खाद्यवस्तुमा अस्वाभाविक मुल्यवृद्धि, सर्वसाधारणलाई छाक टार्न समस्या

खाद्यवस्तुमा अस्वाभाविक मुल्यवृद्धि, सर्वसाधारणलाई छाक टार्न समस्या

प्रमुख चाडपर्व शुरु हुन झण्डै एक महिना बाँकी छँदै खाद्यवस्तुमा अचाक्ली मूल्यवृद्धि हुन थालेको छ । पछिल्लो समय बजारमा खाद्यान्न, चिनी तथा तेलको मूल्यमा अस्वाभाविक रुपले भाउ बढेको छ । खाद्य वस्तुहरुको बजार भाउ पसलैपिच्छे फरक हुन थालेको छ ।

केही समययता खाने तेलमा अस्वाभाविक तवरले मूल्यवृद्धि भएको छ भने अन्य खाद्य सामाग्रीको पनि त्यतिकै भाउ बढेको छ । दशैं आउन अझै तीन साता पूरै बाँकी छँदा बजारमा चिनीको अभाव देखिन थालिसकेको छ । व्यापारीहरुले समेत चिनी मौज्दात हुदाँहुदै अभाव रहेको बताउन थालेका छन् ।

त्यसैगरी दाल, आँटा, गेडागुडी जस्ता दैनिक उपभोग्य वस्तुको भाउले आकाश छुन थालेको बताइन्छ । हरियो तरकारीको भाउ पनि छोइनसक्नु भएको छ । एक साता अघिसम्म ६५ रुपियाँ किलोको स्थानीय काउली अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । त्यस्तै ३५ देखि ४० रुपैयाँ किलोको घिरौंला अहिले ६० नाघेको छ ।

अण्डा तथा मासुजन्य वस्तुमा पनि भाउ बढेको छ । राजनीतिक अस्थिरता र फितलो अनुगमनका कारण खाद्यवस्तुमा निरन्तर मूल्यवृद्धि भएको उपभोक्ता हक हितमा लागेकाहरुकाले बताएका छन् । तर व्यापारी भने अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले स्थानीय बजारमा समेत त्यसको असर परेको बताउँछन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं दैनिक बजार अनुगमन गरिरहेको दाबी गर्नुहुन्छ । दशैंमा कालोबजारी बढ्ने भएकाले अहिले दिनहुँजसो विशेष किसिमबाट बजार अनुगमन भइरहेको उहाँको भनाइ छ ।

विभागले अहिले प्रकाश रसाइलीको नेतृत्वमा अनुगमन समिति गठन गरेको पनि उहाँले जानकारी दिनुभयो । सेढाइले अनुगमन र मूल्यवृद्धिबीच एकअर्कामा सम्बन्धित नभएको भन्नुभयो, ‘व्यवसायी र व्यापारीको गल्ती भेटे मात्र विभागले कारबाही गर्न मिल्छ ।’

टिप्पणीहरू