​जति खाँदा पनि भो भन्दैनन् जो

कुरा समाजका ती धमिराहरूको हो जो जति खाए पनि नअघाउने र कहिल्यै भो नभन्ने खालका छन् । यिनीहरू सत्ता, राज्य सबैलाई प्रयोग गर्छन् र आफूले गरेको राज्यविरुद्धको काम अथवा भनौं भित्रभित्रै मुलुकलाई खोक्रो पार्ने गरी कुटुकुटु खाने कार्यलाई कानुनी मान्यता दिएर सँधै आफू भने पानीमाथिको ओभानो बन्ने गर्छन् । यस्ता दुई परिवारको प्रसंग हो यो जसलाई हामी गोल्छा समूह र चौधरी ग्रुप भनेर चिन्छौं । विश्वकै धनाढ्यहरूको सूचीमा नाम दर्ज गराउन सफल विनोद चौधरीले राज्यलाई थप कर छली गरेका छन् ।

यी दुई परिवारले गत हप्ता मात्र विश्वकै गरिब राष्ट्र नेपाललाई पौने अर्बको कारोबारमा डुबाएको एउटा प्रमाण फेला परेको छ । नेपाली बजारमा एलजी, सामसुङजस्ता विश्वप्रसिद्ध कम्पनीहरूका टेलिभिजन पनि उपलब्ध छन् । जसको स्पेयर पार्टस्हरू विदेशबाट मर्मत गर्न भन्दै ल्याउने र यहाँ जोडेर आफ्नै उत्पादनझैं गरी सिजी र हिमस्टार ब्राण्डमा बेच्ने गरेका छन् । यसमा के छलकपट छ भने सबै सामान बाहिरबाट ल्याउने, यहाँ जोड्ने अनि स्थानीय उद्योग भन्दै सरकारबाट करलगायत अन्य छुट र सुविधा लिने । यतिसम्म त ठीकै थियो तर बदमासी के समेत देखियो भने यहाँ ‘एसेम्बल’ गर्न भनेर पार्टपुर्जा आयात गर्दा धेरै भन्सार तिर्नुपर्ने तर मर्मतका लागि ‘स्पेयर पार्टस्’ भन्दै भिœयाउँदा कम तिरे हुने देखेपछि उनीहरूले ‘एसेम्ब्लिङ’ गर्न भिœयाएको सामानलाई पनि मर्मत भन्दै कम राजश्व तिर्ने गरेका छन् ।

यसरी ३१ करोड ८३ लाख त भन्सारमा मात्र कर छलि गरेका रहेछन्, अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को मसान्तसम्ममा । त्यसबाहेक अन्त शुल्क पनि नतिरेको भेटियो ३३ करोड ७२ लाख । यो दुवै जोड्दा ६५ करोड एक वर्ष राज्यलाई ठगी गरेको देखियो । त्यो असुल गर्नू भन्दै महालेखाले ताकेता गरेपछि भन्सारले ती घरानाको नाममा पुर्जी काट्यो तर वास्ता गरेनन् । वीरगञ्ज भन्सारलाई थप कारबाहीमा जानबाट रोक्न उच्च अदालतलाई प्रयोग गरे तर तिर्नुपर्ने कर फछ्र्योट गर्नतिर लागेनन् । यही क्रममा गत हप्ता दुई दिन आलोपालो गरेर यी दुइटाले कारण देखाऊ र अन्तरिम आदेश फुत्काएका छन् । यसको टुंगो लाग्न र अन्तिम फैसला हुन कम्तिमा २÷३ वर्ष लाग्छ ।

त्यो बेलासम्म भन्सारले यिनीहरूको आयात रोक्न मिलेन, न त मर्मतका लागि ‘स्पेयर पार्टस्’ भन्दै ल्याएको सामानबापत ‘एसेम्ब्लिङ पार्टस्’ बापतको भन्सार नै लिनसक्ने अवस्था बन्यो । न कर तिर्नु पर्ने, न ब्याजको जरिवाना नै लाग्ने बरु कारोबारमा कुनै व्यवधान नआउने भएपछि यो मुलुक कसरी धनी बन्छ ? कर चोरहरूको बानी कहिले सुध्रन्छ ? 

टिप्पणीहरू