म्याँ–म्याँ गराएर सोझै मन्त्रालय

एकजना सरकारी कर्मचारी जो काठमाडौंको सिडिओ, राजश्व अनुसन्धान विभागको हाकिम हुँदै अहिले गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख भएका छन्, ले आफ्ना सहकर्मी कर्मचारीलाई थर्काएको कथा रोचक छ ।

गत हप्ता गृह प्रवक्ताको रूपमा सिंहदरबार छिरेका रामकृष्ण सुवेदीले अघिल्लो बुधबार बिदाई भेटमा सबै कर्मचारीलाई सराप्दै एक अर्थमा भन्नुपर्दा धम्क्याएर भने ‘म अब यहाँबाट सोझै गृह मन्त्रालय जाँदै छु । उताको रोजाइमा किन परें बुझ्नुभएकै होला । म त्यस्तो जिम्मेवारीमा जाँदै छु जसको सिधा सरोकार राजश्वसँग हुन्छ । मेरो ठाउँबाट सहयोग भएन भने सिंगो अर्थ मन्त्रालयले टाउको फुटाए पनि राजश्व संकलन हुँदैन । तपाईंहरू पनि अब मेरो निगरानीमा रहनुहुनेछ । व्यापारी, सुरक्षा, कर्मचारी, सबैतिर मेरा साथी छन् । तपाईंहरूले के–के गर्दै हुनुहुन्छ मलाई थाहा नहुने कुरै भएन । तपाईंहरू सहसचिव बन्दा म सचिव भइसकेको हुनेछु । त्यसबेला मेरै अण्डरमा रहेर काम गर्नुपर्ने हो ।

अब यहाँ मैले बोलेको कुरा पनि जस्ताको त्यस्तै पत्रिकामा छपाउनुभए हुन्छ ।’ उनले अगाडि थपे, ‘मैले दुई ट्रक बाख्रा ल्याएर विभागमा म्याँ म्याँ गराएँ भनेर पनि लेखाउनुभयो । उछित्तो काढ्नुभयो । अलि अलि माओवादी त हुँदै हुँ । राम्रै सम्पर्क भएकै कारण यहाँसम्म आइपुगेँ । बिदा कटाएर जम्मा १३३ दिन यो अफिसमा काम गरें । समस्याका बाबजुद धेरै काम सकें । झन् राम्रो काम गर्न जाँदै छु ।’ उनको गुनासो अझै रोकिएन, ‘म हिँड्ने दिनसम्म पनि बाख्राको पाठाको कथा लेख्न लगाउनुभयो । अब पनि लेखाए हुन्छ ।’ त्यसपछि अस्ति आइतबार अर्थसचिव शान्तराज सुवेदीले सिनियर म्यानेज्मेन्ट टिमलाई राखेर राति कामको मूल्यांकन नभएकोमा दुखेसो पोखे, ‘अर्थ मन्त्रालय संस्थागत रूपमा बिग्रँदै गयो । पुरानालाई विनाकारण हटाउने र नयाँलाई छिराउने काम भयो । वैकुण्ठ अर्याल, विष्णु नेपाल, केवल भण्डारीहरू पनि आउट हुने सूचीमा हुनुहुन्थ्यो ‘संस्थागत हितका लागि भनेर मैले रोकें । ६÷६ महिनामा बदमासी गरेर अन्यत्र जाने गर्छन् ।’

उनले बेथितिको उदाहरणसमेत पेश गरे, कोहीकोहीले छोरीलाई सरुवापत्र लिन पठाएर मन्त्रालयमा टेक्दै नटेकेकी, मुखै नदेखाई पदस्थापना भएको कार्यालयमा पनि जानुभयो ।’ त्यसो त साउन महिनामा २२ वर्ष राजश्व संकलन गर्ने लक्ष्य पूरा नभएको पनि स्रोतले बतायो । त्यो महिना जम्मा २० अर्ब मात्र उठेको छ । यसमा पनि सुवेदीको दुखेसो थियो । 

टिप्पणीहरू