४ जिल्लामा ५ जना मृत भेटिए

४ जिल्लामा ५ जना मृत भेटिए

काठमाडौं, ललितपुर, सिन्धुली र रौतहटमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका १३, कालिमाटी चोकमा धादिङ महादेवबेसी गाउँपालिका ८ बस्ने ५० वर्षीय रामशरण कुँवर मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै काठमाडौं महानगरपालिका ३१, पञ्चकुमारी मन्दिर नजिक खाली जग्गामा बिग्रिएर पार्किङ गरी राखिएको बा.१ ख ६७६२ नम्बरको गाडीभित्र एक जना अन्दाजी ४० वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका छन् । उनको नाम, ठेगाना र परिचय खुल्न सकेको छैन ।

ललितपुरको गोदावरी नगरपालिका ११, सेराफाँटस्थित तरकारी टनेलमा रहेको माटोको थुप्रोभित्र सालनालसहितको नवजात शिशु पनि मृत अवस्थामा फेला परेका छन् ।

उता सिन्धुलीको कमलामाई नगरपालिका २, भद्रकाली घर भई स्थानीय बजारमा मागेर गुजारा चलाउँदै हिँड्ने ८३ वर्षीय लालबहादुर लामा स्थानीय बसपार्क छेउको प्रतिक्षालयमा आज मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका १, पूर्वी पहिलो लच्का नजिक परिचय नखुलेका करिब ५६ वर्षका पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।

टिप्पणीहरू