफ दिए, ‘लु त, ल्याउनु न, अनि बल्ल म स्वीकार गर्छु !’ उनी प्रहरीलाई नै भन्थे, ‘तपाईंको अनुसन्धान गर्ने तरिका मन प¥यो । तर, गलत मान्छेमाथि अनुसन्धान गर्दै हुनुहुन्छ ।’ उनमा यस्तो आत्मविश्वास हुनुको कारण हो, घटनाको प्रमाण नहुनु । त्यसमाथि उनले अपराध गरेको कसैले देखेको छैन । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘त्यसैले प्रहरीले गर्नसक्ने केही छैन भन्ठाने ।’ बिहे गर्न नसकिएको सहित पृष्ठभूमिमा तेजबहादुरकै परिवारको कसैसँग विशेष सम्बन्ध थियो कि घटनाको कारकका रूपमा भनेर पनि हेरियो तर त्यस्तो केही भेटिएन ।

मृतक तेजबहादुरको घर र कसुरदार लोकबहादुरको घरको दूरी पौने दुई सय मीटरमात्रै छ । घटनापछि गाउँलेलाई उनैले शव देखाएका हुन् । त्यसरी शव देखाउने क्रममा उसले जुन ठाउँमा तेजबहादुरमाथि आक्रमण गरेका थिए, त्यहीँबाट देखाए । त्यो ठाउँ थियो, कच्ची सडकको भित्तामा । तर, अलिक पर लडिरहेको शव कसको हो भनेर टाढाबाट पहिचान हुने अवस्थामा थिएन । उनले परैबाट भनिदिए, ‘ऊ बडाउ (ठूलो बुबा) त्यहाँ ढल्नु भएको छ !’ प्रहरीले अनुसन्धानलाई यही बिन्दुबाट लयमा ल्यायो ।

शुरुमा त गाउँलेहरूले यति गहिराईमा गएर सोचेनन्, कि त्यो घटना लोकबहादुरले नै गराएको हो । तर, जब अनुसन्धानमा संलग्न प्रहरी घटनास्थल पुगेर लोकबहादुरले शव देखाउँदाको प्रस्तुतिबारे जानकारी लिए, त्यहीँबाट शंका भयो । तर, लोकबहादुरको अनुहारको हाउभाउ, बोलि, व्यवहारमा कुनै फरक थिएन । प्रहरीले मनमनै साँचेको प्रश्न हो, ‘सामान्य आँखाले परबाट पहिचान गर्न नसक्ने शवलाई यसले बडाउकै हो भनेर कसरी किटान ग¥यो ?’ घटनास्थलबाट प्रहरी चौकी निक्कै टाढा छ । प्रहरीले कुनै पनि कसुरका आशंकित व्यक्तिलाई सोधपुछ गर्ने र सत्य पहिल्याउने सिलसिलाका केही ज्यादतीपूर्ण तरिका पनि हुन्छन् । तर, ती तरिका सर्वसाधारणहरूको बीचमा वा गाउँ–समाजका अगाडि प्रयोग गर्न नमिल्नेखालका हुन्छन् । त्यसैले अनुसन्धान टोली घटनास्थलमा रहुञ्जेल उनलाई ‘तपाईं’, ‘हजुर’ भन्दै केही कुरा सोध्यो । उनले भने उच्च मनोवलसहित सबै कुरा अस्वीकार गर्दै गए ।

त्यहाँबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय संखुवासभा पु¥याइयो । त्यहाँ अनुसन्धानका लागि पुगेका प्रहरीहरू तीन दिन, तीन रातसम्म सुतेनन् । उनीसँग एकोहोरो बयानमात्र लिई रहे । अन्तिममा उनले भने, ‘किन–किन मलाई बडाउ (तेजबहादुर) सँग रिस उठेर आयो । चिर्पटले हानेको मात्रै थिएँ, ढल्नुभयो । त्यो कुरा अरुले पनि देखेका थिए । अब यिनीहरूले मलाई पक्डाउने भए भन्ने डर लाग्यो । यसो सोचें, गोठमा गाईका लागि कुँडो बनाउँदै गरेको हजुरआमाले न देखेको हो, तिनलाई पनि हान्दिन्छु भन्ने मनमा आयो । फेरि अर्कोले देख्यो । देख्नेजति सबै मरेपछि मलाई कसले पक्डाउँछ र भन्ने लाग्यो, त्यही गरेँ ।’

घटना कति अचम्मको छ भने, तेजबहादुरको परिवारै सखाप पार्नुपर्ने गरी उनीहरूले लोकबहादुरको केही बिगारी दिएका थिएनन्् । लोकबहादुरले पनि कुनै कुरामा दावी वा माग गरेका थिएनन् । घरमा आठ लाख ८७ हजार भन्दा बढी नगद थियो । त्यो जस्ताको तस्तै छ । गरगहनाहरू सबै दुरुस्त छन् । तर, एकैछिन मनमा सनक चढ्दा पूरै परिवार उनले सखाप पारिदिए ।

लोकबहादुरले तीन दिन, तीन रातसम्म दुःख दिएको कुरा सम्झिँदै अनुसन्धानमा संलग्न एक प्रहरी तालिमको बेला सुनेको कुरा सम्झिन्छन् । एकजना भारतीय प्रशिक्षकले सुनाएका थिए, ‘मुम्बई बमकाण्डको अनुसन्धान जति गर्दा पनि सुल्झिएन । कसुरदारलाई ९ दिनसम्म दिन–रातै चिकेन बिरयानी खुवायौं । नवौँ दिनमा उनले भने, यसरी म सधैं चिकेन बिरयानी खान सक्दिनँ, बरु सबै कुरा भन्छु…!’ यसपछि बमकाण्डको पोल खुल्यो ।

टिप्पणीहरू