​जे देखेको धरोधर्म त्यही लेखेको « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​जे देखेको धरोधर्म त्यही लेखेको

प्रकाशित मिति :  ८ भाद्र २०७४, बिहीबार ०९:२९


  • धनबहादुर पुरी

जात मिल्नेहरुको बीचमा कुरा नमिल्दा फेरि एकपटक नेपालका वामपत्रकार फरक–फरक कित्तामा उभिएका छन् । नेपाल पत्रकार महासंघको ६७ वर्षको इतिहासमा अघिल्लो दुई कार्यकाल (६ वर्ष) को नेतृत्व सम्हाल्ने वामपन्थी गठबन्धन तोडेर त्यसअघिको ६० वर्ष कमाण्ड गरेको कांग्रेस बाहुल्य गठबन्धन फेरि महासंघ नेतृत्वमा उदय भएको छ । 

देशभरका १५ सय १५ सभासद्मध्ये १४ सय ४९ को उपस्थितिका बीच र १४ सय ३९ ले नयाँ नेतृत्व चयनमा सहभागिता जनाए । कांग्रेसहरुले दुई ठूला वाम घटक फुटाएर प्रज्ञा भवनमा चलाएको दुई दिवसीय रमिता अन्ततः सबभन्दा ठूलो वामसमूहलाई साफ पार्र्दै सम्पन्न भएको छ । तर, ‘डेमोक्र्याट’ कित्ताको काँध चढेरै सही, पत्रकार महासंघमा तेस्रोपटक वामपन्थी कित्ताका पत्रकारले अध्यक्षता ग्रहण गर्ने मौका पाएका छन् । आशा गरौँ, वामपन्थीहरुको मति सुध्रिए चौथोपटक फेरि यिनीहरु मिल्ने छन् र नेतृत्वमा स्थापित हुने छन् । मति नसुध्रिए यो क्षतिले अर्को कैयौँ वर्ष वामपन्थीलाई नपिरोल्ला भन्न सकिन्न ।

चुनावी गणितअुनसार महासंघ सभासद्मध्ये पाँच सय ७१ को संख्यासहित प्रेस चौतारी (एमाले), साढे चार सयको हाराहारीमा प्रेस युनियन (कांग्रेस), दुई सय ७० को हाराहारीमा प्रेस सेन्टर (माओवादी केन्द्र), ८० को संख्यामा साना वामघटक, केही स्वतन्त्र र बाँकी पूर्वराजावादी कित्ताका पत्रकार २५ औँ महाधिवेशनका निर्णयकर्ता थिए । देश जुन पोलिटिकल कोर्षमा अगाडि बढ्दैछ, पत्रकार महासंघ पनि यसपटक त्यही भंगालोमा प¥यो । बहुचर्चित भरतपुर महानगर निर्वाचनकै छनक दिने यो चुनावलाई सत्तारुढहरुले प्रमुख प्रतिपक्षीलाई ‘सिध्याउने’ अवसरको रूपमा मज्जैले प्रयोग गरेको देखियो । धन्न, त्यत्रो घेराबन्दीबीच पनि प्रेस चौतारीका प्रत्येक उम्मेदवारले आफ्नो पकेट भोटभन्दा सय–पचास बढी ल्याएका छन् । जित्ने गोविन्द आचार्यले हार्ने तीर्थ कोइरालालाई एक सय पाँच मतले उछिनेका छन् ।

जबकि, युनियन, सेन्टर र त्यो गठबन्धनका सहभागी संगठनको अंकका आधारमा यो मतान्तरलाई सानो मार्जिनको विजय मान्नुपर्छ । मात्रिका पौडेललाई विपुल पोखरेलले एक सय ६७ ले उछिनेका छन् । रमेश विष्टले महासचिवमा बालकृष्ण बस्नेतलाई जम्मा ८० को मतान्तरले जितेका हुन् । सबैका भोट सबैतिर बाँडिएका छन् । माओवादीका बागी उजिर मगरले ल्याएको ५४ मा ५० मतमात्रै तीर्थ कोइरालाले पाएको भए गोविन्द आचार्यलाई हम्मे पर्ने रहेछ । चौतारीले उपाध्यक्ष दिने भनेर तयार पारेको विप्लव समूहका पत्रकारलाई अन्तिममा बाई–बाई नगरिदिएको भए गोविन्दलाई ‘कसो–कसो’ बनाइसकेको !

