पाखा पार्दै जाने प्रचलन

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन सम्पन्न भएको छ । यसले नेपालको आगामी राजनीतिक शक्तिसन्तुलन कसरी अगाडि बढ्छ भन्ने कुरालाई समेत प्रस्ट पारेको छ । पत्रकारहरूको काम भनेकै समाज कता जाँदै छ, राजनीतिले कुन बाटो लिँदै छ भन्ने कुरा बताउने हो । सायद, यसपटकको महाधिवेशन यो मामिलामा यस अर्थमा सफल भयो कि गठबन्धनको राजनीति अब एउटा कालखण्डसम्म चल्नेछ र त्यसबेला वाद, सिद्धान्त वा भाइचारापनभन्दा अवसर, जित र पदलाई केन्द्रमा राखिनेछ ।

त्यसो त ०६४ पछि नै एक खालको गठबन्धन राजनीतिक परिदृश्यमा देखिँदै आएको हो । तत्कालीन ठूलो दल माओवादीले दोस्रो दल कांग्रेसविरुद्ध एमालेसँग गठबन्धन बनायो भने त्यसपछि पहिलो र तेस्रो वा दोस्रो र तेस्रो मिलेर अर्कोलाई पाखा लगाउने प्रवृत्तिको अभ्यास हुँदै गयो । अहिले राष्ट्रिय राजनीतिमा पहिलो र तेस्रो दल मिलेर दोस्रोलाई पाखा पारिएको छ भने पत्रकारमा पनि पहिलो शक्तिलाई पछार्न दोस्रो र तेस्रो शक्तिबीचको गठबन्धन सफल भएको छ । यसमा कुन समूहको सैद्धान्तिक धरातल के हो ? कुन प्रकारको पत्रकारितालाई स्थापित वा विस्थापित गर्ने ? भन्नेजस्ता अहं महत्वका विषयलाई कहीँ–कतै प्रवेश दिइएन ।

बरु गरियो के भने सबै चरित्रलाई एउटै टोकरीमा राखेर मात्र अंकगणित हेरियो र त्यो खेलमा जसले पहिले गठबन्धन निर्माण ग¥यो २ कार्यकालको समीकरण भत्काउँदा ऊ नै नेतृत्व हात पार्न सफल भयो । अब नेपाली राजनीतिबाट गठबन्धनका सर्त ? मान्यता, आदर्श र त्यसलाई सम्भव वा असम्भव पार्ने अन्य फ्याक्टर हराएझैं भएको छ । कोसँग मिल्दा कुन पद र प्रतिष्ठा वा अवसर प्राप्त हुन्छ वा हुँदैन भन्ने प्रश्न नै निर्णायक बन्दै गएको देखिन्छ । 

नजानिँदो ढंगले नेपाली राजनीतिक रंगमञ्चमा स्थापित भएको गठबन्धन संस्कृतिले खासै सकारात्मक नतिजा दिएको छैन न त यसले नेपाल र नेपालीको हित रक्षाको दिशामा काम गर्ने लक्षण नै देखाएको छ । तैपनि सत्तारोहणका लागि संवैधानिक प्रावधानले समेत समानुपातिक समावेशी प्रावधानको मीठो आवरणमा अनिवार्यझैं बनाएको यो संस्कारले अब हामीलाई कहाँ पु¥याउँछ भन्ने चिन्ता व्यक्त हुन थालेको छ । अहिलेसम्मका कुनै पनि सत्ता गठबन्धन दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको पाइन्न । पछिल्लो पटक स्थानीय तह निर्वाचन र पत्रकारको नेतृत्व चयनसम्ममा देखिएको गठबन्धन यदि स्थायी प्रकृतिको बन्दै जाने हो भने त्यसले प्रदेश वा प्रतिनिधि सभा चुनावमा नजिता त निकाल्ला तर मुलुकका लागि त्यो कत्तिको लाभदायी बन्छ भन्ने प्रश्नलाई अहं बनाउनेछ । कसैले बहुमत ल्याउन नसक्दा सरकार गठनका लागि गठबन्धन त बन्ला नै तर त्यो एकता मुलुकलाई बाँडीचँुडी भाग लगाउने स्थायी संयन्त्र नबनोस् भन्नेमा चाहिँ सबै सतर्क हुनु जरुरी छ ।

टिप्पणीहरू