​दिल्लीको निम्ति पौने दुई करोड

निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनका लागि भन्दै डेढ अर्ब सरकारबाट भर्खरै निकासा लिएको छ । अब प्रदेशसभा र प्रतिनिधिसभाको मंसिर १० गतेका निम्ति निर्धारित निर्वाचनका लागि सुरक्षातर्फ समेत गरी राज्यकोषबाट थप ३० अर्ब खर्च हुनेवाला छ ।

हालसम्म कर्मचारीको तलब, भत्ताबाहेक नै दुई चरणको चुनावमा २० अर्ब खर्च भइसकेको छ । शुरुमा १० अर्ब लगेर खर्च भएन भन्दै आयोगले साढे ३ अर्ब फिर्ता गरेको थियो । त्यो पैसा विकासतर्फ रकमान्तर भएको छ । प्रहरी, सशस्त्र, सेना, जिल्ला प्रशासनको खर्च छुट्टै छ । यसरी देशभित्र ठूलो खर्च भइरहेका बेला टिप्स दिनदेखि अनेकौं शीर्षकमा खर्च भन्दै रकम छुट्याएर ५२ जनाको टोलीसहित प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जाने कार्यक्रम छ । यसका लागि क्याबिनेटबाट १ करोड ७५ लाखको बजेट स्वीकृत भएको छ । उता सेनाले यसबीच प्रशिक्षक जहाज (ट्रेनर प्लेन) पाइपर दुई वटा १४.२५ मिलियन डलरमा किन्ने गरी सम्झौता गरेको छ । अब यसो गर्दा कासा, बेल, इक्विरेल गरी थप ६ वटा जहाज नेपाली सेनासँग हुनेछ ।

उता, राज्यमन्त्रीको नाम फाइनल गरौं भन्दै आइतबार दिउँसो बालुवाटारमा बोलाएर बाटैबाट फर्काएपछि प्रधानमन्त्री देउवासँग रामचन्द्र पौडेल आगो भएका छन् । बोहोराटारबाट हुर्रिएर आएका उनले सोही दिन बिहान राज्यमन्त्रीको लागि ४ जनाको नाम दिइसकेका थिए । तेजुलाल चौधरी, सरिता प्रसाईं, कञ्चनपुरका दिवाना सिंह विष्ट र रोल्पाका अमर पुनको नाम उनले टिपाएको स्रोत बताउँछ । अमर पुन ५ नम्बर प्रदेश विभाजनविरुद्धको आन्दोलनका चर्चित नेता हुन् । रिसले आगो भएका रामचन्द्र ‘आफ्नो टिम मिलाउन सक्दैन अनि मलाई बोलाएर बाटैबाट फर्काउँछ ।’ भन्दै कराएको समेत निकट स्रोतले बताएको छ । खुमबहादुरले पनि बुद्धिराम भण्डारी, राजु थापा, चन्द्र महर्जनसहित चार जनाको नाम थमाएका छन् । देउवा ललितपुरका चन्द्र महर्जनप्रति सकारात्मक रहेको बुझिएको छ ।

उता, प्रचण्डले हिन्दू राष्ट्रको बक्सा भित्रबाट राजतन्त्र फर्काइँदै छ भनेर गत हप्ता टिप्पणी गर्नुको कारण पनि खुलेको छ । उनै चर्चित अमरेशकुमार सिंहले भारतबाट फर्किएर प्रचण्डलाई कान फुकेपछि सोही आधारमा उनले आफ्नो नयाँ कुरा गरेको स्रोतले जानकारी गराएको छ । हाम्रा नेताहरू कसरी, कोबाट परिचालित हुँदा रहेछन् र कस्ता सूचनाको आधारमा उफ्रँदा रहेछन् भन्ने कुरा पनि यो प्रसंगले उजागर गरेको छ । 

टिप्पणीहरू