दुनियाँको सबभन्दा अराजक पंक्ति कहीँ छ भने ती नेपालका पत्रकार हुन् । त्यसमा पनि कांग्रेस सबभन्दा फुक्काकाल मानिन्छ । तर, युनियनसम्बद्ध पत्रकारले दुईपटक हारको पीडा सम्झेर होला, यसपटक मिलाएर मतदान गरे । नेताको तहबाट वाम गठबन्धन तोडिए पनि भोट हाल्ने कार्यकर्ताको तहमा त्यति राम्ररी ह्विप पालना भएन । गोविन्दले पाएको ७३२ मतमा करिव ७० को योगदान चौतारीकै मतदाताले गरेका छन् । तीर्थले पाएको ६२७ मा झण्डै–झण्डै ४० को योगदान सेन्टरका मतदाताको छ । हो, कांग्रेसका थुप्रै पत्रकारले चौतारीका उपाध्यक्ष मात्रिका र महासचिव बालकृष्णलाई हाल्नुसम्म भोट हाले । तर, ती दुई बिचराको दुर्भाग्य, चौतारीकै पाउनुपर्ने जति भोट पाएनन् ।

उजिरले माओवादी र एमालेका सरदर २५ का दरले भोट लगेका छन् । उजिर पक्षधर सबैजसो मतदाताले उपाध्यक्षमा मात्रिका पौडेल, महेश दास, महासचिव बालकृष्ण बस्नेत, महिला सचिव लक्ष्मी पुनलाई मतदान गरेको देखियो । त्यसरी मतदान हुँदा पनि मात्रिका र बालकृष्ण हार्नुको मतलब हुन्छ, आफ्नै संगठनबाट पूर्ण प्रतिबद्धता नपाउनु । चौतारीले अघिल्लोचोटि बागी उठ्नेलाई अर्को पटक आधिकारिक उम्मेदवार बनाउँछ भनेर होला, केही बागी स्थायी रूपमा यसपटक पनि देखिए । ती आफू त सकिए, सकिए । प्रेस चौतारीलाई अब केही वर्षका लागि पत्रकार महासंघको मोर्चाबाटै सिध्याइदिएका छन् । थाहा छैन, योगेश भट्टराई कमाण्डको एमाले प्रचार फाँट यसप्रति कत्तिको उदार वा कठोर हुन्छ ? सत्य के हो भने, युनियन–सेन्टर गठबन्धनले आफ्नो प्यानललाई जसरी ग्रीपमा राख्न सक्यो, चौतारीले सकेन । कार्यकर्ताप्रति चौतारी नेतृत्वको भाषा र शैली हेर्दा परेड खेल्न बसेका सिपाहीलाई गाली गरेजस्तो । 

चौतारीको ‘फ्लोर क्रस’ को इतिहास पुरानै हो । यसचोटि कांग्रेस–माओवादी गठबन्धनले अघिल्लो निर्वाचनमा चौतारी शैलीबाट उदारतापूर्वक फ्लोर क्रस गरिदिएको भए कम्तिमा एउटा उपाध्यक्ष, महासचिव र दुईवटा सचिव आरामले जित्ने रहेछ । बलियो वाम तालमेल भएको अघिल्लो दुई निर्वाचनमा अहिले एमाले साफ भएजसरी कांग्रेस साफ भएन । अर्थात्, कम्तिमा एक दुई भए पनि पदाधिकारी जिताएरै छाड्यो । कारण थियो, चौतारीका मतदाताको उदारता । संगठनका लागि त त्यो धोका हो । तर, यसपटक चौतारीवाला आफूबाटै धोकाधडीमा परेका छन् । 

माओवादीलाई चौतारीले किस्तीमा राखेर अध्यक्ष दिएकै हो । तर, कुरा आयो महासचिवसहित थुप्रै पदको । बहाना–बहानामा दुई संगठनबीच तालमेल हुन नदिने प्रपञ्चमा दुबैतिरका एक–एकथरि खेलाडीमा सक्रिय भए । प्रचण्ड देउवाबीच सहमति जुट्नुअघिसम्म गठबन्धनका निम्ति तयार भइसकेको सेन्टरलाई अन्तिममा दुर्बचन प्रयोग गरेर लखेट्ने चौतारीका केही नेता, लाजिम्पाट हुँदै बालुवाटारसम्म पु¥याएर दुनियाँ हसाउने खेलोमा लाग्ने सेन्टर–युनियनका खेलाडीसम्मका भूमिकालाई इतिहासले आवश्यक मूल्यांकन गर्ला नै । अहिलेलाई नेपाल पत्रकार महासंघको सचिवालय एमालेरहित हुन सफल भएको छ । चौतारी नेतृत्वले यो धुलो टक्टक्याएर फेरि शिखर चुम्ला–नचुम्ला, तर पत्रकार महासंघ कसैलाई निषेध गर्ने भरतपुरको चुनाव नहोस् भन्ने आशा गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस !