मतपत्र च्यात्नेको थप सम्मान

भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन ‘उदाहरणीय काम’ गरेबापत उनको पार्टी माओवादी केन्द्रले त्यहाँँका ‘होनहार’ कार्यकर्ता मधु न्यौपानेलाई पुरस्कृत गरेको छ । उनलाई जिल्ला अध्यक्षको हैसियतले मतपत्र च्यातेको अपराधमा हिरासतमा राखेर छोड्दा नै अबिर माला लगाएर योगदानको कदर गरिएको थियो । तर, त्यतिले नपुगेर यसै साता सम्पन्न युवा दस्ता वाइसिएलको महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा मनोनीत गरी पार्टी र नेतृत्वप्रति अटुट निष्ठाको सम्मान गरिएको हो ।

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते राति मतपत्र च्यात्ने ‘अनुपम’ काम गरेका कारण उनलाई वाइसिएलको केन्द्रीय सदस्य बनाइएको माओवादी सम्बद्ध नेताहरू नै बताउँछन् । जम्मा ५७० जना प्रतिनिधि उपस्थित वाइसिएल महाधिवेशनमा जीवन घिसिङ, रविन महतोलगायत ५०÷६० जनाले पदको कुरामा असहमति जनाउँदै हल छाडेको जानकारी प्राप्त भएको छ । महाधिवेशन आयोजक समितिको २७ सदस्यीय कार्यालयमध्ये २४ जना बिदा भएका छन् बाँकी ३ जनामध्ये दीपशिखा अध्यक्ष, सुबोधराज शेर्पाली महासचिव र पूजा कार्की उपाध्यक्षको युवा उमेर नकटेको कारण नयाँ कार्यसमितिमा छानिएका छन् । लक्ष्मी चौलागार्इं ‘शैलेन्द्र’, युवराज दुलाल ‘शरद’ र दीपक देवकोटा अध्यक्षको प्रतिस्पर्धामा थिए । यो महाविधेशनपछि वाइसिएलले फौजी गतिविधि छाडेर अब राजनीतिक काममा बढी केन्द्रित हुने रणनीति तय गरेको छ । अहिले सबै दलका युवा संगठनहरूको भूमिका खुम्चिएको देखिन्छ । एमालेको युथ फोर्स, कांग्रेसको तरुण दलमा पनि सुस्तता छाएको छ । 

टिप्पणीहरू