​लोकमानद्वारा सिर्जित लफडा

सबैलाई तर्साउने, आतंकित पार्ने, बाघ झैं डरलाग्दो छवि बनाएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अपदस्थ प्रमुख लोकमानसिंह कार्की आफैंचाहिँ कति काँतर र डरपोक रहेछन् भने सुरक्षाको प्रबन्ध गर्न नेपाल प्रहरीले नसक्दा मलेसिया घुम्ने योजनासमेत डरले रद्द गरेको भेटिएको छ । उनी टंगालमै रहेका बेला १५ दिन मलेसिया र सिंगापुरका रमणीय स्थलहरू घुम्ने योजना बनाएका थिए ।

सोहीअनुसार आफ्ना पिए डिएसपी दानबहादुर कार्कीमार्फत तत्कालीन प्रहरी प्रमुखलाई फोन गरेर सोधे, ‘म मलेसिया भ्रमणमा जान लागेको । के हुन्छ त्यहाँ मेरो सुरक्षा व्यवस्था ? इन्टरपोलमार्फत् लौ सबै तारतम्य मिलाउनोस् । ‘मलेसियाको सुरक्षा नेपाल प्रहरीले हेर्ने कुरै आएन । त्यसैले आईजी उपेन्द्रकान्त अर्यालले जवाफ दिएछन्, ‘के हुन सक्छ, बुझेर खबर गर्छु ।’ भोलिपल्ट जवाफ दिए, ‘मैले सोधें, उनीहरूले हाम्रो काम अपराधी पछ्याउने हो । अरु कुरा हाम्रो क्षेत्राधिकारभित्र पर्दैन । रेड अलर्ट जारी भएका बाहेक व्यक्ति व्यक्तिको बारेमा चासो राख्न मिल्दैन भने हजुर !’ त्यसपछि लोकमानले मलेसिया भ्रमण रद्द गरेको अख्तियारका एक आयुक्तले जनआस्थालाई बताए ।

केही समयपछि यस्तै खबर गरेर उनी भारत गए । लैनचौरस्थित दूतावासलाई पनि यससम्बन्धी जानकारी गराइयो तर वास्तै भएन । उनी दिल्ली र हरिद्वार बसुञ्जेल एकजना सुरक्षा गार्ड पनि नखटाइदिएपछि यहाँ आएर आइजिपीलाई तथानाम गाली गरे । मेरो सुरक्षाको कुनै वास्ता भएन भन्दै कुर्लिए । यसबाट के अनुमान लगाउन सकिन्छ भने पदमा रहेका बेला विदेश जाँदा तर्सिने लोकमानको अहिले हालत के होला ? सारा दल, राज्य एकमुख लागेर लखेटिएपछि कति आतंकित मनस्थितिमा होलान् ?

यसबाट के स्पष्ट छ भने उनी अब तत्कालै नेपाल आउने छैनन् । निकटस्थ स्रोतका अनुसार क्यानाडा र अमेरिका घुम्दै हिँडेका लोकमान अहिले पनि नेपालमा रहेका आफन्तहरूलाई फोन गरेर सोधिरहन्छन्, ‘म आएँ भने सुरक्षा अवस्था कस्तो हुन्छ ?’ स्मरणरहोस्, सुशील कोइराला प्रधानमन्त्री हुँदा उनले आफ्नानिम्ति आजीवन सुरक्षा र सवारीसाधनको निर्णय गराएका थिए तर सर्वोच्चबाट बर्खास्तीमा परेसँगै एक सेक्सनको सुरक्षाफौज घटाएर २ जनामा सीमित गरिएको छ । त्यतिमा उनी सन्तुष्ट छैनन् ।

टिप्पणीहरू