बाढीको हिलो र फोहोर एक हप्तासम्म उस्तै, सम्बन्धित निकाय मौन (फोटो फिचर)

बाढीको हिलो र फोहोर एक हप्तासम्म उस्तै, सम्बन्धित निकाय मौन (फोटो फिचर)

नेपालमा हरेक वर्ष वर्षायाममा बाढी तथा पहिरोले निकै ठूलो जनधनको क्षति हुन्छ । कतिपयले उक्त दुःखद अवस्थालाई नियमित प्रक्रिया भनेर समेट टार्ने गर्छन् । कतिपय सरकारी निकायको प्रवृत्ति समेत त्यस्तै देखिन्छ ।

बर्खायाम शुरु हुनु अगावै सम्भावित क्षति रोकथामको कुनै पहल भएको देखिँदैन । क्षतिपछि मात्रै सबै जना र निकाय तातेको अनुभव गराइन्छ । त्यसपछि जनप्रतिनिधि, सरकारी निकाय सबैबाट मौखिक आश्वासनको बाढी आउँछ । पिडितहरु पनि पीडा बिर्सन थाल्छन्, क्षतिमा पनि खाटो बस्न थाल्छ । हिउँदसम्ममा सबै ठिकठाकको अवस्थामा पुग्छन् ।

यो वर्ष गत असार १ गतेको मेलम्चीको बाढी तथा पहिरो र त्यसले पुर्याएको क्षतिको बारेमा अहिले पनि धेरैलाई झस्काइदिन्छ । अघिल्लो साता काठमाडौंको बागमति, विष्णुमति, धोबीखोला, बल्खु, भक्तपुरको मनोहरा क्षेत्रमा आएको बाढीले वरपरका बस्तीमा निकै क्षति पुर्यायो ।

त्यसक्रममा बस्तीमा पसेको लेदोसहितको बाढीले बिगारेका घर, सडक संरचना र ढल निकासका साथै बाढीले ल्याएको फोहोर सडक किनारमा यत्रतत्र पहाड झैँ अहिले पनि उभिइरहेको छ । पहिलो दिन र त्यसपछिका केहि दिन डोजर लगाएर लेदो माटोलाई सडक किनारमा जम्मा गरेर राखियो । केहि ठाउँमा लेदो हटाएको पनि देखियो ।

तर हिलो र मैलो नहटाइएका अधिकांश सडक किनारमा त्यसपछिको झरीका कारण आहाल बन्ने गरेको विष्णुमति, टंकेश्वरका बासिन्दाहरु बताउँछन् । अझ हिजो अस्तिबाट त्यहि माटोको थुप्रोमा स्थानीयले फोहोर समेत फाल्न थालेपछि नजिकै बसिनसक्नु भएको उनीहरुको गुनासो छ ।

बाढीका कारण बाटोको किनारमा जम्मा भएको लेदोसहितको हिलो र माटोका कारण टंकेश्वर विष्णुमति कोरिडोरको सडक साँघुरो बनेको छ । त्यहाँ दिनभर ट्राफिक जाम हुने गरेको छ भने पैदलयात्रीको फुटपाथ हराएको छ ।

 

टिप्पणीहरू